महिनावारी विभेद नगर्ने सम्मानित

चैत्र १६, २०८०

वसन्तप्रताप सिंह

Honored to not discriminate against menstruation

बझाङ — खप्तडछान्ना गाउँपालिका ७ घर्तिवाडाकी सानु सिंहले महिनावारी भएको बेला ६ महिनादेखि घरभित्रै सुत्न पाएकी छन् । आठ बर्षदेखि हरेक महिना महिनावारीका बेला तनाब खेप्दै आएकी उनले मुक्ति पाएकी हुन् । अचेल उनी महिनावारी भएको बेला घरभित्रै बस्छिन् । दही, दूधलगायत अरु बेला खानेजस्तै खाना खान्छिन् ।

‘खाना त त्यस्तै हो सबैभन्दा ठूलो चिन्ता महिनावारी भएको बेला सुत्नकै हुन्थ्यो,’ अछामको मेल्लेख गाउँपालिका विमकोट माइतीघर भएकी २४ वर्षीया सानुले भनिन्, ‘छाउगोठभित्र सर्पले टोकेर मरेका, बलात्कार भएका घटना सुन्दा ज्यानै सिरिङ हुन्थ्यो । महिनावारी भएको बेला कसरी पाँच दिन कटाउने चिन्ताले महिनाभरि नै सताइरहन्थ्यो ।’ सानुले महिनावारीका पाँच दिन सकिएपछि पनि यो पटक त सुरक्षित बाँचे । अर्को महिनावारीको पालोमा के हुने हो भनेर चिन्ता लागिरहने बताइन् ।

पहिलो पटक १६ वर्षको उमेरमा महिनावारी भएकी २४ वर्षीया सानुले यो बीचका आठ वर्ष अवधिमा प्रत्येक महिना पाँच दिनका दरले चार सय ५० दिन गोठमा बस्नु पर्दा खेपेको सास्ती र डर शब्दमा व्यक्त गर्न नसकिने खालको भएको बताउने उनले अहिले सबै डर र चिन्ताबाट मुक्त हुन पाउँदा खुशीको सीमा नभएको सुनाइन् । बीए पास गरेकी उनले महिनावारी विभेद अन्धविश्वासमात्रै नभएर अपराध भएको कुरा परिवारलाई बुझाउन झण्डै चार वर्ष लाग्यो ।

धेरै तरिकाले सम्झाएपछि अहिले उनको घरमा सासुससुरालगायत सबै परिवार महिनावारीका बेला घरभित्रै बस्न दिन सहमतमात्रै भएका छैनन्, सामान्य अवस्थामा जस्तै खानेकुरामा पनि विभेद हटेको छ । उनीलगायत महिनावारी हुने दुई जना भतिजी पनि घरभित्रै बस्छन् । गडरायमा आयोजित एक कार्यक्रममा महिनावारी विभेद त्यागेपछि सम्मानित हुँदै गर्दा उनले भनिन्, ‘तपाईंहरुलाई यो कुरा सामान्य लाग्ला तर म जेलबाट मुक्त भए जस्तो खुशी भएको छु ।’

सानुको गाउँ घर्तीवाडा र उनको वडाका अरु गाउँमा अहिले पनि महिनावारी विभेद यथावत नै छ । महिनावारी भएको बेला घरबाहिर बस्नु पर्ने र दही, दुध खान नपाउने चलन कायमै छ । तर सानु जस्ता महिलाहरु साहसपूर्वक यो गलत अभ्यासको विरोध पनि गर्न थालेका छन् । बस्ती भन्दा टाढा भएको एक मात्र साघुरो छाउगोठमा कहिले गाउँका पाच, छ जना संगै बस्नु पर्दा खुट्टा तन्काउन पनि ठाउ नहुने, बस्न ठांउ नहुने, कहिले एक्लै डराइ डराई बस्नु पर्ने अवस्था भोगेको उनीहरु बताउछन् ।

Honored to not discriminate against menstruation

वडा ७ कै प्रेमजला चौहानले गोठमा ठांउ नभएको दिन खेतको भित्तामा पाल टांगेर, वर्खा याममा शरीरमै सर्प खसेको जस्ता घटना आफुले भोग्नु परे पछि विभेदविरुद्ध विद्रोह गरेको सुनाइन् । महिनाबारी भएको समयमा घर नजिक आउनु हुदैन, पानीका धारामा छुनु हुँदैन, देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजमा सुरुमा घर भित्र बस्दा समाजले कुरा काटको सुनाउदै उनले अहिले भने आफ्नो सिको अरुले गर्न थालेको बताइन् । ‘एक वर्षयता महिनावारी (छाउ) भएको समयमा घरभित्रै बस्छु । न देवीदेउता रिसाएका छन् । नत घरमा नै केही भएको छ । यो त खाली अन्धविस्वास मात्र रहेछ,’ उनले भनिन्, ‘हाम्रो सिको गर्दै अहिले गाउँका धेरै महिला घरभित्र बस्न थालिसकेका छन् । अहिलेसम्म कसैलाई केही भएको छैन ।’

घर भित्र बस्ने र साविकको झै खानेकुरा खान थालेपछि अहिले यहाँका धेरैजसो महिलाले छाउपडी बार्न छोडेको बताउँदै गडरायकी जमना रोकायाले भनिन् ‘छाउ भएको समयमा दही दुध खांदा गाई भैसी विग्रने मर्ने, गाई भैसीले दूध नै नदिने, सन्तान नहुने भन्ने चलन थियो । सुरुमा त निकै नै डर लागेको थियो । पहिला घरभित्र बस्यौ विस्तारै दूध दही खान सुरु गर्यौ । आखिर कसैलाई केही भएन ।’

लामो समयसम्म रुढीबादी परम्परालाई मान्दै दुख खेपेकोमा यहां महिलालाई निकै पछुतो छ । ढिलै भए पनि छाउप्रथा भनेको नराम्रो हो भनेर बुझ्न पाएकोमा खुशी पनि छन उनीहरु । महिनावारीमा गरीने विभेद र गलत अभ्यास, महिला माथि हुने हिंसा र मानवअधिकारविरुद्धको अपराधबारे थाहा पाएपछि कुरीति विरुद्ध विद्रोह गर्न थालेको वडाध्यक्ष रमानन्द जोशीले बताए ।

यसरी अन्धविश्वास तोड्न साहस गर्ने खप्तडछान्ना गाउँपालिका ७ का २७ जना महिलालाई सामाजिक रुपान्तरणमा भुमिका खेले वाफत गाउँपालिका, गैरसरकारी संस्था ग्रिन तारा नेपाल, ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र र स्थानीय महिला कृषि सहकारीले सम्मान गरेको छ । महिनावारी विभेद नगर्ने महिलाहरुलाई सम्मान गर्दै गाउँपालिका उपाध्यक्ष विष्णुकुमार थापाले महिनावारीमा हुने विभेद महिलाहरुको सम्पुर्ण विकासमा अबरोधको रुपमा रहेकोले यसका विरुद्ध जागरुक महिलाले थालेको अभियान सम्मान योग्य भएको बताए । ‘यो अन्धविश्वास तोड्न तपाईहरुले गर्नुभएको साहस साच्चिकै सम्मानलायक छ,’ उनले भने ‘यसले अरुलाई पनि विभेदका विरुद्ध उभिनका लागि प्रेरणा मिल्ने छ ।’ उनले गाउँपालिकालाई विभिन्न संघसंस्थाको सहयोग लिएर पालिकालाई नै मर्यादित महिनावारीयुक्त घोषणा गर्ने तयारी भैरहेको बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully