सुदूर तराईमा पहाडी होलीको हर्षोल्लास 

चैत्र ११, २०८०

अर्जुन शाह

Joy of hilly Holi in remote Terai

धनगढी — कति राम्रो होली फागुनमा ...राजा दशरथका पुत्र जन्मिए ।रामलक्षिमन दुवै भाइ आज अयोध्यामा भयो बधाई ।।घरघर बत्ती बलन लाग्या ।नरनारीले मंगल गाई आज अयोध्यामा भयो बधाई ।।कति राम्रो होली फागुनमा कति राम्रो होली फागुनमा ।।

कैलालीका देउडा गायक चक्र बमले होली पर्वलाई लक्षित गर्दै पहिलो पटक कैलालीमा तयार गरेको होली ‘कति राम्रो होली’ शीर्षकको म्यजिक भिडियोले यतिबेला चर्चामा छ । पहाडी समदायले फागु पर्व गाउने फागका शब्दमा तराईका राना समुदायले मनाउने होली पर्वका शब्द र भाकासमेत मिसाएर तयार गरिएको होली गीत जीवन्त छ । त्यही होली संगीतमा यतिबेला तराईमा बसोबास भएका पहाडी समुदाय झुमिरहेका छन् ।    

सुदूरपश्चिम तराईका जिल्लामा होलीको मुख्य पर्व सोमबार छ भने पहाडी जिल्लामा होली पर्वको मुख्य दिन आइतबार भए पनि मौलिक परम्पराका साथ शुक्रबारदेखि नै होली पर्व सुरु भइसक्यो । सार्वजनिक बिदाका दिन पनि त्यसैगरी मिलाइएको छ । तर पछिल्ला वर्षहरूमा सुदूर तराईका जिल्लामा पहाडी जिल्लाका बासिन्दाको बसोबासको बाहुल्यता बढेसँगै विगतझैं यस वर्ष पनि विगतका वर्षझैं यस वर्ष पनि शुक्रबारदेखि नै पहाडी होली मौलिक परम्पराका साथ छ । 

Joy of hilly Holi in remote Teraiतराईका जिल्लाको होली अक्सर रंगको पर्वका रूपमा मात्र सीमित हुन्छ । त्यो पनि युवा पुस्ताहरूले आधुनिक गीतसंगीतका साथ रंगिएर नाँच्दै रमाउँदै । तर अछाम बाजुरा बझाङलगायत पहाडी जिल्लामा भने होली पर्वको बेग्लै र परम्परागत महत्त्वका साथ खेल्ने गरिन्छ । ‘पहाडका अधिकांश बासिन्दा यतिबेला कैलालीका विभिन्न ठाउँमा बसोबास भएकाले विभिन्न ठाउँमा मौलिक परम्परा अनुसार यहीँ होली मनाउन थालेका छौं,’ बाजुरेली सेवा समाज कैलालीका सचिव भरत केसी भन्छन् ‘टीकापुरमा अछामी होली चर्चित छ भने धनगढी, अत्तरियालगायतका ठाउँ बाजुरेली समुदायले मौलिक परम्पराका साथ शुक्रबारदेखि नै होली पर्व मनाइरहेका छौं ।’

होली पर्वका केही धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता पनि छन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्वलाई वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने पर्वका रूपमा पनि मनाउने प्रचलन कायम रहिआएको छ । मौलिक परम्पराअनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाउन प्रचलन परापूर्वकालदेखि चल्दै आएको हो । जुन पर्व पछिल्ला वर्षमा तराइमा पनि झरेको छ । 

Joy of hilly Holi in remote Teraiकिंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्धेश्यले ब्रम्ह्राबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको बाजुरेली सेवा समाजका अध्यक्ष बजीरसिंह धामी बताउँछन् । 

धार्मिक तथा सांस्कृतिक मान्यता, रितिरिवाज र परम्परालाई पछ्याउँदै अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न ठाउँमा बसाइँ सरेका पहाडी समुदायहरुले शुक्रबारदेखि नै परम्परागत पहिरनमा सजिएर देउडा लय र भाकामा होली पर्व मनाउन सुरु गरेका हुन् । कैलालीको टीकापुरमा वर्षौं अघिदेखि अछामी होली चर्चित छ । धनगढी अत्तरियामा पनि पहाडी होली खेल्न चलन सुरु भएको छ । जामा लगाएर आकर्षक पहिरनमा सामुहिक रुपमा बाजागाजासहित एक ठाउँमा भेला भएर होलीका खेलेका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully