सरकारी अस्पतालको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री

फाल्गुन १६, २०८०

मेनुका ढुंगाना

Sale of expired medicines from government hospital pharmacies

अछाम — जिल्ला अस्पताल अछामले संचालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्रीवितरण हुने पाइएको छ । अस्पतालमा नि:शुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले संचालन गरेको फार्मेसीमा जिल्लास्तरीय अनुगमन टोलीले मंगलबार अनुगमन गर्दा विभिन्न १२ प्रकारका म्याद नाघेका औषधि भेटाएको हो ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगद्वारा बेच्न राखेका म्याद नाघेका औषधि अनुगमन टोलीले जफत गरेको हो ।

अनुगमनका क्रममा सन्सक्रिन लोसन ३८ पिस, सेटाफिल ६ पिस, क्लिडाजाइसिन २६ बक्स, टरबिनाफिन २५ बक्स, एमोसिसलिन प्लस वाक्सिन २० बोतल, विकाकोडिल ३१ स्ट्रिप, गोभापेन्टिन १ बक्स भेटिएको छ ।

त्यस्तै रोजाभास्टिन ८५ स्ट्रिप, प्रिबायोटिक १ बोतल, एल्लोप्राजोल १ स्ट्रिप, अल्प्राजोलन साढे १६ स्ट्रिप र स्टालोप्राम साढे १६ स्ट्रिप औषधिको म्याद नाघेको भेटिएको हो ।

सरकारी अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि बेच्ने गरेको सूचनाको आधारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विकले बताए । ‘अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका र ननाघेका औषधि एकै ठाउँमा राखेर बेच्ने गरेको पाइयो । स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा अनुगमन गरेर सचेत पत्रसमेत पठाइसकेका छौं,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले नेतृत्व गरेर फार्मेसी र मेडिकललाई कारबाही गर्न मिल्दैन । औषधि व्यवस्था विभागले नै अनुगमन गरेर कारबाही गर्ने व्यवस्था छ । यो विषयलाई माथिल्लो तहसम्म पुर्‍याइसकेका छौं ।’

अनुगमन टोलीका एक सदस्यका अनुसार यसअघि पनि जिल्लामा रहेका निजी फार्मेसी र मेडिकलहरुमा नियमित अनुगमन गर्ने गरे तापनि जिल्ला अस्पतालले संचालन गरेको फार्मेसीमा भने अनुगमन हुने गरेको थिएन । ‘सरकारी संयन्त्रबाट संचालन भएको जिल्ला अस्पतालले संचालन गरेको मेडिकलमा म्याद नाघेका औषधि बेचिन्छन् होला भनेर अनुगमन टोलीले ध्यानमा राखेन,’ अनुगमन टोलीका ती सदस्यले भने, ‘सरकारी संयन्त्रबाट संचालन भएको भन्दैमा अनुगमन नै नगरिनु पनि गलत हो । यसले सचेत बनाएको छ ।’

Sale of expired medicines from government hospital pharmacies

जिल्ला अस्पताल प्रसाशन र व्यवस्थापन समिति लामो समयदेखि आन्तरिक द्वन्द्वमा भएकाले फार्मेसी र अस्पतालको अन्य अवस्थातर्फ ध्यानै नदिएको अस्तालका एक कर्मचारीले बताए । ‘व्यवस्थापन समितिलाई आफू अनुकूलको कार्यालय प्रमुख चाहिएको छ । डाक्टरहरु समेत हाकिम कसलाई बनाउने भन्ने विषयमा दुई भागमा बाँडिएका छन्,’ ती कर्मचारीले भने, ‘सर्वसाधारणलाई सर्वसुलभ तरिकाले औषधि बिक्री गर्ने उद्देश्यले खोलिएको फार्मेसी हो । औषधि किन्दा कति कमिसन आउँछ भन्ने चक्करमा हदभन्दा बढी लापरबाही भएको छ ।’

अस्पताल प्रशासनले समयमा ध्यान दिन नसकेका कारण फार्मेसीबाट म्याद सकिएका औषधि बिक्री भएको जिल्ला अस्पतालका प्रमुख चन्द्रशेखर यादवले बताए । ‘कार्यालय प्रमुख भएर जिल्ला अस्पतालमा आएको म एक महिनामात्रै भयो । मैले पनि यहाँको धेरै समस्या बुझ्न बाँकी नै छ । फार्मेसीमा एक जनामात्र कर्मचारी छन् । २४ घण्टा नै औषधि बेच्नु पर्ने भएकाले एक्लैले नधानेको हो,’ उनले भने, ‘कर्मचारी एक जनामात्रै भएर म्याद नाघेको औषधि बेचियो भनेर पन्छिने छुट छैन । अस्पताल प्रशासनबाट गल्ती भएकै हो । जति सक्दो चाँडो फार्मेसीलाई व्यवस्थापन गर्छौं ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully