भारतमा एक नेपाली मजदुरको मृत्यु

चैत्र १४, २०७९

मनोज बडू

दार्चुला — भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ । 

सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको छ । 

मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहयोग दिएको बुझिएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully