कात्तिकयता बाजुरामा चार, बझाङमा दुई र अछाममा एक पटक केन्द्रबिन्दु बनाएर भूकम्प
धनगढी — सुदूरपश्चिमका पहाडी जिल्लालाई केन्द्रबिन्दु बनाएर निरन्तर भूकम्प जान थालेपछि स्थानीय त्रसित भएका छन् । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यालाई केन्द्रबिन्दु बनाएर पछिल्लो पटक बुधबार ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो । सबै क्षतिको विवरण आइसकेको छैन ।
कात्तिकयता सुदूरपश्चिम पहाडका डोटी, बाजुरा र बझाङमा पटक–पटक भूकम्प गएको छ । बाजुरामा चार, बझाङमा दुई र अछाममा एकपटक केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको रेकर्ड छ । कात्तिक २६ मा भारतको मुन्सियारी केन्द्रबिन्दु भएर गएको भूकम्पले दार्चुला र बैतडीसम्म धक्का महसुस भएको थियो ।
बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार बुधबारको भूकम्पले बिच्छ्या स्वास्थ्य चौकी र रुगिन स्वास्थ्य चौकी भवनमा क्षति भएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार वडा १ मा रहेको ईसीडी भवन पूर्णरूपमा भत्किएको छ । एक महिनाअघि माघ १० मा पनि बिच्छ्यालाई नै केन्द्रबिन्दु बनाएर गएको ५.९ म्याग्निच्युडको भूकम्पको धक्का भारतको दिल्लीसम्म पुगेको थियो । माघ १० को भूकम्पमा परी गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको थियो । प्रजिअ खड्काका अनुसार त्यसबेला २१ घर पूर्ण क्षति, ४४ घरमा आंशिक र ४० घरमा सामान्य क्षति पुगेको थियो ।
घर पूर्ण क्षति भएका परिवारको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन । त्रिपालमै रात बिताउन बाध्य रहेको स्थानीयले बताएका छन् । कात्तिकयता बाजुरामा मात्रै यीबाहेक थप दुईपटक भूकम्प गइसकेको छ । यस अवधिमा सबैभन्दा ठूलो भूकम्प डोटीमा गएको छ । डोटीमा कात्तिक २३ को राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसको अघिल्लो राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसै साँझ ४.१ म्याग्निच्युडको अर्को धक्का महसुस भएको थियो ।
अघिल्ला भूकम्पले त्यति क्षति नपुर्याए पनि तेस्रो पटकको धक्काले पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा, १४ वर्षीया तुलछी बोहरा गरी ६ जनाको मृत्यु भएको थियो । ५ जना घाइते भएका थिए ।
बाजुराकै छिमेकी जिल्ला बझाङमा कात्तिक १३ मा ४.६ म्याग्निच्युड र कात्तिक २६ मा ५.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । भूकम्पको झट्का महसुस भएपछि स्थानीय बासिन्दा त्रासले घरबाहिर निस्किएका थिए ।
