प्रवेशद्वार खुल्यो, पर्यटक आएनन्

फाल्गुन १३, २०७९

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाडीमा प्रवेशद्वार खुलेको तीन वर्ष भयो । तर नजिकैको चौधर नदीमा पुल र सडक निर्माण नहुँदा उक्त क्षेत्रबाट निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या नगन्य छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन वर्षअघि बेलडाडीमा प्रवेशद्वार खोल्ने निर्णय गरेको थियो । निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटा घाँसे मैदान बेलडाडीबाट १५/२० मिनेटमै पुग्न सकिन्छ । निकुञ्ज प्रशासन रहेको मझगाउँस्थित प्रवेशद्वारबाट निकुञ्ज प्रवेश गर्दा घाँसे मैदान पुग्न करिब एक घण्टा लाग्छ । अहिले बेलडाडीबाट निकुञ्जको पूर्वी क्षेत्र घुम्न सकिन्छ ।

तर निकुञ्जका आकर्षक क्षेत्र घाँसे मैदान, रानीताल, बाबाताल पश्चिममा भएकाले चौधर नदीमा पुल आवश्यक छ । ‘बेलडाडीमा प्रवेशद्वार त खुल्यो तर चौधर नदीमा पुल नहुँदा पर्यटक भित्रिएनन्,’ निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, ‘पुल निर्माण भएपछि मात्रै उक्त क्षेत्रबाट पर्यटक भित्र्याउन सकिन्छ ।’

चौधर नदीमा पुल निर्माण भएमा दक्षिणी क्षेत्रसँगै कैलालीवासीलाई पनि आकर्षित गर्न तथा धनगढीसम्म पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई पनि निकुञ्ज भित्र्याउन सकिन्छ ।

निर्माणाधीन हुलाकी सडकबाट यात्रा गरेर छोटो दूरीमै प्रवेश द्वारसम्म पुग्न सकिन्छ । धनगढीबाट हुलाकी सडक भएर बेलडाडी प्रवेशद्वारसम्मको दूरी ४५ किलोमिटर हाराहारी छ । धनगढीबाट महेन्द्रनगर हुँदै मझगाउँ प्रवेशद्वारको दुरी ६० किलोमिटर छ । 

निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो । ५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको घाँसे मैदानमा २३ सयभन्दा बढी बाह्रसिंगा छन् । ‘दक्षिणी क्षेत्रबाट पर्यटक भित्र्याउन सके निकै लाभ हुन्छ,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘प्रवेशद्वार खुल्यो तर बाटो बनेन । पुल पनि बनेन ।’ उनले बेलडाडीबाट प्रवेश सहज बनाउन पुल र सडक सुधार गर्नुपर्नेमा जोड दिए । 

पुल निर्माण भएमा मझगाउँबाट निकुञ्ज प्रवेश गरेका पर्यटकहरूले पनि पूर्वी क्षेत्र घुम्न सक्छन् । अहिले निकुञ्जमा मझगाउँसँगै अर्जुनी र बेलडाडीमा प्रवेशद्वार खोलिएको छ । सबैभन्दा बढी पर्यटक मझगाउँबाटै भित्रिने गरेका छन् । चौधर नदीमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले पुल निर्माणका लागि ठेक्का दिए पनि निर्माण कार्य सुरु हुन नसकेको बेलडाडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए  ।

‘अहिले काठेपुल बनाएर साना सवारीसाधन आवागमन गर्न सकिने भएको छ,’ अध्यक्ष रानाले भने, ‘तर ठुला सवारी साधनका लागि पक्की पुल आवश्यक छ ।’ पूर्वाधार विकास कार्यालयमार्फत दुई वर्षमा निर्माण सम्पन्न हुने गरी १२ करोडमा पुल निर्माणको ठेक्का सम्झौता भएको छ । मित्र विल्डर्ससंँग मंसिरमा ठेक्का सम्झौता भए पनि हालसम्म काम सुरु नभएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अधिकृत प्रेमकमल जोशीले बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully