धनगढी — अत्तरिया-धनगढी ६ लेन सडक अन्तर्गतको धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने गेटादेखि चौराहासम्म ‘हाइमास्ट लाइट’ बालिएको छ । प्रदेश सरकारका भौतिक तथा यातायात मन्त्री प्रकाशबहादुर देउवाले वुधवार हाइमास्ट लाइटको स्विच दवाएर उदघाटन गरे । लाइटको उज्यालोले धनगढी चौराहादेखि गेटासम्मको ६ लेन सडक झिलमिल्ल भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ४० र धनगढी उपमहानगरको ६० प्रतिशत लगानीमा पहिलो चरणअन्तर्गतको ६ लेन सडकमा आधुुनिक बत्ति जडानको काम पूरा भएको हो । उपमहानगरपािलकाका मेयर गोपाल हमालले सडकमा बत्ती जडानले दुर्घटना न्यूनीकरणसंँगै सहरको सौन्दर्यता पनि बढाउने बताए । सडकमा २ सय १६ पोलमा ४ सय ३२ आधुनिक बत्ती जडान गर्ने लक्ष छ ।
त्यसको लागि धनगढी उपमहानगरपालिका र विद्युत् प्राधिकरणको २ करोड ६८ लाख ६८ हजारमा ठेक्का समझौतासमेत भएको मेयर हमालले बताए । उनका अनुसार यो स्मार्ट बत्ती रात पर्दै गएपछि आफै बल्दै जाने र उज्यालो भएपछि आफैं निभ्ने सेन्सर जडान गरिएको छ ।
