दुई वर्षपछि सम्पर्क कार्यालय

फाल्गुन ९, २०७९

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका २ छेलामा औद्योगिक क्षेत्रको शिलान्यास भएको दुई वर्षपछि सम्पर्क कार्यालय स्थापना भएको छ । औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउन सोमबार उक्त क्षेत्रमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पर्क कार्यालयका उद्घाटन गरेका हुन् । उनले कार्यालय स्थापनासँंगै औद्योगिक क्षेत्रको कामले पनि गति लिने बताए । ‘औद्योगिक क्षेत्रको कामलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनका लागि सम्पर्क कार्यालय स्थापना भएको हो,’ मन्त्री भण्डारीले भने, ‘औद्योगिकीकरणको विकास सरकारको प्राथमिकतामा परेको छ ।’ 

उनले औद्योगिक क्षेत्रका लागि जमिन भोगाधिकारका काम पनि तत्काल सम्पन्न गरिने बताए । 

२०७७ फागुन १० मा छेलामा औद्योगिक क्षेत्रका स्थापना हुँदा स्थानीय निकै उत्साहित भएका थिए । हालसम्म जमिनको भोगाधिकारदेखि वन क्षेत्रमा पर्ने रूख कटानलगायतका काम हुन सकेको छैन । सम्पर्क कार्यालय स्थापना भएर पनि जमिनको भोगाधिकार नपाउँदा औद्योगिक क्षेत्र निर्माणको कामले गति पाउने देखिँदैन । यस क्षेत्रका उद्योगी व्यवसायीले जमिनको भोगाधिकारका लागि आग्रह गरेका छन् । 

बेदकोट नगरपालिकामा पर्ने चुरे फेदीको जनचेतना र बेदकोट सामुदायिक वनको ३५४ बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापना भइरहेको हो । उक्त क्षेत्रमा पर्ने रूख छापनको काम चलिरहेको छ । हालसम्म ४५ हजार रूखको छपान तथा नम्बरिङको काम सकिएको औद्योगिक क्षेत्र नेपालगन्जका सहायक निर्देशक कृष्ण पुनले बताए । उनका अनुसार बाँकी रहेको रूखको छपान कार्य पनि एक/दुई दिनमै सम्पन्न हुनेछ । उनका अनुसार सम्पर्क कार्यालयमा एक जना कर्मचारी पनि रहनेछन् । 

५ वर्षअघि औद्योगिक क्षेत्रका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकनमा २५ हजार रूख काट्नुपर्ने उल्लेख छ । तर अहिले झन्डै दोब्बर रूख काट्नुपर्ने देखिन्छ । औद्योगिक क्षेत्रका लागि ५ वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ । सरकारले १ हजार बिघामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरे पनि पहिलो चरणमा ३५४ बिघामा काम सुरु गरिनेछ । छेलालाई हरित औद्योगिक क्षेत्रका रूपमा विकास गरिने नेपालगन्ज औद्योगिक क्षेत्रका सहायक निर्देशक पुनले बताए । उनका अनुसार बाटो, ड्रेन र भौतिक संरचना निर्माण हुने ठाउँमा मात्रै रूख काटिनेछ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully