सुदूरपश्चिम सरकार पाँच वर्ष चल्छ : मुख्यमन्त्री शाह

फाल्गुन ८, २०७९

चित्रांग थापा

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच वर्ष टिक्नुपर्ने विषयमा सबै दलसँंग खुला छलफल भएको बताएका छन् । उनले वर्तमान सरकारसँग पूर्ण बहुमत नभए पनि मध्यावधि निर्वाचन नहुने तथा सरकार पाँच वर्ष चल्ने दाबी गरे ।

सोमबार धनगढीमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुका सुझाव र जिज्ञासामा मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार नयाँ जोस र जाँगरका साथ केही गर्नु पर्छ भन्ने मान्यताका साथ सरकारमा आएको उल्लेख गर्दै ‘जति दिन जिम्मेवारी हाम्रो काँधमा रहन्छ त्यति समय इमानदारीपूर्वक काम गर्ने’ धारणा व्यक्त गरे । उनले प्रदेश सरकार र सञ्चारकर्मीहरुबीच निरन्तर संवाद हुन आवश्यक भएको बताए । ‘कुनै पनि सूचना सरकारबाट सम्प्रेषण हुने वातावरण बन्छ,’ उनले भने ।

मुख्यमन्त्री शाहले लगानीको अवसर सिर्जना नभएसम्म दैनिक रुपमा वैदेशिक रोजगारीका लागि भारततर्फ जाने क्रम रोक्न नसकिने भएकोले प्रदेशमै उद्योग व्यवसाय, पर्यटनलगायतका क्षेत्रमा लगानी जुटाउने वातावरण तयार गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । ‘कुनै पनि रोजगारी सिर्जना गर्ने व्यवसायमा सरकारले लगानीकर्तालाई के के सुविधा दिनु पर्छ त्यसतर्फ सरकार छलफल गरि योजना बनाउन तयार रहेको छ,’ उनले भने ।

चित्रांग थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

Link copied successfully