उखु तौलिन सडकमै बास

फाल्गुन ८, २०७९

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेलडाडी गाउँपालिका–५ झिलमिलाका दीपेन्द्र रानाले एक ट्रली उखु तौलिन चार दिन सडकमा रात बिताए । तीन दिनसम्म बाटोमै लाइन लागे भने चिनी मिल भित्र पसेपछि पनि एक दिन कुर्नुपर्‍यो । मंसिरदेखि उखु काटेर चिनी मिल पुर्‍याउन थालेका उनले हालसम्म १० ट्रली मात्रै ढुवानी गर्न सकेका छन् । उखु काट्ने र ढुवानी गरेर ल्याउनुभन्दा मिलमा लाइन कुर्न निकै समस्या हुने गरेको उनी बताउँछन् ।

‘चिसोमा रातभरि ट्रलीमै सुत्नुपर्छ,’ उनले भने, ‘उखु तौल्ने पालो पाउनै गाह्रो हुन्छ ।’ एक ट्रली उखु तौलिन तीन/चार दिन सडकमै रात काटनुपर्ने उखु किसानहरू बताउछन् । उखु खेती गर्नुभन्दा बढी दुख तौलिने काममा हुन थालेको उनीहरूको दुखेसो छ । 

मंसिरदेखि चैत अन्तिमसम्मै किसानहरू उखु काट्ने, ढुवानी गर्ने र मिलमा तौलिने काममा व्यस्त हुन्छन् । अहिले नै किसानहरू उखु लगाउने काममा पनि जुटेका हुन्छन् । तौलिन बढी समय लाग्दा सास्ती हुने गरेको उनीहरू बताउँछन् । ‘उखु तौल्न जहिल्यै लाइन लाग्नुपर्ने र चिसो रातमा तीन/चार दिन सडकमै सुत्नुपर्ने बाध्यता छ,’ बेलडाडी गाउँपालिका ३ वैवाहका लक्ष्मण चौधरीले भने, ‘सुरुमा पुर्जी पाउनै गाह्रो, पुर्जी पाइएपछि तौलिने समय पाउनै मुस्किल हुन्छ ।’ उनका अनुसार चिनी मिलले पुर्जी दिएपछि मात्रै उखु मिलसम्म ढुवानी गरिन्छ । त्यसपछि लाइन लागेर तौलका लागि कुर्नुपर्छ । 

 चौधरीले तीन विघामा उखु खेती गरेका छन् । हालसम्म डेढ बिघाको उखु बिक्री भइसकेको छ भने अझै आधा बाँकी छ । फागुन अन्तिमसम्म सबै बिक्री गरिसक्ने उनको योजना छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा दुई वटा चिनी मिल सञ्चालनमा छन् । मिल आसपास उखु बोकेका ट्रयाक्टरदेखि गोरुगाडा र राँगा गाडाको लामो लाइन देखिन्छ । अधिकांशले ढुवानीकै साधनमा ओडने ओछ्याउनेदेखि खाट बोकेका हुन्छन् । 

स्थानीयका अनुसार चिनी मिलमा सीमावर्ती क्षेत्रबाट समेत अवैध रूपमा उखु आयात हुने भएकाले तौलिन बढी समय लाग्ने गरेको हो । उनीहरूका अनुसार रातिको समयमा भारतबाट अवैध रूपमा उखु आउने गरेको छ । ‘राति भारतबाटै धेरै उखु आउछ, आउने बित्तिकै तौलिहाल्छन्,’ उखु तौलिन लाइनमा लागेका किसान भन्छन्, ‘हाम्रो उखुका लागि तीन/चार दिन कुर्नुपर्छ ।’ 

बेलौरी नगरपालिका १० भुडामा महाकाली सुगर मिल र पुनर्वास नगरपालिकामा भागेश्वर सुगर मिल सञ्चालनमा छन् । दुवै मिलले एक सिजनमा २५/२५ लाख क्विन्टल उखु पेल्दै आएका छन् । मिल सञ्चालकहरू आवश्यकताअनुसार उखु नपाइने बताउँदै आएका छन् । तर उनीहरू भारतबाट आयात नगरिएको बताउँछन् । ‘भारतबाट उन्नत जातको बीउ मात्रै ल्याउँछौं, मिलमा पेल्नका लागि उखु आउँदैन,’ महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने, ‘उखु नपुगेर फागुन अन्तिममै मिल बन्द गर्नुपर्छ ।’ उनका अनुसार मंसिरदेखि मिल सञ्चालनमा आएर फागुनमा बन्द हुन्छ । यस वर्ष उखुको मुल्य ७० रुपैयाँ ढुवानी अनुदानसहित ६ सय १० रुपैयाँ प्रतिक्विटल पुगेको छ । ‘पुर्जी वितरण गरिएको भन्दा बढी उखु आउँदा तौलिन समस्या हुन थालेको हो,’ ठगुन्नाले भने, ‘एकै दिन पाँच/सात सय गाडी उखु आउने गरेको छ, हाम्रो पेल्ने क्षमता प्रति दिन अढाई सय मात्रै हो ।’ उनले पुर्जी वितरण गरिएको आधारमा उखु आएमा तौलिन समस्या नहुने बताए । 

नेपालसँगै सीमा जोडिएको भारतीय क्षेत्रमा पनि उखु खेती गरिन्छ । तर भारतमा जग्गाधनी पुर्जा भएको उखु मात्रै खरिद हुने भएकाले जग्गाधनी पुर्जा नभएका कृषकहरूले अवैध रुपमा नेपालतर्फ ल्याउने गरेको स्थानीय बताउछन् । उनीहरूका अनुसार सुगर मिलहरूले पनि अनुदान रकम कुम्ल्याउन ठूलो मात्रामा भारतबाट उखु मगाउने गरेका हुन् । कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा साढे ६ हजार हेक्टरमा उखु खेती गरिन्छ । यहाँ उखुको उत्पादकत्व प्रतिहेक्टर ८० मेट्रिक टन छ । भारतबाट अवैध रुपमा उखु आयात हुने गरेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राई पनि बताउँछन् । ‘भारतबाट उखु आउँछ भन्ने हामीले पनि सुनेका छौं,’ उनले भने, ‘यहिँका किसानको नामबाट मिलमा बिक्री हुन्छ ।’ 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully