दलका नेताहरूले ठेकेदारलाई संरक्षण गरेका कारण जिल्लाका विकास आयोजना लामो समयदेखि निर्माण अधुरो
बझाङ — अथाह स्रोत र सम्भावना हुँदाहुँदै पनि बझाङले गरिब र पिछडिएको जिल्लाको पहिचान बोकिरहनु विडम्बनापूर्ण भएको विभिन्न क्षेत्रका व्यक्तिले बताएका छन् । ‘बझाङको विकास र समृद्धिका आधारहरू’ विषयक बहसमा आइतबार सहभागीले बझाङले परिचय बदल्न नसक्नुमा यहाँको नेतृत्व गर्ने व्यक्तिहरू जिम्मेवार रहेको बताएका छन् । जयपृथ्वी नगरपालिका र पश्चिम टुडे दैनिकको संयुक्त आयोजनामा बहस भएको हो ।
हिमाल, जलस्रोत, जडीबुटी, जमिन, जंगल जस्ता प्राकृतिक स्रोतको भण्डारका रूपमा रहेको बझाङको आधा जनसंख्या भारतको मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता भोगिरहेको बताउँदै कार्यक्रमका सहभागीहरूले नेतृत्वले सही ढंगले काम नगरेका कारण यो अवस्था सिर्जना भएको बताए । कार्यक्रममा सहभागी प्राध्यापक, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न पेसा व्यवसायीले जनप्रतिनिधिहरूले दीर्घकालीन सोचसहितको विकास नगरेका कारण दुरवस्था भोग्नु परिरहेको आरोप लगाए ।
‘जिल्लामा सर्वेक्षण भएका आधा मात्र विद्युत आयोजना निर्माण हुने हो भने त्यसबाट स्थानीयले प्राप्त गर्ने सेयरले नै बझाङको जनसंख्यालाई मस्तीले खान लाउन पुग्ने अवस्था छ,’ समाजसेवी गोकुलराज जोशीले भने, ‘हिमालका पहराबाट निस्केको पानी मात्रै बेचेर पनि डलर भित्र्याउन सकिने स्रोत हामीसँग छ । पर्यटन, आयुर्वेद, कृषि, पशुपालनलगायत क्षेत्रमा सम्भावना भएर पनि हामीले इन्डियालाई कुर्नुपर्ने अवस्था आएको हो ।’
जयपृथ्वी क्याप्पसका सहायक प्राध्यापक लालबहादुर बोहराले जलवायु र जैविक विविधता भएको जिल्लामा नेतृत्वको अदूरदर्शिताका कारण गरिबको पहिचान बोकेर हिँड्नु परेको बताए । ‘हामीले कौडीको भाउमा बेचेका जडीबुटी सुनको भाउमा किनेर हामीले नै उपयोग गर्नु परिरहेको छ,’ जडीबुटी प्रशोधन उद्योग खोल्न सके अर्थतन्त्र परिर्वतन हुने उल्लेख गर्दै बोहराले भने, ‘जिल्लाको विकास नै चाहने हो भने सबै पालिका मिलेर पनि यो काम गर्न सकिन्छ ।’
‘यहाँ हुने उत्पादनको वृद्धि गर्ने नयाॅ प्रविधि भित्र्याउने, बजारको व्यवस्थापन गर्ने काम कहिले हुदैन,’ जयपृथ्वी नगरपालिकाका सत्यराज जोशीले भने, ‘फेसबुकमा भाइरल हुनका लागि मात्रै चर्का भाषण गरेर जनता झुक्याउने काम भैरहेको छ । यसो हुनु भएन ।’
राजनितिक दलका नेताहरूले ठेकेदारलाई संरक्षण गरेका कारण जिल्लाका विकास आयोजना लामो समयदेखि निर्माण अधुरो रहेको बताए । सुदूरपश्चिमकै गौरवको आयोजना चैनपुर—ताक्लाकोट सडक २५ वर्षदेखि अधुरै रहेको गुनासो पोखेका छन् । सडक, पुल, अस्पताल जस्ता पूर्वाधारहरूको ठेक्का ओगट्ने प्रवृत्तिप्रति नेताहरू मौन रहनु रहस्यमय रहेको थलाराका स्थानीय डीबी विस्टको भनाई थियो ।
सहभागी जनप्रनिधिले बहसमा उठेका विषय गम्भीर रहेको र जिल्लाको विकास नहुनुमा नेतृत्व जिम्मेवार भएको बताएका थिए । ‘सम्भावना छन्, योजना छैन । के काम गर्दा यहाँको समुन्नति हुन्छ भन्ने चेतना जनप्रतिनिधि नभएका कारण यस्तो भएको हो,’ जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले भने । राजनितिक पक्षपातका कारण पनि विकासले गति लिन नसकेको उल्लेख गर्दै उनले भने, ‘आफ्नो पार्टीले गरे सबै राम्रो, अर्को पार्टीले गरेको सबै गलत भन्ने सोचले गर्दा यसो भएको हो । यसमा हामी नेतृत्व नै दोषी छौं ।’ उनले प्रतिनिधिसभा तथा प्रदेशसभाका जनप्रतिनिधीले जिल्लाको विकासमा उचित भूमिका खेल्न नसकेको बताए ।
नगरप्रमुख चेतराज बजालले जनप्रतिनिधिहरूले जनतामा आशा र भरोसा जगाउन नसकेको बताए । ‘व्यवस्था परिर्वतन भएको यत्रो वर्षसम्म पनि हामीले जनताले चाहे जस्तो काम गर्न सकेका छैनौं,’ उनले भने । स्थानीय सरकारको बजेट कटौती गर्ने र कमिसन खाएर दलालमार्फत योजना वितरण गर्ने प्रवृत्तिले विकासका काम हुन नसकेको बताए ।
कार्यक्रममा मुख्य वक्ता सांसद भानुभक्त जोशीले विकासका थुप्रै पूर्वाधार निर्माण भए पनि जिल्लाले अझै विकासको लय समात्न नसकेको बताए । ‘हामी काम कम गर्ने कुरा बढी गर्ने रोगबाट ग्रसित भयौं,’ पूर्वमन्त्रीसमेत रहेका जोशीले भने, ‘यसमा मेरो पनि कमजोरी रह्यो । हामी सबैका कमजोरी छन् । सबै मिलेर जिल्लाको मुहार फेरौं ।’ जिल्लाको समग्र विकासका लागि आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जिल्लाको विकास र समृद्धिका लागि अथाह सम्भावना रहेको बताउँदै जनप्रतिनिधिले समन्वय गर्नुपर्नेमा जोड दिए ।
