सीमा क्षेत्रमा दिनहुँ लागूऔषध बरामद

फाल्गुन ८, २०७९

कान्तिपुर संवाददाता

धनगढी — धनगढी उपमहानगरपालिका–१० त्रिनगर भन्सारको सीमानाकामा दुई युवाबाट ३ दशमलव ७० ग्राम खैरो हेरोइन बरामद गर्‍यो । त्रिनगर प्रहरी युनिटका प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका २३ र २९ वर्षीय दुई युवामाथि शंका लागेर जाँच गर्दा लागूऔषध बरामद गरेको हो । यसअघि मंगलबार धनगढी– १० खप्तड इँटाभट्टा नजिक एक दम्पतीबाट प्रहरीले ८ सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

प्रहरीले खुला सीमा क्षेत्रबाट थोरै मात्रामा खैरो हेरोइन बोकेर ल्याउने युवायुवतीलाई दिनदिनै पक्राउ गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख दीपेन्द्रबहादुर पालले प्रहरीको नियमित गस्ती गर्दै साधारण जाँचको क्रममा लागूऔषध बरामदका घटना बढिरहेको बताए । ‘दिनदिनै सीमा क्षेत्रमा प्रहरीले लागू पदार्थ बरामद गर्ने गरेको छ,’ उनले भने, ‘यसबाट हाम्रो समाजमा लागूऔषध दुर्व्यसनीको अवस्था भयावह स्थितिमा पुग्दै छ, भन्ने बुझाउँछ ।’

प्रहरी उपरीक्षक पालले भारतका सीमावर्ती बजारमा सहजै पाउने खैरो हेरोइनलगायतका लागूऔषध कुलतमा फसेका युवायुवतीले ल्याउने र उनीहरूबाट अन्य युवायुवतीलाई किनबेच हुने गरेको पाइएको बताए । ‘भारतबाट खैरो हेरोइन लागू पदार्थ र पहाडबाट चरेस आउने गरेको छ,’ उनले भने, ‘पछिल्लो समयमा कैलाली र कञ्चनपुरमा लागूऔषधको कारोबार र सेवनकर्ता बढ्दै छन् ।’ प्रहरी उपरीक्षक पालका अनुसार यहाँबाट लागूऔषध चरेस भारत जाने गरेको छ । मंसिरयताका तीन महिनामा कैलाली प्रहरीले २७ किलो ४९ ग्राम ६ सय ८० मिलिग्राम चरेस बरामद गरेको छ । उनले भारतबाट आउने नाइट्राभेट १ सय २८ स्पास ८८ बरामद भएकोसहित ९९ जनालाई कारबाही गरी मुद्दा चलाएको बताए । कैलालीको धनगढी, गोदावरी, भजनी, लम्की चुहा, टीकापुर, घोडाघोडी र गौरीगंगा नगरपालिकाका विभिन्न स्थानमा लागूऔषध प्रयोग र बिक्रीवितरणकर्ताको अखडा रहने गरेको छ । 

एसपी पालले समाजलाई लागूऔषधको कुचक्रमा फस्न नदिन अभियान नै चलाउनुपर्ने बताए । ‘अभियान स्थानीय तहको समन्वय सहकार्यमा समाज र प्रहरीले संयुक्त रूपमा चलाउनुपर्छ,’ उनले भने, ‘यो अभियान सुदूरपश्चिमको एक जिल्लामा नभई सबै जिल्ला खासगरी कैलाली र कञ्चनपुरमा चल्नु आवश्यक छ ।’ सुदूरपश्चिम प्रहरीले यस्तो अभियानको सुरुवात गर्ने तयारी गरेको उनले बताए । 

धनगढी उपमहानगरको फूलबारीमा पुनःस्थापना केन्द्र स्थापना गरिदिन लागेको छ । उपमहानगरपालिकाका मेयर गोपाल हमालले युवा जनशक्ति दुर्व्यसनीमा फस्नबाट जोगाउन विशेष योजनासहितको कार्यक्रम कार्यान्वयन गर्न लागेको बताए । उनले यस कार्यक्रमको अभियानको जिम्मेवारी समाजका तर्फबाट पूर्वप्रहरीको संगठनजस्ता संस्था र माध्यमबाट चलाउने विषयमा छलफलसमेत भइरहेको बताए । 

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमल शाहले पहिलो मन्त्रिपरिषद्को बैठकले लागूऔषध नियन्त्रणसम्बन्धी पहिलो निर्णय गरेको बताए । दुई सदस्यीय मन्त्रिपरिषद्को बैठकबाट लागूऔषध कुलतमा फसेका युवाका लागि तत्काल पुनःस्थापना केन्द्र्र स्थापना गर्ने निर्णय गरेको जनाए । 

कान्तिपुर

Link copied successfully