दार्चुला — दार्चुलाको मार्मा गाउँपालिका-३ नलबगरमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । टिपरको ढाला बिजुलीको तारमा लागेर सख्त घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिका चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
उपचारका लागि अस्पताल लैजाने बेला थापाको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
बिहान ९ बजे सडकमा माटो फिलिङ गर्ने क्रममा से १ क ११३० नम्बरको टिपरको पछाडि पट्टिको भागले बिजुलीको नांगो तारलाई छुँदा टिपर चालक थापा घाइते भएका थिए ।
प्रहरीका अनुसार सहचालक मार्मा गाउँपालिका- ६ का अन्दाजी १९ वर्षीय प्रकाश सिंह ठगुन्ना घाइते भएका छन् । घाइते भएका सहचालकको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेकाे छ ।
