लोटस आई एलपीएल च्याम्पियन

फाल्गुन ७, २०७९

कान्तिपुर संवाददाता

धनगढी — कैलाली अत्तरियाको लोटस आई स्कुलले शनिबार सम्पन्न सातौं विद्यालयस्तरीय १९ वर्षमुनिको ट्वान्टी–२० क्रिकेट लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि जितेको छ । 

फाप्ला क्रिकेट मैदानमा लोटसले डिफेन्डिङ च्याम्पियन अत्तरियाकै सत्यवती एकेडेमीलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो । लोटसले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार र ट्रफी जितेको छ । उपविजेता सत्यवतीले भने १ लाख २५ हजार ५ सय २५ रुपैयाँ पायो । सत्यवतीले दिएको ९२ रनको लक्ष्य लोटस आईले ३ विकेट गुमाएर ११.३ ओभरमै भेट्टायो । लोटसका लक्की कडायतले ४१ रन बनाए । उनले ३२ वलमा ७ चौका प्रहार गरे । आयुब चन्दले २८ र वीरेन्द्र नाथले १४ रनको योगदान गरे । सत्यवतीका गौतम केसी र प्रतीक श्रेष्ठले १–१ विकेट लिए ।

यसअघि टस जितेको सत्यवतीले १९.१ ओभरमा सवै विकेट गुमाई ९१ रन बनाएको थियो । सत्यवतीका ओपनर इमरान शेखले सर्वाधिक २७, कप्तान सिर्जन गौतमले १७ र सोनु अन्सारीले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इमरान र सोनुले ३५ रनको ओपनिङ साझेदारी गरेका थिए । लोटसका नरेन साउद र प्रेम शाहले ४–४ विकेट लिए । साउद प्लेयर अफ द म्याच भए । हिक्मत महरा र सुवास रावलले १–१ विकेट लिए । 

उपाधि जितेपछि लोटस आईका कप्तान वीरेन्द्र नाथले टिमको सकारात्मक प्रदर्शन र उत्कृष्ट तालमेल नै जितको प्रमुख कारण रहेको बताए । उपबिजेताका कप्तान सिर्जन गौतमले आफ्नो टिम हारको कारण फाइनलमा व्याटिङ ध्वस्त हुनु नै मुख्य कारण रहेको बताए ।

प्लेयर अफ द सिरिज लोटस आईका आयुब चन्द चुनिए । उनले २० हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर योगेश भाट क्षेत्री र उत्कृष्ट बलर सन्तोष बिज भए । दुवै लोटसका हुन् । उनीहरूले जनही १० हजार पुरस्कार पाए । उदीयमान लिटिल फ्लावरका सुवास तिवारी चुनिए । उनले ५ हजार पुरस्कार प्राप्त गरे । विजेतालाई पूर्वमन्त्री तथा सांसद वीरबहादुर बलायरले पुरस्कृत गरे । 

कान्तिपुर

Link copied successfully