मोबाइलले फेरियो जीवनशैली

फाल्गुन ६, २०७९

मेनुका ढुंगाना

अछाम — १५ वर्षअघि मंगलसेन नगरपालिका–६ की ४९ वर्षीया रंगी नेपाली भारतमा रहेका पति र छोरोसँग कुरा गर्न दुई साता एक पटक मंगलसेनस्थित एक सार्वजनिक टेलिफोन बुथ (पीसीओ) मा धाउँथिन् । सदरमुकाम त्यतिबेला मंगलसेनका सीमित ठाउँमा मात्रै भीएचएफ प्रविधिको टेलिफोन सेवा सञ्चालनमा थियो ।

उनलाई त्यतिबेला पहिलो पटक फोनमा बोलेका केही रोचक प्रसंग अहिले पनि याद छन् । एक पटक भारतमा रहेका पति र छोराले फोन गर्ने भनेको दिन उनी मंगलसेन आइपुगिन् । उनका आफन्तले भारतबाट फोन आउँछ भनेर खबर पुर्‍याइदिन भनेका थिए । 

‘आइतबारका दिन दिउँसो १ बजे बम्बैबाट फोन आउँछ भनेर मंगलसेन आएकी थिएँ, पीसीओमा म जस्ता धेरै महिला लाइनमा बसेका हुन्थे,’ उनले पिसिओमा फोन कुर्दै बसेका दिन सम्झँदै भनिन्, ‘रंगी नेपालीको छोराको फोन आयो भनेर बोलाए । पहिलो पटक फोनमा बोल्न लागेकी म सुरुमा हलो भन्दा मैले खेतबारी जोत्ने हलो सम्झेर हलो घरमै छ भनेकी थिएँ । आमा ढोग गरे भनेर छोरो बोल्दा फोन त्यत्तिकै राखेर छोरालाई वरिपरि खोजेकी थिएँ ।’ उनी जस्ता थुप्रै महिलाले पहिलो पटक फोनमा बोल्दा केही न केही अनौठो मानेकै हुन्थे ।

अहिले ५० वर्षीया रंगीको हातमा मोबाइल छ । अक्षर खुट्याउन पनि नसक्ने उनी अहिले आफन्तलाई आफैं फोन गरेर बोल्न सक्छिन् । ‘उहिले फोनमा बोल्दा मान्छे नै वरिपरि आएजस्तो लाग्थ्यो । अचम्म लाग्थ्यो । तर अहिले आफैं मोबाइल चलाउछु । फोन गर्न सक्छु,’ उनले भनिन्, ‘मैले मोबाइल बोक्न थालेको ५ वर्ष भयो । पहिले केही जान्दैन थिएँ । चलाउँदा चलाउँदै जानिने रहेछ ।’ अहिले टाढा रहेका सन्तानसँग फोन र भिडियो कुरा हुने गरेको उनले बताइन् । 

मंगलसेन नगरपालिका–५ की ४८ वर्षीया सेतु भाटसँग पनि पीसीओ धाउँदै भारतमा रहेका श्रीमान् र आफन्तलाई फोन गर्न धेरै समय लाइनमा बसेको अनुभव छ । चिठी पठाउने समयबाट पीसीओमा लाइन बस्दै फोन गर्ने र अहिले आफैं फोन बोकेर कुरा गर्न सकेकी सेतु परिवेशसँगै आफू पनि बदलिएको बताउँछिन् । सेतुले भनिन्, ‘चिठी बिस्तारै कम हुँदै थिए । मंगलसेनमा पीसीओबाट कुरा गर्ने सुविधा आयो । त्यो बेला १ मिनेट बोलेको १५ देखि २० रुपैयाँसम्म तिरेकी छु । अहिले त जमाना साँच्चै बदलिएछ ।’ 

मोबाइल समात्न थालेको ६ वर्षसम्म उनले मोबाइल प्रयोग गर्ने धेरै तरिका थाहा पाइसकेकी छन् । गाउँमा मोबाइल प्रयोग गर्ने महिला धेरै भएपछि ठूलो स्वरमा बोलाउने चलन नै हटेको उनी बताउँछिन् । ‘पहिले गाउँमा कसैलाई बोलाउँदा पनि ठूलो स्वरले कराएर बोलाइन्थ्यो, अहिले त पल्लो कोठामा भएका छोराछोरीलाई खाना खान बोलाउन पनि फोन गर्ने गर्छौं,’ भन्छिन् । 

पछिल्लो समयमा सुदूरपश्चिममा मोबाइल फोन प्रयोग गर्ने महिलाको संख्या बढेको तथ्यांकले देखाउँछ । यूएन वुमनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगको सहयोगमा सुदूरपश्चिमका महिलाको अवस्थासम्बन्धी गरेको एक सर्वेक्षणमा सुदूरपश्चिमा १५ देखि ४९ वर्ष उमेर समूहका ६६ दशमलव १ प्रतिशत महिलाले मोबाइल फोन प्रयोग गर्दै आएका छन् । इन्टरनेट प्रयोग गर्नेको संख्या भने कम छ । उक्त अध्ययनले सोही उमेर उमेर समूहका ८ दशमलव ८ प्रतिशत महिला इन्टरनेट चलाउन सक्ने देखाएको छ । 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully