महाकालीमा निर्माण भएका दुई झोलुंगे पुल उद्घाटन

फाल्गुन ४, २०७९

मनोज बडू

दार्चुला — सीमा नदी महाकालीमा नेपाल–भारत जोड्ने दुई झोलुंगे पुल सञ्चालनमा आएका छन् । नेपाल सरकारले व्यास गाउँपालिकामा निर्माण गरेको दुई वटा झोलुंगे पुलको बिहीबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिलाधिकारी रीना जोशीले उद्घाटन गरेका हुन् ।

नेपाल सरकारले व्यास गाउँपालिका–४ मलघट्टेमा १ सय २० मिटर लामो र व्यास गाउँपालिका–२ मालगाउँ मालघाटमा १ सय ४० मिटर लामो झोलुंगे पुल निर्माण गरेको हो । अब औपचारिक रूपमा पुल सञ्चालनमा आएपछि स्थानीयको नेपाल–भारत आवतजावतमा सहजता आएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए । 

मालघाट र मालघट्टेमा झोलुंगे पुल सञ्चालनले तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ । पुलको भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फ जनपद र सशस्त्र प्रहरीले गर्नेछ ।

मालघाट (गस्कु) को पुलमा दुम्लिङस्थित सशस्त्र प्रहरी र मालघट्टेमा सुन्सेरा प्रहरी चौकीबाट सुरक्षाकर्मी खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महाकालीका यी दुई पुल सञ्चालनमा आएसँगै व्यासका आधा दर्जन गाउँका बासिन्दालाई तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दार्चुलाको उत्तरी क्षेत्रका महाकाली किनारका बासिन्दा किनमेल, मेलापात, उपचारलगायत सबैजसो कामका लागि पारि भारतीय क्षेत्रमा जाने गर्छन् ।

पुल नहुँदा ट्युब र तुइनबाट ज्यानको बाजी थापेर महाकाली वारपार गर्दा कतिपयको खसेर महाकालीमा बेपत्ता भएको व्यास–४ जमनसिंह विष्टले बताए । यसअघिसम्म लुकीछिपी महाकाली वारपार गर्नुपरेको र अब वैधानिक रूपमा पुलबाट ओहोरदोहोर गर्न पाउँदा सहज हुने उनको भनाइ छ । सबैभन्दा बढी व्यास गाउँपालिकाका स्थानीय महाकालीमाथि जोखिम मोलेर आवतजावत गर्दै आएका छन् । यसका लागि व्यास गाउँपालिकामा ५ वटा नेपाल–भारत जोड्ने झोलुंगे र काठेपुल सञ्चालनमा छन् । 

दार्चुलामा सबैभन्दा पुरानो नेपाल–भारत जोड्ने झोलुंगे व्यास गाउँपालिका–१ को सीतापुल हो । यो पुल पञ्चायतकाल अघिदेखि नै सञ्चालनमा रहेको टिंकरका बासिन्दा शोभानसिंह तिंकरीले बताए । यसअघि महाकाली तर्न दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्यासको सीतापुल, तिग्रम, बाकु, बडू गाउँ, महाकालीको दत्तु र लेकमको लालीमा झोलुंगे पुल सञ्चालनमा थिए ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सञ्चालन हुने गरी महाकालीमा पक्की पुल पनि बन्दै छ । व्यासको तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा पनि झोलुंगे पुल आवश्यक रहेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । ‘पुल बनेपछि नेपाल–भारत ओहोरदोहोर गर्ने परम्परागत घाट विस्थापित हुँदै गएका छन्,’ उनले भने, ‘तावाघाट, दुम्लिङ र बुदी क्षेत्रमा अझै तुइनकै भर भएकाले सो क्षेत्रमा पनि झोलुंगे पुल अनिवार्य छ ।’

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully