पालिकाको केन्द्रसम्म पुग्न नसक्नेलाई लक्षित गरी ३/३ महिनामा वडामै घुम्ती शिविर राखिने
बझाङ — बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक र अशक्तहरूले घण्टौं हिँडेर पालिकाको केन्द्रमा पुग्दा सास्ती भोग्नुपरेकाले बैंकसँगको सहकार्यमा वडा कार्यालयबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको पालिकाले जनाएको छ ।
‘अब खप्तड छेडेदहले हिमालयन बैंकको शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रत्येक ३/३ महिनामा वडावडामा घुम्ती शिविर सञ्चालन गर्नेछ,’ पालिका अध्यक्ष दिलबहादुर रावतले भने, ‘राज्यले वृद्धवृद्धालाई सुविधाका नाममा सास्ती दिएजस्तो भएको थियो । भत्ता बुझ्नकै लागि वृद्धवृद्धा र अशक्त नागरिकले सकिनसकी पालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था हटाएका छौं ।’ उनले वृद्धवृद्धाहरू एक/दुई दिनसम्म हिँडेर पालिका आउँदा निकै दुःख पाउने र भत्तामा पाएको रकमसमेत आउजाउमै खर्च गर्नुपर्ने अवस्था रहेकाले वडाबाट भत्ता पाउने व्यवस्था गरिएको बताए ।
बुधबार वडा–७ को कार्यालयबाट घुम्ती सेवा सुरु गरिएको हिमालयन बैंक छेडेदह शाखा प्रबन्धक किरण रिजालले बताए । ‘जिल्लामै पहिलो पटक हामीले यो अभ्यास सुरु गरेका छौं,’ उनले भने, ‘आफ्नै वडामा भत्ता बुझ्न पाउँदा सेवाग्राही धेरै खुसी भएका छन् । जिल्लाका अन्य पालिकामा रहेका बैंकहरूले पनि हाम्रो अभ्यास अनुसरण गर्नेछन् भन्ने विश्वास छ ।’
उनले वडा कार्यालयले पालिकासम्म हिँड्न नसक्ने सेवाग्राहीको विवरण र खाता नं. उपलब्ध गराएपछि बैंकले पुनर्पुष्टि गरेर सूचीसहित कर्मचारीलाई वडामा पठाउने र सम्बन्धित व्यक्तिलाई रकम बुझाएर रसिदमा दस्तखत गराउने प्रणालीको विकास गरिएको बताए । ‘भत्ता बुझाइसकेपछि पुनः हाम्रो सफ्टवेयरमा सूचना इन्ट्री गर्छौं । कर्मचारीका लागि यो केही झन्झटिलो काम भए पनि सेवाग्राहीलाई निकै राहत भएको छ,’ उनले भने ।
गतवर्ष चैत १७ मा बाजुराका वृद्धवृद्धा र अशक्तहरूले सामाजिक सुरक्षा भत्ता बुझ्न २/३ दिनसम्म हिँड्नुपरेको र कतिपय यात्राका दौरान बिरामीसमेत पर्ने गरेकोबारेको स्थलगत रिपोर्ट कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो । हिँड्न नसकेका कारण धेरैजसोले भत्ता बुझ्नै छाडेको समेत पाइएको थियो । गाउँमा भत्ता बुझ्न पाएपछि सेवाग्राहीहरू उत्साहित देखिएका छन् । वडामै भत्ता वितरण गर्न आएका जनप्रतिनिधि र बैंक तथा पालिकाका कर्मचारीलाई स्थानीयले फूलमालासहित स्वागत गरेका छन् । ‘हिँडेर जान नसक्ने भएपछि मैले त भत्ता बुझ्नै जान छोडिसकेको थिएँ,’ ९४ वर्षीय करी रावतले भने, ‘अहिले गाउँमै आएर भत्ता दिनुभयो । धेरै खुसी लागेको छ ।’
यसअघि ५ घण्टासम्म हिँडेर बैंकसम्म पुग्नुपर्ने समस्याबाट मुक्ति पाएको बताउँदै अर्की सेवाग्राही ९० वर्षीया हीरा ओलीले साँच्चिकै सरकार आएको अनुभूति भएको बताइन् । ‘भत्ता बुझ्न जाँदा बिरामी भएर २/३ दिनसम्म सुत्नु पर्थ्यो । बुझेको पैसा पनि उपचार गर्दै सकिन्थ्यो । बुढाबुढीलाई हेर्ने सरकार छैन कि जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘यो पाला हाम्रा दुःख हेरिदिनुभयो । यो सरकारको जय होस् ।’
७ वटा वडा रहेको यस पालिकामा एउटै वडामा १ सय २० जनासम्म हिँड्न नसक्ने वृद्धवृद्धा र अशक्त सेवाग्राही रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताए । ‘सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेका कारण दुर्गम क्षेत्रका सेवाग्राहीलाई निकै सकस भएको थियो । यो समस्या हटाउन बैंकले वडामै वितरण गर्न लागेको प्रयास निकै प्रशंसनीय छ,’ उनले भने ।
हिमालयन बैंकको सक्रियतामा २०७७ सालमा नै खप्तड छेडेदह गाउँपालिकामा ‘एक घर एक बैंक खाता’ सञ्चालनमा आइसकेको छ । जोशीले बैंकले पालिकासँग सहकार्य गरेर वित्तीय चेतना जागरणमा पनि योगदान गरिरहेको बताए ।
