धनगढीका मेयर गोपाल हमालको मतले कैलाली जिससमा गठबन्धन विजयी

जेष्ठ ३०, २०७९

मोहन बुडाऐर

कैलाली — कैलाली जिल्ला समन्वय समितिमा  सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  धनगढी उपमहानगरका मेयर गोपाल हमालको सहयोगमा गठबन्धन दलका उम्मेदवार जिल्ला समन्वयको निर्वाचनमा निर्वाचित भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल  १३ मत प्राप्त गरी विजयी भएका छन् ।  नागरिक उन्मुक्ति पार्टीका  इन्द्र चौधरीले १२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका  खगराज भुसाल १३ मतसहित विजयी भए । एमालेका राजेन्द्रप्रसाद  खनालले १२ मत ल्याए ।  सदस्य पदको महिला तर्फका उम्मेदवार पनि गठबन्धनकी  समाजवादीकी  जानकीदेवी चौधरी, दिलु कामी,  भावना चौधरी विजयी भएकी छिन् ।  एक जना दलित सदस्यमा  नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भएकी छिन् । तीन जनाको  खुल्ला सदस्य पदमा  नेपाली कांग्रेसका तेजबहादुर चन्द,बिर्खबहादुर बुढा, समाजवादीका लोकन्द्र शाही विजयी भएका छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि  सत्ता गठबन्धनविरुद्ध एमाले र नागगरिक उन्मुक्ति पार्टी तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए । कैलालीमा १३ वटा स्थानीय तहका २६  मतदाता हुन् ।  जसमध्ये कांग्रेसका ८, माओवादीका ४ र समाजवादीका १ गरी  सत्ता गठबन्धनसँग १३ मतभार थियो ।   नागरिक उन्मुक्ति पार्टीसँग ७ , एमालेसँग ५ गरी १२ मतभार अर्कोतिर  थियो ।

माओवादीबाट मोहन्याल गाउँपालिकाबाट जितेका गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले  भष्ट्राचार अभियोगमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेका कारण मतदानमा सहभागी भएनन् । दुवैतर्फ १२/१२ मत भएका बेला धनगढीका मेयर गोपाल हमाल निर्णायक बन्न पुगेका हुन ।  अन्तिम सयममा हमालले आफनो मत  गठबन्धनका पक्षमा दिएका हुन् ।

मोहन

Link copied successfully