धनगढी — कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय शिवचरण राना मृत अवस्थामा भेटिएका छन् । टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा उनको शव शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै निर्माण हुँदै गरेको नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताए । ‘अनुसन्धानका क्रममा १२ जनालाई नियन्त्रणमा लिइएको छ,’ डिएसपी विष्टले भने, ‘गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना राति पसलमै सुतेका थिए । बिहान घर जाने क्रममा बाटोमा हत्या गरिएको आशंका छ ।’
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुसमेत प्रयोग डिएसपी विष्टले बताए । रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
