महोत्सवसँगै हराउँछन् पर्यटन विकासका योजना

फाल्गुन १८, २०७६

मोहन शाही

(डोटी) — उद्योग वाणिज्य संघ डोटीले २०६८ मा दिपायलमा पहिलोपटक महोत्सवको आयोजना गर्‍यो । महोत्सवमा सेती नदीमा र्‍याफ्टिङको सम्भावनालाई देशभर प्रचारप्रसार गर्ने भन्दै जिल्ला बाहिरबाट टोली झिकाएर जलयात्रा गराइयो ।

आठ वर्षअघि नै सुरु गरिए पनि र्‍याफ्टिङलाई आर्थिक र कानुनी अन्योलताका कारण सञ्चालनमा ल्याउन नसकेको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्का बताउँछन् । पर्यटन व्यवसायी र स्थानीय तहहरूलाई लगानी गर्न बेलाबेला दबाब दिँदै आएको उनले बताए । गत वर्ष दिपायल सिलगढी र शिखर नगरपालिकाले र्‍याफ्टिङ बोट खरिद गरे पनि व्यावसायिक रुपमा सञ्चालन गर्न सकेका छैनन् । ‘कानुनी प्रक्रिया अन्तिम चरणमा छ,’ दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले भनिन्, ‘हामीसँग तालिम प्राप्त जनशक्ति छैनन् । जनशक्ति उत्पादन गर्न तालिम दिने काम भइरहेको छ ।’ 


हाल नगरपालिकाले महोत्सवका बेला मात्र र्‍याफ्टिङ सञ्चालन गर्ने गरेको छ । २०७४ को प्रादेशिक महोत्सवमा झिंग्राना–खप्तड केबलकार निर्माणका लागि सरकारलाई दबाब दिने भन्दै खुत्रुके अभियान चलाइयो । उक्त अभियानबाट दुई दिनमा एक लाखभन्दा बढी रकम संलकन भयो । अहिले उक्त अभियान पनि हराएको छ । ‘सस्तो लोकप्रियताका लागि संघले नारा लगायो । अहिले आफैंले बिर्सियो,’ दिपायलका शंकर कठायतले भने, ‘र्‍याफ्टिङको नारा पनि यसैगरी हराएको छ ।’ सीमित व्यक्तिहरूको हालीमुहाली र संस्थाबीचको प्रतिस्पर्धाले मेलामहोत्सवमा नेतालेझैं पर्यटनका एजेन्डा उठाए पनि त्यसको कार्यान्वयनतर्फ भने कसैको ध्यान नगएको कठायतको आरोप छ ।


२०७५ मा डोटी चेम्बर अफ कमर्सले भारतीय तथा आन्तरिक पर्यटकलाई दिपायलबाट खप्तडसम्मको भ्रमण योजना ल्यायो । यही फागुन १ देखि चेम्बरले नै आयोजना गरेको प्रादेशिक महोत्सवमा दिपायलको आकाशमा प्याराग्लाइडिङ उडान गरायो । यस वर्ष महोत्सव अवधिभरका लागि पोखराबाट दुईवटा प्याराग्लाइडिङ ल्याइएको थियो । महोत्सवको समापनसँगै उक्त टोली पनि फर्किएको छ । चेम्बर सचिव तेज डुम्रेले डोटीमा प्याराग्लाइडिङ सुचारु गर्न स्थानीय तह र प्रदेश सरकारसँग छलफल भइरहेको बताए ।


निजी क्षेत्रले दर्शक र स्थानीयको आकर्षण बढाउन विभिन्न योजना अघि सार्ने तर नियमित सञ्चालन गर्नतर्फ भने ध्यान दिएको पाइँदैन । यस्ता योजनालाई लिएर स्थानीय र प्रदेश सरकार पनि हौसिने गरेका छन् । तर, निजी क्षेत्रलेझैं सरकारले समेत स्थायित्वका लागि ध्यान दिन नसकेको पर्यटन व्यवसायी तेज विक्रम शाहीको गुनासो छ ।


स्थानीय सरकार उदासीन

पर्यटकीय सम्भावना भएका सम्पदाहरूको एकीकृत प्रचारप्रसार र पूर्वाधार तयार गर्न नसक्दा डोटीको पर्यटन क्षेत्र ओझेलमा पर्दै आएको छ । पटक–पटक लगानीबारे स्थानीयस्तरमा छलफल हुने गरेको छ । तर कार्यान्वयन पक्ष फितलो छ । डोटीमा पर्यटकीय सम्भावना बोकेका खप्तड, तेलेलेक, डोटी दरबार वरपर रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनाबारे हालसम्म सरकारी पक्षबाट अध्ययनसमेत भएको छैन । उवासंघ महासचिव खड्काले भने, ‘खप्तडको ठोस विकास योजना अघि बढाएको भए प्रदेश राजधानी अन्यत्र सारिएको चोटमा मलमपट्टी हुन सक्थ्यो । तर, गफ बढी काम कम गर्ने प्रवृत्तिले समस्या पारेको छ ।’


पर्यटन क्षेत्रमा लगानी गर्न स्थानीय तहबीचमै समन्वय छैन । कतिपय सम्पदाहरूको संरक्षणका लागि स्थानीय तहहरूले संयुक्त लगानी गर्नुपर्ने सुझाउँछन् पर्यटन व्यवसायी अमर शाही । भू–स्वर्गका रूपमा परिचित खप्तड क्षेत्रमा पूर्वाधार विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकेको छैन । खप्तडको विकास गर्न दिपायल सिलगढी नगरपालिका तथा सायल र पूर्वीचौकी गाउँपालिकाबीच संयुक्त लगानीबारे आपसमै तालमेल नमिलेको उनको बुझाइ छ ।


ठूला पाटनहरू, तालतलैया, जडीबुटी र खर्कको जीवन्त जीवनशैली भेटिन्छ तेलेलेकमा । काफली शिखरको धार्मिक महत्त्व रहेको यो क्षेत्र शिखर नगरपालिका, जोरायल, बडीकेदार, केआईसिंह गाउँपालिकाको संगम क्षेत्र हो । चारवटै पािलकाहरूको संयुक्त पहल आवश्यक भए पनि हालसम्म शिखर नगरपालिकाले मात्र अग्रसरता देखाइरहेको छ । तेलेलेकमा पर्यटक भित्र्याउने प्रयास सुरु गरिएको भए पनि सबै पक्षबाट सहयोग पाउन नसकेको गुनासो गरे शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले ।

मोहन

Link copied successfully