‘जबसम्म आशा बाँकी छ, तबसम्म डीआर कंगो कहिल्यै हार्दैन’
What you should know
काठमाडौँ — कहिलेकाहीं एउटा खेलले ट्रफी जिताउँदैन, तर लाखौं थाकेका मनहरूलाई फेरि बाँच्ने कारण दिन्छ ।
हामी जुन कुनै देशको समर्थक हुन सक्छौं । हामीमध्ये कसैले अर्जेन्टिनालाई माया गरौंला, कसैले पोर्चुगललाई, कसैले ब्राजिललाई, त कसैले फ्रान्स, जर्मनी, स्पेन वा अमेरिकाजस्ता शक्तिशाली राष्ट्रहरूलाई ।
तर हिजो (बुधबार) रातिको खेल हेर्दा मेरो मन कुनै एउटा टोलीको समर्थक बनेर होइन, एउटा मानव बनेर भावुक भएँ ।
विश्वकपको मैदानमा ९० मिनेट फुटबल भयो । स्कोरबोर्डमा त्यो एउटा साधारण नतिजा हुनसक्छ । तर डीआर कंगोका लाखौं नागरिकका लागि त्यो केवल खेल थिएन । त्यो उनीहरूको जीवन, संघर्ष र आशाको कथा थियो ।
म अहिले संयुक्त राष्ट्रसंघको शान्तिमिसनअन्तर्गत डीआर कंगोमा कार्यरत छु । यहाँ बस्दा मैले यो देशलाई केवल युद्ध, हिंसा र राजनीतिक अस्थिरताका समाचारहरूबाट मात्र चिनेको छैन । मैले यहाँका जनताको पीडा, संघर्ष, धैर्य र अदम्य आशालाई नजिकबाट अनुभव गरेको छु ।
विश्वका धेरै मानिसहरूले डीआर कंगोलाई प्राकृतिक स्रोतले धनी तर समस्याले ग्रस्त राष्ट्रका रूपमा चिन्छन् । तर मैले यहाँ अर्को सत्य देखेको छु, अत्यन्त कठिन परिस्थितिमा पनि मुस्कुराउन सक्ने, पाहुनालाई सम्मान गर्न सक्ने र भोलिको आशा कहिल्यै नत्याग्ने जनता ।
पोर्चुगलविरुद्धको विश्वकप खेल त्यसैको एउटा जीवन्त उदाहरण थियो । कतै विश्वकपको चमक थियो, अत्यधुनिक रंगशाला थियो, करोडौं दर्शक थिए । तर कतै त्यस्ता गाउँहरू पनि छन्, जहाँ फुटबल प्रत्यक्ष हेर्न त परै जाओस्, खेलको समाचार सुन्न पनि संघर्ष गर्नुपर्थ्यो । यहाँका मानिसहरू रेडियोको आवाज, मोबाइलको कमजोर सिग्नल वा अरूको मुखबाट आउने समाचारको भरमा आफ्नो देशको नतिजा कुरिरहेका थिए । उनीहरूका लागि त्यो खेल मनोरञ्जन मात्र थिएन । त्यो उनीहरूको देशको सम्मान, अस्तित्व र आशाको प्रतीक थियो ।
हामी टेलिभिजनको पर्दामा खेल हेर्दै थियौं । तर त्यही खेल हेर्दै गरेका कतिपय मानिसहरू त्यस्ता पनि थिए, जसले वर्षौंदेखि शान्तिको अनुहार देखेका छैनन् । कतिपय परिवारले आफ्ना प्रियजन गुमाएका छन् । कतिपय बालबालिका बन्दुकको आवाज सुन्दै हुर्किएका छन् । कतिपय आमाहरू आज पनि आफ्नो छोराछोरीको सुरक्षित भविष्यको लागि प्रार्थना गरिरहेका छन् ।
युद्ध, हिंसा, गरिबी, रोग र अनगिन्ती पीडाले थिचिएको एउटा देशका लागि विश्व मञ्चमा उभिनु नै ठूलो कुरा हो । संसारका शक्तिशाली राष्ट्रहरूसँग काँधमा काँध मिलाएर खेल्नु नै कंगोका खेलाडीहरूको साहसको प्रमाण हो ।
जब डीआर कंगो मैदानमा संघर्ष गरिरहेको थियो, त्यो केवल ११ खेलाडीको मात्र संघर्ष थिएन । त्यो करोडौं सपनाहरूको संघर्ष थियो । त्यो एउटा देशको आत्मसम्मानको संघर्ष थियो । त्यो संसारलाई सुनाइएको एउटा सन्देश थियो, ‘हामी अझै जीवित छौं । हामी अझै हार मानेका छैनौं ।’
खेल सकिएपछि सडकहरूमा मानिसहरू नाचे । बाजा बजाए । झण्डा फहराए । एकअर्कालाई अँगालो हालेर खुसी बाँडे । त्यो दृश्य हेर्दा हामी मिसन आएकाहरू सबैको मन आनन्दित भयो । किनकि उनीहरू केवल फुटबलको नतिजामा खुसी भएका थिएनन् ।
उनीहरू खुसी थिए, धेरै समयपछि एउटा सुनौलो आशा महसुस गरेका थिए । किनभने संसारले उनीहरूलाई युद्ध, हिंसा र दुःखका समाचारबाट मात्र होइन, फुटबलको मैदानबाट पनि चिन्ने अवसर पाएको थियो ।
उनीहरू खुसी रहे, छोराछोरीले एक दिनका लागि भए पनि बन्दुकको आवाजभन्दा ठूलो जयजयकार सुन्ने अवसर पायो । त्यहाँ मनोरञ्जन मात्र थिएन, देशप्रेम थियो, आशा थियो अनि भरोसा । संसारले विगतमा पीडाको कथा भनेर चिनेको कंगोलाई आज फुटबलले चिनाएका उनीहरू खुसी थिए ।
खेल सकिएपछि हामी बस्ने फताकी क्षेत्रका फ्राबिक मुतुम्बो, जोनाथन कसोङ्गोसँग भेट भयो । वरिपरि मानिस भेला भएर खुसी मनाइरहेका थिए, गीत गाइरहेका थिए, झन्डा फहराइरहेका थिए । केही मानिस भने चुपचाप उभिएर उनीहरूको खुसी हेरिरहेका थिए । उनीहरू आँखा रसाएका थिए ।
मैले नजिक गएर मुतुम्बो सोधें, ‘आज सबै खुसी छन्, तर तपाईं किन भावुक देखिनुहुन्छ ?’ उनी केही क्षण मौन बसे । त्यसपछि गहिरो सास फेर्दै भने, ‘किनकि आजको खेलले मलाई मेरो देशमात्र होइन, मेरो जीवनको कथा सम्झाइदियो ।’
मैले फेरि सोधें, ‘कस्तो कथा ?’ उनको जवाफले म केही क्षण म मौन भएँ ।’
‘म सानो छँदा हाम्रो गाउँमा धेरै पटक गोली चलेको सुनेको छु । हामी रातभर डराएर बस्ने गर्थ्यौं । कतिपय साथीहरू आज मेरो साथमा छैनन् । कतिपय परिवारहरू बिछोडिएका छन् । युद्धले हामीबाट धेरै कुरा खोस्यो । तर आज मैदानमा हाम्रो झण्डा देख्दा, हाम्रो टोली संसारका ठूला राष्ट्रहरूसँग खेलिरहेको देख्दा पहिलो पटक लाग्यो, हामीलाई संसारले बिर्सेको छैन ।’
मैले सोधें, ‘त्यसैले भावुक हुनुभएको हो ?’ उनले मुस्कुराउँदै रसाएको आँखा पुछे अनि भने, ‘हो । आज मेरो छोराले पहिलो पटक मलाई सोध्यो, ‘बुवा, हाम्रो देश पनि बलियो छ ?’ मैले गर्वसाथ भन्न पाएँ ‘हो, हाम्रो देश बलियो छ ।’
केहीबेर रोकिएर जोनाथनले फेरि थपे, ‘हामीसँग धेरै पैसा छैन । धेरै सुविधा छैन । तर हामीसँग एउटा कुरा छ, आशा । जबसम्म आशा बाँकी छ, तबसम्म डीआर कंगो कहिल्यै हार्दैन ।’
उनको कुरा सुन्दा मैले महसुस गरें, हिजो मैदानमा केवल फुटबल खेलिएको थिएन । त्यहाँ एउटा राष्ट्रले आफ्नो पीडामाथि विजय हासिल गर्ने प्रयास गरिरहेको थियो ।
त्यहाँ करोडौं मानिसले केही क्षणका लागि भए पनि दुःख बिर्सेका थिए । लाखौं मानिसले छोराछोरीलाई आशाको कथा सुनाउने कारण पाएका थिए । कतै आमाहरू प्रार्थना गरिरहेका थिए । कतै बालबालिका उत्सुकताका साथ स्कोर सोधिरहेका थिए । कतै बुवाहरूले वर्षौंपछि आफ्नो देशको नाम गर्वका साथ उच्चारण गर्न पाएका थिए ।
मैदानमा खेलाडीहरू दौडिरहेका थिए, तर मैदानबाहिर करोडौं कंगोली जनताको मुटु पनि सँगै दौडिरहेको थियो ।
हामी नेपालीहरू पनि दुःख र संघर्षको मूल्य बुझ्ने जनता हौं । भूकम्पको पीडा भोगेका छौं । अभाव देखेका छौं । विदेशिनुको पीडा बुझेका छौं । त्यसैले कुनै संघर्षरत राष्ट्रका जनताको अनुहारमा मुस्कान देख्दा त्यो मुस्कान हाम्रो आफ्नै जस्तो लाग्छ ।
कहिलेकाहीं एउटा गोलभन्दा ठूलो कुरा हुन्छ, आशा । एउटा खेलभन्दा ठूलो कुरा हुन्छ, मानवताको विजय । हिजो कंगोका नागरिकले सायद ट्रफी जितेनन् । तर उनीहरूले संसारलाई एउटा अमूल्य सन्देश दिए, ‘हामी पीडित हुन सक्छौं, तर पराजित छैनौं । हामी घाइते हुन सक्छौं, तर समाप्त भएका छैनौं । हामी रोएका छौं, तर सपना देख्न छोडेका छैनौं । हामीले धेरै गुमाएका छौं, तर आशा गुमाएका छैनौं ।’
आज मेरो सम्मान केवल डीआर कंगोको टोलीप्रति मात्र होइन, यस देशका प्रत्येक आमाबुबा, बालबालिका, संघर्षरत परिवार र आशावादी नागरिकप्रति छ । किनकि दुःखले थिचिएको राष्ट्र जब मुस्कुराउँछ, त्यो केवल एउटा देशको खुसी हुँदैन । त्यो सम्पूर्ण मानवताको विजय हुन्छ ।
