तेक्वान्दो खेलाडी हुँदै अन्तर्राष्ट्रिय रेफ्री बनेकी काजल श्रेष्ठ भन्छिन्, ‘खेलाडी हुँदा केही आक्रामक हुनुपर्छ, रेफ्री हुँदा शान्त हुनुपर्छ ।’
What you should know
काठमाडौँ — ठ्याक्कै दिन थियो, ४ डिसेम्बर २०१९ । तेक्वान्दो खेलाडी काजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी थिइन् । त्यस क्षण उनले आँसु रोक्न सकिनन् । जति बेला खेल सकिएको थियो, पाकिस्तानी प्रतिद्वन्द्वीविरुद्ध उनी ५०–१४ ले अगाडि थिइन् । हेल्मेट फुकालिन् । ठूलो स्वरले चिच्याइन् । दर्शकदीर्घामा पनि खुसी नरहने कुरै थिएन । काजलले प्रशिक्षकसँग अँगालो हालिन् अनि देशको झण्डा बोकेर सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा एक फन्को लगाइन् ।
अनि फेरि एकपल्ट रोइन् । आखिरमा उनको त्यो यात्रा कहाँ सजिलो थियो र ? तेक्वान्दो खेल्नकै लागि उनले घरमा संघर्ष गर्नुपरेको थियो । पछि ४६ केजीमुनि तौल समूहमा दक्षिण एसियाकै अब्बल खेलाडी बनिन् । उनले सबैभन्दा पहिले जितेको स्वर्ण सन् २०१३ को नेकोस नेसनल तेक्वान्दो च्याम्पियनसिप थियो । अन्तिम भने सन् २०२२ को राष्ट्रिय खेलकुदको स्वर्ण । यसबीच तीन दर्जन जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिन्, त्यसमध्ये एक तिहाइमा जितेको पदक स्वर्ण थियो ।
सायद उनले योभन्दा बढी पदक जित्न सक्थिन् । तर धेरै वर्षको खेलले उनको शरीर त्यस्तो रहन छाडेको थियो, जस्तो कुनै समय हुने गर्थ्यो । यस्तोमा सन् २०२३ मा उनले संन्यास लिने निर्णय गरिन्, अजरबैजानमा सम्पन्न विश्व तेक्वान्दो च्याम्पियनसिपपछि । त्यसलगत्तै उनीसामु यो खेल छाडेर अन्यत्र लाग्ने अवसर थियो, तर उनले त्यस्तो गरिनन् । बरू भूमिका फेरिन् अनि बनिन्, रेफ्री र प्रशिक्षक । आफ्नो खेल जीवनको दोस्रो भाग के अगाडि बढेको थियो, काजलले त्यस्तै सफलता हात पार्न थालेकी थिइन्, जस्तो आफैं खेलाडी छँदा हात पार्ने गर्थिन् ।
०००
सन् २०१९ सम्म एक प्रकारले उनी गुमनाम जस्तै थिइन् । जतिबेला उनको परिचय मज्जाले खुल्यो, उनका कथा सार्वजनिक हुन थाले, धेरै पाठकले उनलाई चिन्न थाले । सामाजिक र राजनीतिक विषयमा काठमाडौं पोस्टमा लेख्ने गरेका दीपक थापाले काजलका कुरा सुनेपछि त्यसबारे पनि लेख्न प्रयास गरे । भलै, त्यो उनका लागि सजिलो थिएन । उनले लेखेका थिए, ‘काजलले तेक्वान्दोमा स्वर्ण पदक जितेपछि पोखेको मनको पीडाकै कारण मैले यो कथा बुनेको हुँ ।’
सागमा स्वर्ण जितेलगत्तै उनी आफ्नो जीवनलाई लिएर भन्थिन्, ‘हामी धनी थिएनौं, साँच्चै गरिब थियौं । बुवा खाडीतिर पसिना बगाइरहनुभएको थियो, हाम्रो परिवार पाल्नकै लागि । त्यसैले बुवा जहिल्यै मेरो मनमा हुने गर्नुहुन्छ ।’ खासमा काजलको परिवारलाई मध्यमवर्गको भन्दा हुन्छ । एक दशकअघि उनको परिवार सिन्धुपाल्चोक छाडेर काठमाडौं आएको थियो । काजल परिवारकी कान्छी थिइन् । उनको दाइ र दिदी छन् । उनका लागि दक्षिण एसियाली स्वर्ण जित्नु कुनै सपना साकार भएको भन्दा कम थिएन ।
अझ यो उपलब्धि २२ वर्ष उमेर छँदै हात परेको थियो, त्यसैले काजलका सपनाले ठूलो आकार लिन थालेको थियो । उनी भन्छिन्, ‘जति बेला मैले त्यो स्वर्णको खुसी मनाइरहेकी थिएँ, मेरो मनमा एसियाली खेलकुद, विश्व च्याम्पियनसिप र ओलम्पिकमा पदक जित्ने आकांक्षा पलाइसकेको थियो ।’ तर सन् २०२३ मा त्यस्तो दिन पनि आयो, जतिबेला उनीसामु खेल जीवनको अन्त्य थियो । अजरबैजानको बाकुको भ्रमण खेलाडीका रूपमा अन्तिम साबित भयो । लगातारको खेलले उनको शरीर गलाएको थयो ।
हातखुट्टामा दुखाई महसुस हुन थालेको थियो । यस्तोमा उनीसामु खेलाडी जीवनबाट संन्यास लिनुबाहेक अन्य विकल्प रहेन । उनी भन्छिन्, ‘मलाई लागेको थियो, अब म खेल्न सक्दिनँ । शरीरले मलाई भिडन्तमा ओर्लिन अनुमति दिइरहेको थिएन । यही नै मेरो खेलाडी जीवनमा पूर्णविराम थियो, यससँगै ठूलो प्रतियोगितामा पदक जित्ने सपना टुटेको थियो ।’ उनका लागि खेलाडी जीवन टुंगिँदा पनि तेक्वान्दो छाड्न भने सजिलो रहेन । गोंगबु तेक्वान्दो डोजाङको ढोकाको छेउमै रहने कुराकानी गर्ने क्रममा उनले भनिन्, ‘त्यसपछि मैले एउटा अर्को ठूलो निर्णय गरें, यही खेलमा रहने ।’
०००
त्यस डोजाङको खेल्ने मैदान सामान्य छ भन्दा हुन्छ । यसको ढोका सानो गल्लीमा खुल्छ । नयाँ म्याट छ, सँगै दुई जोर किक ब्याग, केही संख्यामा कोन र किक प्याड पनि । यही हो, उनको तेक्वान्दो डोजाङ । नेपाली तेक्वान्दोकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय रेफ्रीको दिन अचेल यस्तैमा बित्छ । उनलाई सहयोग गर्नेमा अगाडि छन्, पाँचौ डनको ब्ल्याकबेल्ट प्राप्त सरोज तामाङ । प्रत्येक दिन उनी भक्तपुरको जगातीबाट २० किलोमिटर यात्रा गरेर त्यहाँ पुग्छिन् ।
सूर्यविनायकको बाटो छिचोल्ने उनलाई कम्ती गाह्रो हुन्न । अनि आफ्नो प्रशिक्षणस्थलसम्म पुग्न उनलाई काठमाडौंका भीड पनि छल्नुपर्छ । दिउँसो ३ बजेतिर डोजाङ पुग्दा अलिकति थोकेकी महसुस गर्छिन् । जतिबेला उनले प्रशिक्षकको अवतार धारण गर्छिन्, उनको अनुहारमा त्यही शान्त, केही गरेर देखाउने साहस र सदाबहार मुस्कान फर्किन्छ । प्रशिक्षणका लागि तयार हुन्छिन् । जतिबेला उनी डोजाङमा प्रवेश गर्छिन्, स–साना कलिला खेलाडीमा पनि जोसजाँगर बढेको पाउँछिन् ।
एक बालकका बुवा प्रशिक्षक सरोजसँग प्रशिक्षणबारे सोधपुछ गरिरहेका थिए । तर ती बालक भने किक ब्याग र प्याडमा प्रहार गर्न खुबै आतुर देखिन्थे । काजल भन्छिन्, ‘आजै बिहान मात्रै यी बालक डोजाङसँग जोडिएका हुन् ।’ लगत्तै केही साधारण कलाबारे सिकाएर ती बालकलाई भोलि बिहान सबेरै आउन भन्छिन् । जतिबेला उनका शिष्य आउने समय हुन्छ, काजलको आँखा ढोकामै हुन्छ । एकपछि अर्को शिष्य आएयता उनको अनुहारमा खुसी देख्न सकिन्छ । केही बुवा आफ्ना छोराछोरीलाई मोटरसाइकलमा ल्याउँछन् ।
केही आमा भने पैदल हिँडेरै आफ्ना सन्तानलाई त्यहाँसम्म ल्याउँछन् । केही आमाको प्रश्न हुने गर्छ, ‘कति बेला प्रशिक्षण सकिने हो ?’ अनि प्रश्न के पनि हुने गर्छ भने कतै आफ्ना छोराछारी घाइते हुने त होइन ? काजलको काम ती सबै प्रश्नको उत्तर शान्तसँग दिने हुन्छ । उनी भन्छिन्, ‘अब ६ बजेतिर बच्चालाई लिन आउनुहोस्, केही पनि चिन्ता लिनुपर्दैन । अहिले उनीहरूलाई सिकाउने भनेकै सुरुआती कला मात्रै हो ।’ यति भन्दै गर्दा उनलाई पुराना आफ्नै दिनको सम्झना आउने गर्छ ।
०००
जतिबेला उनी कोटेश्वरस्थित सरस्वती उमाविमा पढ्थिन्, राम्रै विद्यार्थी थिइन् । कक्षा ८ मा हुँदा हो, काजलले पहिलो पटक तेक्वान्दोबारे सुनिन् । उनका केही साथी तेक्वान्दो सिक्ने जानेक्रममा थिए । उनले आमालाई यसबारे भनिन् । ती दिन सम्झेर उनी भन्छिन्, ‘आमाले सुरुमै पर्दैन भन्नुभयो ।’ तर उनी कहाँ त्यसै हार मान्ने खालकी थिइन् र ? आमालाई फकाउन के मात्र गरिनन् ? तर सबै प्रयास सफल भएन, रोइन्, खानै छाडिन् । तब उनका दाइले बहिनीको समर्थनमा बोले । आमालाई पनि हुन्छ भन्न करै लाग्यो ।
सुरु भयो, कोटेश्वर तेक्वान्दो डोजाङमा प्रशिक्षण । ‘पहिलो दिनमै मैले होसै हराउने गरेर कुटाइ खाएकी थिएँ,’ काजल भन्छिन्, ‘त्यो दिन म रोएरै घर फर्कें । तर त्यसको भोलिपल्ट म फेरि प्रशिक्षणका लागि फर्कें, अझ कडा मिहिनेत गरें ।’ यो मिहिनेतले रंग ल्याउन धेरै समय कुर्नुपरेन । सन् २०१४ मा उनी ताइवान पुगिन्, नेपालको प्रतिनिधित्व गर्दै । अवसर थियो, वर्ल्ड जुनियर तेक्वान्दो च्याम्पियनसिप । अब एक प्रकारले भन्दा काजलको एसियाली खेलकुद र ओलम्पिकको सपना मरेको छैन ।
बाटो फेरिएको छ, ती ठूला प्रतियागितामा रेफ्री वा प्रशिक्षक भएर सहभागी हुने । अझ भन्ने हो भने उनी त विश्व तेक्वान्दोकी औपचारिक मान्यताप्राप्त रेफ्री त भइसकेकी छन् नै, प्रशिक्षकका रूपमा पनि आफूलाई स्थापित गर्दै छिन् । सन् २०१८ मा उनी राष्ट्रिय स्तरकी रेफ्री थिइन् । सन् २०२३ को डिसेम्बर आइपुग्दा दक्षिण कोरियामा भएको रेफ्री सेमिनारमा भाग लिइन् र त्यहाँ उत्तीर्ण पनि भइन् ।
त्यतिबेला उनको उमेर २६ वर्ष थियो । उनी नेपालकी कान्छी अन्तर्राष्ट्रिय रेफ्री भएकी थिइन् । अझ उनी तेक्वान्दोका विधा ग्यारोगी र पुम्सेमा रेफ्री हुने पहिलो नेपाली महिला पनि हुन् । सन् २०२५ को जुलाईमा अमेरिकाको क्यालिफोर्नियामा भएको कुकिवान वर्ल्ड तेक्वान्दो हानमाडाङ उत्कृष्ट रेफ्री घोषित भइन् । त्यही वर्षको मार्चमा अस्ट्रेलियाको सिड्नीमा भएको ओसियाना तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट रेफ्री चुनिइन् । पछिल्लो महिना मात्रै उनले उज्वेकिस्तानमा भएको वर्ल्ड तेक्वान्दो जुनियनर च्याम्पियनसिपमा पनि रेफ्रीको भूमिका निभाइन् ।
काजल भन्छिन्, ‘विश्व जुनियर च्याम्पियनसिपमा रेफ्रीको भूमिकामा रहँदा मलाई पुराना दिनको सम्झना भइहाल्यो । सन् २०१४ मा यही प्रतियोगितामा मैले भाग एउटी किशोरीका रूपमा लिएकी थिएँ । अहिले म रेफ्री भएकी छु । समय कति चाँडै बित्दो रहेछ, थाहै नहुने ।’ सबथोक राम्रैसँगै अगाडि बढ्ने हो भने त्यो दिन पनि टाढा हुने छैन, जति बेला उनी एसियाली खेलकुद र ओलम्पिकमा रेफ्रीको भूमिकामा हुने छिन् । उनलाई लाग्छ, जनवरीमा काजकिस्तानमा भएको वर्ल्ड तेक्वान्दो इन्टरनेसनल रेफ्री सेलेक्सन र ट्रेनिङ क्याम्पमा उनले राम्रै गरेकी थिइन् ।
यो त्यही अवसर हो, जसमा सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक र पारालिम्पिकलाई रेफ्री छनोटको बाटो खुल्न सक्नेछ । काजललाई के पनि लाग्छ भने रेफ्री हुने क्रममा उनले धेरै नयाँ सिकेकी छन् । उनी भन्छिन्, ‘खेलाडी हुँदा केही आक्रामक हुनुपर्छ, तर रेफ्री हुँदा शान्त हुनुपर्छ । रेफ्रीसामु भुल गर्ने छुट हुन्न । नत्र कसैको कथामा खलनायक भएर प्रस्तुत हुनुपर्ने हुन्छ ।’ तेक्वान्दोकै मायाले अहिले उनी खेलाडी नहुँदा पनि रेफ्रीका रूपमा यो खेलमा आफूलाई समर्पित गरिरहेकी छन् ।
उनी भन्छिन्, ‘यदि मैले ओलम्पिकमा रेफ्री हुने अवसर पाएँ भने यो ठूलै उपलब्धि हुनेछ । प्रशिक्षक पनि हुन पाएँ भने अझ राम्रो ।’
०००
काजललाई केही वर्षअगाडि प्रशिक्षक भएको सम्झना छ । भयो के भन्दा जति बेला उनको एसईईको जाँच सकिएको थियो, उनी भक्तपुरमा बस्थिन् । ‘मैले १० कक्षा पूरा गर्नेवित्तिकै छरछिमेकीका बच्चालाई तेक्वान्दो सिकाउन मलाई प्रशिक्षक राख्नु भनेकी थिएँ । मैले यो काम केही कमाउन गरेकी थिएँ, कोटेश्वरको डोजाङसम्म जान कसैसँग पैसा माग्न नपरोस् भनेर । मलाई लागेको थियो, आमासँग धेरै पैसा माग्नुहुन्न । एउटा स्कुलमा तेक्वान्दो सिकाउने क्रममा मैले एक महिनाको २ हजार कमाएको अझै सम्झना छ,’ उनले सुनाइन् ।
सन् २०१६ मा उनी आर्मी क्लबसँग आबद्ध भइन् । त्यति बेला उनको महिनाको आम्दानी २० देखि २५ हजार रुपैयाँ पुगेको थियो । ‘यसले मलाई धेरै सजिलो बनायो,’ उनी भन्छिन् । आफ्नो तौल समूहमा सबैभन्दा अब्बल बनेर राष्ट्रिय टिममा परेपछि त दिनहरू झन राम्रो हुन थाले । उनी भन्छिन्, ‘एउटा खेलाडीका रूपमा म आधा बाटोमै रोकिएकी थिएँ । तर मसँग भएको कौशलता नयाँ पुस्तासँग साट्न चाहन्छु । म चाहन्छु, उनीहरू पनि विश्व च्याम्पियन बनोस्, विश्व मञ्चमा नेपालको झण्डा फहराउन सकोस् ।’
प्रशिक्षकका रूपमा उनले केही प्रतिभाशाली खेलाडी पनि उत्पादन गरिसकेकी छिन् भन्दा हुन्छ । उनी पछिल्लो समय बागमती प्रदेशकी प्रशिक्षक थिइन् । उनको टिमले केही साताअघि पहिलो झापा राष्ट्रिय तेक्वान्दो ग्यारोगी र पुम्से च्याम्पियनसिपमा तेस्रो भएको थियो । उनी भन्छिन्, ‘तेक्वान्दोको आफ्नै रौनकता छ । पूरा विश्वमा यसप्रति सम्मान छ ।’ काजल र सरोजले स–साना बच्चालाई मात्र प्रशिक्षण गर्दैनन् । उनीहरूले विहान ६ बजेदेखि साँझ ७ बजेसम्म किशोरकिशोरीलाई पनि प्रशिक्षण दिन्छन् ।
काजलको अनुभवमा अधिकांश अभिभावक आफ्ना सन्तानले तेक्वान्दो सिकोस् भन्ने किन चाहन्छन् भने यसले खेलाडीलाई अनुशासित बनाउँछ । अनि अब त तेक्वान्दो खेलेर यसलाई करियर पनि त बनाउन सकिन्छ । ‘खेलकुदमा लाग्ने हो भने धेरै विकल्प तयार हुन्छ । म त चाहन्छु, मेरो सहयोगमा बढीभन्दा बढी तेक्वान्दो खेलाडीले यो तथ्य बुझोस् ।’
