जिल्ला खेलकुद विकास समिति धनकुटाको पहलमा मंगलबार आयोजित सर्वपक्षीय भेलाले रंगशालाको मर्मत–सम्भार, संरक्षण र स्तरोन्नतिका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
धनकुटा — धनकुटा सदरमुकामको मध्यभागमा रहेको राणाकालीन ऐतिहासिक रंगशाला जीर्ण बन्दै गएपछि संरक्षण र स्तरोन्नतिका लागि स्थानीय तहमा चासो बढेको छ।
जिल्ला खेलकुद विकास समिति धनकुटाको पहलमा मंगलबार आयोजित सर्वपक्षीय भेलाले रंगशालाको मर्मत–सम्भार, संरक्षण र स्तरोन्नतिका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । रंगशालाको मैदान अहिले क्षतिग्रस्त छ। पहिरोका कारण, मैदान, प्याराफिट भत्किएको छ भने तारबारसमेत जीर्ण बनेको छ।
जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज चाम्लिङ राईका अनुसार हालको अवस्थामा रंगशालामा कुनै पनि खेलका अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न कठिन भइरहेको छ। उनले खेलबाहेकका विभिन्न गतिविधि—जस्तै मेला, महोत्सव, सभा तथा सम्मेलन—का कारण मैदान थप बिग्रँदै गएको बताए।
'पहिलो प्राथमिकता खेलकुद नै हो। खेलबाहेकका गतिविधि नियन्त्रण नगरे मैदान जोगाउन सकिँदैन,' अध्यक्ष राईले भने। भेलामा फुटबल, भलिबल, एथलेटिक्सलगायत विभिन्न विधाका खेलाडी, प्रशिक्षक, पूर्वखेलाडी, स्थानीय बासिन्दा तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले रंगशालाको दीगो संरक्षण, व्यवस्थित सञ्चालन र स्तरोन्नतिका लागि स्पष्ट नीति तथा योजना आवश्यक रहेको धारणा राखेका थिए।
रंगशालाको संरक्षण र विकासका लागि १३ सदस्यीय निर्देशन समिति समेत गठन गरिएको छ। अध्यक्ष राईकै संयोजकत्वमा बनेको समितिले मैदानको वर्तमान अवस्थाको मूल्यांकन गरी पुनर्निर्माण, व्यवस्थापन र संरक्षणसम्बन्धी योजना तयार पारेर सम्बन्धित निकायसमक्ष पेस गर्ने जनाएको छ।
स्थानीय सरोकारवालाले समयमै आवश्यक पहल नगरे ऐतिहासिक महत्त्व बोकेको धनकुटा रंगशाला पूर्णरूपमा प्रयोगविहीन हुने जोखिम रहेको बताएका छन् ।
