अब युवाले नेतृत्व लिनैपर्छ

देशमा परिवर्तन गर्न एउटा राम्रो अवसर आएको छ । आशा गरौं, यो सबै पाठ सिकेर आउने दिनमा हाम्रो खेलकुदलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नेछ ।

भाद्र २९, २०८२

काठमाडौं– शरद भेषावकर राष्ट्रिय क्रिकेट खेलाडी यो जेन–जीको आन्दोलनले हामी सबैलाई प्रेरणा दिएको छ । देशमा परिवर्तन ल्याउनु छ भने हामी युवा आफै नै उभिनुपर्छ । त्यो मामिलामा जेन–जीले जसरी अगाडि आएर नेतृत्व लियो, त्यसले धेरैमा आशा थपेको छ, उर्जा दिएको छ । हाम्रो देशमा परिवर्तन आउँछ भन्ने एउटा बलियो आशा जागेको छ ।

विगतमा नेता तथा मन्त्रीहरूले के गरेनन् जस्तो लाग्छ भने, त्यो स्पष्ट नै छ । भ्रष्टाचारको मामला पनि कोही चोखो देखिएनन् । नेपाली खेलकुदमा स्किल नभएको र प्रतिभा नभएको होइन, सबै छ खेलकुदमा । तर खेलकुदलाई जुन नजरियाले हेर्ने गरिन्थ्यो, त्यही अनुसार मात्र नतिजा आइरहेको छ ।

यो सबै छर्लङ्ग जस्तै छ । ओलम्पिकसहितका ठूला खेलकुद प्रतियोगितामा हामीले केही गर्न सकिरहेका छैनौं । फुटबल र क्रिकेटसहितका खेलमा जुन आउनुपर्ने नतिजा थियो, त्यो आइरहेको थिएन । त्यही भएर हाम्रो कहीं न कहीं कमजोरी छ भनेर देखाइरहेको छ । एउटा सिस्टममा नेपाली खेलकुद चलेको भए यो अवस्था हुँदैनथ्यो ।

त्यसैले अब खेलकुदमा पनि युवाहरूले नेतृत्व लिनैपर्छ । खेलकुद मन्त्रीमा पनि र राष्ट्रिय खेलकुद परिषद्मा पनि ठूलै परिवर्तन चाहिएको छ । यो सबै परिवर्तन गर्न एउटा राम्रो अवसर आएको छ । आशा गरौं, यो सबै पाठ सिकेर आउने दिनमा खेलकुदलाई प्राथमिकतामा राखेर हाम्रो सरकार अगाडि बढ्ने छ भन्ने विश्वास लिएको छु ।

खेलकुदले एउटा स्वस्थ वातावरण बनाउँछ । सबै क्षेत्रमा स्पोर्टिङ स्पिरिट चाहिन्छ भनेर उदाहरण बनाउँदै खेलकुदलाई प्राथमिकताको क्षेत्रमा राख्छ भन्ने हामी खेलक्षेत्रले आस गरेका छौं । 

काठमाडौंका विभिन्न प्रभावित भएको क्षेत्रमा गएर हेरें, सामान्य स्थिति कतै छैन । यो स्थितिबाट हामी पहिला पनि अगाडि बढेका थियौं । भूकम्पका बेलामा पनि सबैतिर यस्तै भग्नावेशहरू थिए ।

त्यही भएर यस्ता चुनौती हामीले सामना नगरेका होइनौं । सकारात्मक भएर सोच्दा यो स्थितिमा हामीले आफ्नो मनोबल उच्च राख्नुपर्ने हुन्छ । जे हुन्छ राम्रैका लागि हुन्छ । एउटा सानो होइन, ठूलो दृश्यबाट हेर्दा राम्रो हुन्छ जस्तो लाग्छ । त्यो गर्दा उत्साह धेरै आउँछ ।

जुन विध्वंश भएको छ, त्यसको ‘रिकभरी’ हुन हामी एकअर्कासँग सहकार्य गर्दै अगाडि बढ्यौं भने चाँडै नै हुन्छ । अझ राम्रो र बलियो हिसाबमा हामी अगाडि आउन सक्छौं जस्तो लाग्छ । 

हामी साथीहरू मिलेर कालोपुलस्थित जलेको प्रहरी बिटमा सरसफाइ गर्‍यौं । अब हामी रातो पुलमा पनि गरिरहेका छौं । आफ्नो टोल र क्षेत्रबाटै पुनर्निर्माणको काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । सबैको हात यसरी जुट्यो भने चाँडै नै हामी ‘रिकभर’ हुन सक्छौं ।

Link copied successfully