काठमाडौं — बायर लेभरकुजनले जर्मन बुन्डेसलिगामा शुक्रबार नयाँ सिजनको पहिलो जित निकालेको छ । उसले लयमा रहेको इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–१ ले हरायो । यो जितपछि लेभरकुजनको तीन खेलबाट चार अंक भएको छ ।
फ्रान्कफर्टको भने यो पहिलो हार हो । हारका बाबजुद टिम छ अंकसहित तेस्रो स्थानमा रहेको छ । लेभरकुजनका लागि एलेहान्द्रो ग्रिमाल्डोले फ्रि–किकबाट दुई गोल गरे ।
यससँगै प्रशिक्षक कास्पर ह्युलमन्डले विजयी सुरुआत गरेका छन् । लेभरकुजनले यसअघि प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो । खेलको अन्त्यमा लेभरकुजन नौ खेलाडीमा सीमित भएको थियो ।
शुक्रबार युरोपमा भएका अन्य खेलमा स्पेनी ला लिगामा सेभिया र एल्चेले २–२ को बराबरी खेले भने फ्रान्सेली लिग वानमा मार्सेले लोरेन्टलाई ४–० ले हरायो ।
