सर्वाधिक महत्त्वको खेल खेल्दै नेपाली महिला टिम

एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार नेपालले आयोजक उज्वेकिस्तानको सामना गर्ने, विजेता अर्को वर्ष अस्ट्रेलियामा एसिया कप खेल्ने

असार २१, २०८२

नायक पौडेल

Nepali women's team playing the most important game

तास्केन्द (उज्वेकिस्तान) — नेपालले एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानको सामना गर्दै छ । यो यस्तो खेल हुनेछ, जसको विजेता अर्को वर्ष एसिया कपका लागि अस्ट्रेलियाको टिकट काट्नेछ ।

व्यावहारिक भएर कुरा गर्दा यी दुई देशको फुटबल विकास र विस्तारमा धेरै फरक छ । पछिल्लो समय उज्वेकिस्तान कम्तीमा एसियाली फुटबलको एउटा शक्ति बनेको छ । 

त्यसैले त गत वर्ष पेरिस ओलम्पिकमा उज्वेकिस्तानले डेब्यु मात्र गरेन, टोली सन् २०२६ मा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । उज्वेकिस्तान आइपुग्नु मात्र पर्छ, यहाँ फुटबलले गरेको विकास सजिलै महसुस गर्न सकिन्छ, प्रत्यक्ष देख्न सकिन्छ । चाहेजस्तो सुविधा, युवा एकेडेमी, व्यावसासिक सहयोगी । उज्वेकिस्तानी फुटबलमा अहिले के मात्र छैन र ? 

यसले उज्वेकिस्तानमा महिला फुटबलको स्तर बढाउन पनि मदत गरेको छ । महिला फुटबलले पनि सबैखाले सुविधा पाएर आफूलाई अगाडि बढाएको छ । उज्वेकिस्तानी फुटबल संघका प्राविधिक निर्देशक रहेका गाइ काला भन्छन्, ‘फुटबलमा लगानीविना नतिजा अपेक्षा नगरे हुन्छ ।’ उनी बेल्जियमका हुन् । यूईएफएका इन्स्ट्रक्टर रहेका उनीसँग यूईएफए प्रो लाइसेन्स पनि छ । 

गत वर्षको फेब्रवरीमा उनले जिम्मेवारी पाएका थिए र त्यसयता उज्वेकिस्तानी फुटबलले अभुतपूर्व सफलता देखेको छ । उनी भन्छन्, ‘फुटबल जहाँ पनि खेलिन्छ । यस्तोमा विश्वकपमा छनोट हुनु सजिलो छैन । अरूभन्दा त राम्रो हुनु नै पर्छ । उज्वेकिस्तानबारे भन्ने हो भने पछिल्लो सफलता सबै लगातारको कडा मिहिनेत, भौतिक र मानव संशाधनमा ठूलो लगानीकै कारण सम्भव भएको हो । यो काम म उज्वेकिस्तान आउनु अगाडि नै सुरु भइसकेको थियो ।’

उज्वेकिस्तानको फुटबल संस्कृति आफैंमा पुरानो छ, आखिरमा यो सोभियत संघबाट टुक्रिएको देश हो । सबैलाई थाहा छ, तत्कालीन सोभियत संघ आफैंमा फुटबल शक्ति थियो । त्यहाँ महिला फुटबल सुरु भएको भने सन् ९० को दशकतिर हो । सांस्कृतिक र लैंगिक विभेदका बावजुत पनि उज्वेकिस्तानको महिला फुटबलले प्रगति गरेको छ नै । 

सन् १९९९ मा नेपाल र उज्वेकिस्तान पहिलो पटक एक आपसमा भिडेका थिए । अवसर थियो १२ औं संस्करणको एएफसी वुमेन्स च्याम्पियनसिप । त्यति बेला यो प्रतियोगिता फिलिपिन्समा भएको थियो । यसको पुरानो नाम थियो, एएफसी वुमेन्स एसियन कप । नोभेम्बर १६ को त्यो खेलमा नेपाल ६–१ ले पराजित रह्यो । तर पेमा डोल्मा लामा देशका लागि पहिलो ऐतिहासिक गोल गर्न सफल रहिन् । 

त्यसको साढे एक दशकभन्दा बढी समयपछि अहिले नेपाली टिम उज्वेकिस्तानमै छ । यहाँ महिला फुटबलले गरेको प्रगति देखेर प्रभावित हुने अवसर पाएको छ । नेपाली टिमकी नयाँ कप्तान तथा उच्च गोलकर्ता सावित्रा भण्डारी भन्छिन्, ‘कोही पनि त्यही बेला मात्र फुटबलको माथिल्लो स्तरमा पुग्न सक्छ, जति बेला भौतिक पूर्वाधार र मानव सशाधनमा पर्याप्त लगानी हुन्छ ।’

उनी आफैंलाई पनि युरोपमा खेलिसकेपछि के अनुभव छ विश्व फुटबलमा प्रभुत्व जमाउन यो महादेशले गरेको काम पनि त यही हो । उनी के मान्छिन् भने महिला फुटबल अन्तर्राष्ट्रिय स्तरमा अझै संघर्षरत छ । उनी भन्छिन्, ‘युरोपमै पनि ठूला क्लबले मात्र महिला फुटबलमा पर्याप्त दर्शक पाउने हो ।’ यति भन्दाभन्दै नेपालमा महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेल्दा समर्थकको कुनै समस्या हुन्न । 

यति कुराले ‘साम्बा’ असाध्यै खुसी हुन्छिन् । भर्खरै अबुधाबी कन्ट्री क्लबका लागि यूएईको महिला फुटबल लिगको उपाधि जितेर फर्केकी रेखा पौडेल पनि खुसी छिन्, जसरी केही एसियाली देशले यो क्षेत्रमा लगानी गरिरहेका छन् । उनी भन्छिन्, ‘यूएईमा महिला फुटबल समर्थक धेरै छैनन् । यो कुरामा नेपाल भाग्यमानी छ, तर नेपाली महिला फुटबलमा लगानी छैन अनि दीर्घकालीन योजनाको अभाव छ ।’

तिनै उज्वेक प्राविधिक निर्देशक काला नेपाली महिला फुटबलले गरेको प्रगतिबाट खुसी छन् । अझ बढी अचम्म मानिरहेका छन् । उनले मिली रंगशालामा आफैंले नेपालको खेल हेरेका छन् । उनी भन्छन्, ‘केही नेपाली खेलाडीको प्रदर्शन असाध्यै राम्रो छ । यदि सम्भव हुने हो भने केही खेलाडीलाई म उज्वेकिस्तानको टिममै राख्न चाहन्थें ।’

काला थप्छन्, ‘नेपालले यी खेलाडीलाई फुटबलमा कायम राख्न सक्नुपर्छ र सक्दो बढी सुविधा दिनुपर्छ । नेपालले मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्ड जत्तिको प्रशिक्षकलाई नियुक्त गर्नु राम्रो हो । उनमा फुटबल क्षेत्रका बाक्लो अनुभव छ । उनमा स्पष्ट दिशानिर्देश छ ।’ 

यसबीच तिनै प्रशिक्षक डे वाइल्ड नेपाली महिला फुटबल समर्थकलाई भन्न चाहन्छन्, नेपालको एसिया कप खेल्ने सम्भावनालाई लिएर सकारात्मक रहनुपर्छ । उनी पनि भन्छन्, ‘नेपालको फुटबल संघले महिला फुटबलमा लगानी बढाउनु नै पर्छ । दीर्घकालीन योजना पनि चाहिन्छ । साँच्चै नेपाली महिला फुटबल टिमको सम्भावना व्यापक छ ।’ दक्षिण एसियाकै उत्कृष्ट खेलाडी सजिलै भन्न मिल्ने सावित्रा पनि मान्छिन्, डे वाइल्ड नेपाली महिला फुटबलमा भित्रिनु सुखद हो, अझ यसलाई सकारात्मकभन्दा हुन्छ । 

सावित्राको यो मत पनि छ, ‘यत्तिकैले केही पनि पुग्दैन, प्रशिक्षकले मात्र एक्लै केही गर्न सक्ने होइनन् । प्रशिक्षकलाई पनि पर्याप्त स्रोत र साधन चाहिन्छ । यस्तो भयो भने मात्र नेपाली महिला फुटबलमा अझ बढी खेलाडी देखिने छन् ।’ साह्रै खुसीको कुरा के छ भने अभाव र अपर्याप्त साधन स्रोतबीच पनि नेपाली महिला खेलाडीलाई अगाडि बढ्न रोकावट छैन । 

तिनै सावित्रा भन्छिन्, ‘हामी आफ्नो देशका लागि शतप्रतिशत दिएर खेल्नेछौं । उज्वेकिस्तानविरुद्ध हुने निर्णायक खेल कति महत्त्वपूर्ण छ, त्यो सबैलाई थाहा छ । हामीले उज्वेकिस्तानविरुद्ध राम्रो खेल्ने प्रयासमा हुनेछौं । नेपाली टिम एकातर्फ दबाबमा छ, अर्कोतर्फ उत्प्रेरित पनि छ । बंगलादेशलले म्यानमारलाई हराएरको उदाहरण हाम्रोसामु छ । हामी पनि उनीहरूकै जस्तो उपलब्धि चुम्न चाहन्छौं ।’

छनोटको समूह ‘एफ’ मा शनिबार लाओस र श्रीलंकाबीच खेल हुनेछ । त्यसपछि नेपाल र उज्वेकिस्तान भिड्ने छन् । दुवै टिमको समान ६ अंकमात्र छैन, गोल अन्तर पनि समान नै छ । त्यसैले हुन सक्छ, विजयी टिमको निर्णयका लागि पेनाल्टी शुटआउट पनि आवश्यक पर्नेछ । एउटा तथ्य भने तय छ, समग्र नेपाली फुटबल इतिहासमा एउटा सर्वाधिक महत्त्वको खेल शनिबार हुँदै छ ।

नायक

Link copied successfully