नेपालले शनिबार समूहको अन्तिम खेलमा आयोजक उज्वेकिस्तानको सामना गर्ने
तास्केन्द, उज्वेकिस्तान — नेपालले एएफसी वुमेन्स एसिया कप छनोटमा बुधबार श्रीलंकालाई ८–० ले पन्छाएर दोस्रो जित दर्ता गरेको छ । नेपालले गीता रानाले सातौं मिनेटमा गरेको गोलको मदतमा अग्रता लिएको थियो । रेफ्रीले पहिलो हाफ सकिएको संकेत गर्दासम्म ४ गोलको अग्रता बनाइसकेको थियो ।
यसमा सावित्रा भण्डारीलाई धन्यबाद दिनुपर्नेछ । उनले ह्याट्रिक गरिन् । नेपाली टोलीकी नयाँ कप्तान सावित्राको यो लगातार दोस्रो ह्याट्रिक पनि हो ।
लाओसविरुद्ध छनोटकै पहिलो खेलमा मात्रै सावित्रालाई कप्तानी जिम्मेवारी दिइएको थियो । बुधबार श्रीलंकालाई हराएपछि तिनै सावित्राले भनिन्, ‘आजको जित आफैंमा उत्कृष्ट रह्यो । यसका लागि म आफ्ना सबै खेलाडीलाई धन्यवाद दिन चाहन्छु ।’ सावित्राले २० औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन् ।
नेपाल दुई गोलले अगाडि रह्यो । उनले ४२ औं मिनेटमा दोस्रो गोल गरिन् । खेलले ३६ औं मिनेटमा सावित्राले फ्रिकिकबाट गरेको गोलले मान्यता पाएको भए उनको ह्याट्रिक चाँडै पूरा हुने थियो । त्यसबारे उनको प्रतिक्रिया थियो, ‘त्यो गोलले किन मान्यता पाएन, त्यो मलाई थाहा भएन । रेफ्रीको निर्णय मैले राम्रोसँग बुझ्न सकिनँ ।’
तर, सावित्राले पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यो नेपालका लागि उनको ६४ औं अन्तर्राष्ट्रिय गोल रह्यो । नेपाली टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले भने, ‘यो जित साँच्चै राम्रो रह्यो । टिमभित्रको आन्तरिक समस्या सुल्झाउने हो भने हामीले अझ धेरै उपलब्धि चुम्न सक्छौं ।’
लाओसविरुद्धको खेलबाट डे वाइल्डले एकै परिवर्तन मात्र गरेको थियो । सरु लिम्बूको स्थानमा प्रीति राईलाई मौका दिइएको थियो । पूरा खेल नेपालकै नियन्त्रणमा रह्यो । गोलपोस्टको जिम्मा पाएकी अञ्जना रानागमरले विरलै मात्र बल छुने मौका पाइन् । अर्कोतर्फ यसको ठीक विपरीत श्रीलंकाली गोलरक्षक साकुरा सेवान्डी शुभासिंघा असाध्यै व्यस्त रहिन् ।
उनले केही बचाउ नगरेको भए नेपालको जितको अन्तर अझ ठूलो हुने थियो । दोस्रो हाफमा गीताले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरिन् । निशा थोकरले ६२ र रेखा पौडेलले ७८ औं मिनेटमा गोल थपेपछि नेपाल ७ गोलले अगाडि रह्यो । सावित्राको थप प्रतिक्रिया थियो, ‘हामीले सेटपिस सँगै आक्रामक फुटबलको अभ्यास गरेका थियौं र त्यसको नतिजा पनि पाइरहेका छौं ।’
उनले नयाँ प्रशिक्षकको रणनीतिअनुसार आफूलाई अभ्यस्त राख्ने प्रयासमा रहेको पनि बताइन् । खेलको आठौं गोल भने पूजा रानाको नाममा रह्यो । यो ८८ औं मिनेटमा सम्भव भएको थियो । त्यतिबेला नेपाल १० खेलाडीमा सीमति बनेको थियो । किनभने प्रीति राई चोट बोक्दै खेल छाड्न बाध्य रहिन् । नेपालले ५ सब्स्टिच्युट प्रयोग गरिसकेको हुनाले एक खेलाडी कममै बाँकी समय खेल्नुपरेको थियो ।
कप्तान सावित्राको निचोड थियो, ‘यो जितले हामी उत्प्रेरित भएका छौं । अब यो शक्तिलाई हामीले उज्वेकिस्तानविरुद्धको खेलमा देखाउनुपर्नेछ ।’ नेपालले शनिबार हुने समूहको अन्तिम खेलमा आयोजक उज्वेकिस्तानको सामना गर्नेछ । यही खेलको नतिजाले यो समूहबाट अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि टिम छनोट हुनेछ ।
