लाओसविरुद्ध ९–० को फराकिलो जित हात पार्दा नेपाली टोलीको कप्तान बनेकी सावित्रा भण्डारी ह्याट्रिक गर्न सफल
उज्वेकिस्तान — नेपाली महिला राष्ट्रिय फुटबल टिमले आफ्नो सयौं खेललाई आइतबार धेरै अर्थमा सम्झनलायक बनाएको छ । यो रह्यो, लाओसमाथि ९–० जित । यो नेपालका लागि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा पहिलो खेल पनि थियो । यससँगै नेपालले एसिया कप छनोटको समूह ‘एफ’ मा विजयी सुरुआत लिएको छ ।
‘यो हाम्रा लागि निकै ठूलो जित हो,’ टिमकी मुख्य खेलाडी रेनुका नगरकोटेले भनिन्, ‘अबका खेलका लागि यो नतिजा प्रेरणादायी रहनेछ । नयाँ प्रशिक्षक आएयता हामीले नयाँ शैलीमा खेल्यौं र यो सफल पनि भएको छ ।’ उनी आफैं भने ९ गोल गर्ने खेलाडी सूचीमा रहिनन् । तर प्रशिक्षक डे वाइल्डका लागि उनी नै सबैभन्दा प्रभावशाली खेलाडी रहिन् ।
डे वाइल्डले कान्तिपुरसँग भने, ‘रेनुकाको खेल गजब रह्यो ।’ नेपालले खेलको १२ औं मिनेटमा अग्रता लिएको थियो, जतिबेला अनिता बस्नेतले गोलको खाता खोलिन् । त्यसयता लाओसले आफ्नो संघर्ष जारी राख्यो भने नेपालले दबाब सिर्जना गर्न बिर्सेन । प्रशिक्षक डे वाइल्डलाई मनपर्ने खेल भनेकै यस्तै हो । रेनुकाले पनि थपिन्, ‘लाओसविरुद्ध हामीले मज्जाले आक्रामक फुटबल खेल्यौं ।’
नेपाली खेलाडीका लागि खुसी के तथ्यमा पनि रह्यो भने यो खेल हेर्न एक दर्जन जति समर्थक तास्केन्दको रंगशालामा उपस्थित थिए । उनीहरूले मुख्य प्रशिक्षक डे वाइल्डलाई बधाई दिन बिर्सेनन् । ती समर्थकलाई उनको फुटबल खेलाउने शैली पनि मनपरेको थियो । पहिलो हाफ सकिन एकै मिनेट अगाडि मात्र सावित्रा भण्डारीले टिमका लागि दोस्रो गोल गरिन् । उनी टोलीको कप्तानी भूमिकामा थिइन् ।
दोस्रो हाफमा पनि गोलको वर्षा नै भयो । नेपालका लागि आफ्नो ५० औं खेल खेलिरहेकी सरु लिम्बूले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै गोल गरिन् । त्यसपछि सावित्राले ५५ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरिन् । उनले ७४ औं मिनेटमा व्यक्तिगत ह्याट्रिक पूरा गरिन् । त्यसबीच ५५ औं मिनेटमा रश्मिकुमारी घिसिङले पनि एक गोल आफ्नो नाममा लेखाइन् ।
सावित्रा त्यसपछि पनि रोकिइनन् । उनले ७९ औं मिनेटमा आफ्नो चौथो गोल गरिन् । बैकल्पिक खेलाडी अनिता केसीले ८३ औं मिनेटमा टिमका लागि आठौं गोल गरिन् । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा सावित्राले नवौं गोल गरिन् । सम्भवतः यसको श्रेय उनले नपाउन पनि सक्छ, किनभने यो आत्मघाती गोल दिइन सक्छ ।
अब नेपालले बुधबार श्रीलंकाको सामना गर्नेछ भने शनिबारको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानसँग भिड्ने छ । लाओसविरुद्धको जितपछि प्रशिक्षक डे वाइल्डले भनेका छन्, ‘अब हाम्रो ध्यान श्रीलंकाविरुद्धको खेलमा केन्द्रित हुनेछ । त्यसपछि हामीले उज्वेकिस्तानविरुद्धको खेलबारे सोच्ने छौं ।’
