सबैको एउटै लक्ष्य ‘छनोट’

प्रि–म्याच कन्फ्रेन्समा शनिबार आयोजक देश उज्वेकिस्तानदेखि नेपाल, लाओस र श्रीलंकाले छनोट नै एकमात्र विकल्प रहेको सुनाए

असार १५, २०८२

नायक पौडेल

Everyone's goal is 'selection'.

तास्केन्द, उज्वेकिस्तान — एएफसी वुमेन्स एसिया कप छनोट फुटबलको समूह ‘एफ’ का खेल आइतबारदेखि मिली स्टेडियममा सुरु हुँदै छ । यसमा सहभागी हुने चारै टिमको एउटै लक्ष्य छ, ‘छनोट’ । शनिबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा आयोजक देश उज्वेकिस्तानदेखि नेपाल, लाओस र श्रीलंकाले छनोट नै एकमात्र विकल्प रहेको माने ।

तर समस्या के भने त्यही एक टिममात्र समूह चरण पार गरेर अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी वुमेन्स कपका लागि छनोट हुनेछ । 

यसका लागि त्यो भाग्यमानी टिमले समूह जित्नुपर्नेछ । छनोटको पहिलो दिन दुई खेल हुनेछ, त्यसमा नेपालले लाओसको सामना गर्नेछ भने दोस्रोमा उज्वेकिस्तान र श्रीलंका भिड्नेछन् । मिडियासँग कुराकानी गर्नेक्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले भने, ‘सबैलाई प्रतियोगितामा स्वागत छ । हामी चाहन्छौं, नेपाल नै समूह विजेता होस् । सबैले राम्रो फुटबल खेलोस् । मलाई लाग्छ, सबै टिमले आ–आफ्नो तयारी गरेका छन् ।’

उनले थपे, ‘छनोटमा माथिल्लो स्तरको अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धा हुने निश्चित छ । हाम्रा खेलाडी यो चुनौती सामना गर्न तयार छन् ।’ उनी उज्वेकिस्तानी प्रशिक्षक कोट्राना कुलबाइटलाई लिएर पनि उत्साही छन् । किनभने उनीहरूबीच पुरानो चिनजान छ ।

कुलबाइटले पाँच महिनाअगाडि मात्र उज्वेकिस्तानी टिम सम्हालेकी हुन् । वाइल्डले यसै प्रसङ्गमा भने, ‘हामीले लिथुवानियामा सँगै काम गरेका थियौं । उनी निकै राम्रा प्रशिक्षक हुन् । मलाई विश्वास छ, उनको अगाडि लामो यात्रा रहेको छ ।’ 

सन् २०२१ ताका वाइल्ड लिथुवानियाको फुटबल संघका प्राविधिक निर्देशक थिए । त्यसपछि उनी राजा कासाब्लान्का गएका हुन्, प्राविधिक निर्देशकमै भूमिकामा । कुलबाइट आफैं पनि वाइल्ड र उनको नेपाली टिम सामना गर्न लागेको खुसी छिन् । उनी त वाइल्डलाई आफ्ना ‘मेन्टर’ पनि मान्छिन् र भन्छिन्, ‘वाइल्ड प्रायः ख्यालठट्टा गरिरहेका हुन्छन् । उनको बानी सधैं यस्तै हुन्छ ।’ आफ्नो प्रशिक्षणको भूमिकालाई लिएर भने उनी उत्तिकै गम्भीर छिन् । उनको थप भनाइ थियो, ‘जति–जति बेला कुनै टिमको विश्लेषण गर्नुपर्ने हुन्छ, प्रशिक्षक को हो, उनले खेलाडीलाई कसरी खेलाउन चाहन्छन्, यी तथ्यले निकै महत्त्वपूर्ण अर्थ राख्छ ।’ 

कान्तिपुरसँगको थप कुराकानीमा प्रशिक्षक डे वाइल्ड के मान्छन् भने राम्रो प्रशिक्षकले मात्र सबथोक हुँदैन, फुटबलमा राम्रो खेलाडी पनि चाहिन्छ । उनलाई एउटा गुनासो भने छ, निकै छोटो समय पाएकामा । त्यसैले उनलाई लाग्छ, त्यो सबथोक भएको छैन । जुन उनी नेपाली टिमसँग चाहन्छन् । 

प्रि–म्याच कन्फ्रेन्समा लाओस र श्रीलंकाका प्रशिक्षकले पनि आफ्नो टिम उज्वेकिस्तानमा आफूले सक्दो बलियो चुनौती पेस गर्नकै लागि आएको बताए । लाओसका प्रशिक्षक जोङ सोङ चोन भन्छन्, ‘भर्खरै जस्तो हाम्रो पुरुष राष्ट्रिय टिमले नेपाललाई हराएको छ, महिला फुटबलमा पनि यस्तै नतिजा चाहन्छौं ।’ उनले नेपाली महिला टिमको प्रशंसा गर्दै भने, ‘यही टिमविरुद्धको हाम्रो पहिलो खेल असाध्यै रोमाञ्चक हुने विश्वास छ ।’ 

‘यो छनोटका चारै टिम राम्रा छन् । हाम्रो लागि यो निकै उपयोगी अनुभव हुनेछ । मलाई लाग्छ, सबै टिमले यो छनोटबाट केही न केही सिक्ने छ,’ चोनले थपे । 

अर्कोतर्फ श्रलिंकाली प्रशिक्षक एमआरएम जस्मिनले प्रत्यक्ष त भनेनन्, तर घुमाउरो पारामा स्वीकारे, सम्भवतः श्रीलंकाली टिमबाट धेरै आस गर्न सकिन्न । उनको स्वीकारोक्ति थियो, ‘श्रीलंकामा महिला फुटबलका राम्रा क्लब छैनन् । हाम्रा खेलाडी पुलिस वा सेनाका बढी हुन्छन्, होइन भने स्कुलस्तरकै मात्र हुने गर्छन् ।’

नेपाली टिम साँच्चै कस्तो छ त ? यसको जवाफमा प्रशिक्षक वाइल्ड मान्छन्, नेपाली खेलाडीसँग युरोप, मध्यपूर्व र दक्षिण एसियाकै माथिल्लो डिभिजनमा खेलेको अनुभव छ, त्यसैले यो फाइदाजनक छ । उनी भन्छन्, ‘हामीले मैत्रीपूर्ण फुटबल भने खेल्न पाएनौं । तर म फेरि दाबी गर्छु, नेपालले उत्कृष्ट फुटबल पस्कने प्रयास गर्नेछ ।’ लाओसविरुद्धको खेल नेपाली महिला फुटबलका लागि किन महत्त्वपूर्ण छ भने यो हुनेछ, सयौं अन्तर्राष्ट्रिय खेल ।

नायक

Link copied successfully