एएफसी वुमेन्स एसिया कपको छनोटमा आइतबार खेलिने लाओसविरुद्धको खेल नेपालका लागि ऐतिहासिक कोसेढुंगा
तास्केन्द, उज्वेकिस्तान — ‘नेपालमा फुटबल खेल्ने मैदान पनि छ र ?’ पहिलो पुस्ताका महिला राष्ट्रिय फुटबल खेलाडीले विदेशमा सामना गर्नुपर्ने प्रश्न यस्तै हुने गर्थ्यो । चार दशक जति अगाडि नेपाली महिला राष्ट्रिय टोलीले हङकङको यात्रा गरेको थियो, पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न । त्यो थियो, सन् १९८६ को एएफसी महिला च्याम्पियनसिप । हङकङमा आम खेलप्रेमीबीच कौतूहल थियो, साँच्चै के हिमाल–पहाडको देशमा फुटबल खेल्ने मैदान पनि छ र ?
रमा सिंहको कप्तानी र खेम गुरुङको प्रशिक्षण नेतृत्वमा नेपालले त्यो प्रतियोगिता खेलेको थियो । अचेल यही प्रतियोगिता सन् २०१६ यता एएफसी वुमेन्स एसिया कप भएको छ । त्यतिबेला प्रतियोगिताको १६ औं संस्करण आयोजना गरिएको थियो । नेपालका लागि यो पहिलो यात्रा आफैंमा सुखद रहेन, किनभने तीन खेलमा टिमले एकै गोल गर्न सकेन । उल्टै १२ गोल खाएको थियो । नेपालका प्रतिद्वन्द्वी थियो हङकङ, थाइल्यान्ड र इन्डोनेसिया ।
सन् १९८९ मा नेपालले फेरि एकपल्ट त्यही पुरानो प्रतियोगिता खेल्यो । स्थान हङकङ नै थियो । त्यसमा नेपालको प्रदर्शन अझ खराब रह्यो । नेपालले तीन खेल खेलेकामा तीनैमा नराम्रो हार बेहोर्यो । फेरि एकपल्ट कुनै गोल गर्न सकेन अनि २५ गोल सामना गर्यो ।
त्यसमा जापानविरुद्धको एकै खेलको १४ गोल पनि छ । त्यसपछि नेपालले सन् १९९१, १९९३, १९९५ र १९९७ यो प्रतियोगिता खेलेन । सन् १९९९ मा नेपालले फेरि एकपल्ट यो प्रतियोगिता खेल्यो । यो प्रतियोगिता फिलिपिन्समा भएको थियो । त्यहाँ चार खेल खेलेकामा सबैमा पराजित रह्यो, ३० गोल खायो । तर, पेमा डोल्मा लामा उज्वेकिस्तानविरुद्ध एक गोल गर्न सफल रहिन् । दिन थियो, नोभेम्बर १६ । यो ऐतिहासिक अवसर थियो । त्यससँगै नेपाली महिला अन्तर्राष्ट्रिय फुटबलमा एक युग सकिन्छ ।
र, त्यसपछिको १० वर्षसम्म नेपालले कुनै महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नै खेलेन । सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा महिला फुटबल पनि समावेश गरिएपछि नेपालको अन्तर्राष्ट्रिय सहभागिता फेरि ब्युँतिएको थियो । त्यसयता दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल दुई ठुला शक्तिका रूपमा अगाडि आए । अनि नेपाल आफैंले महिला फुटबलमा लगातार कडा चुनौती पेस गरिरहेको छ ।
त्यही वर्ष सन् २०१० यता नेपालले ८९ खेल खेलेको छ । सन् १९८६ देखि १९९९ सम्म भने १० खेलमात्र खेलिएको थियो । यी दुई अवधिको खेल संख्या जोड्ने हो भने ९९ पुग्छ । अब नेपालले आइतबार एएफसी वुमेन्स एसिया कपको छनोटमा लाओसको सामना गर्दै छ । खेल उज्वेकिस्तानको तास्केन्दमा हुनेछ । यो हुनेछ, महिला राष्ट्रिय फुटबलको ऐतिहासिक कोसेढुंगाको सय खेल ।
सुरुआती समयमा नेपाली महिला फुटबलले आफ्नो अस्तित्वकै लागि संघर्ष गरेको थियो । अहिले नेपाली खेलकुदमा बलियो उपस्थिति जनाइरहेको महिला फुटबलका लागि यो सय खेल प्रेरणास्रोत बनेको छ । महिला खेलाडीहरू चाहन्छन्, अन्तर्राष्ट्रिय फुटबलमा नयाँ अध्याय लेख्ने । सन् २०१० तिरै नेपाली टिममा डेब्यु गरेकी रेनुका नगरकोटे अहिलेको टोलीकी पनि उत्तिकै महत्त्वपूर्ण खेलाडी हुन् ।
उनी भन्छिन्, ‘पछिल्लो समय नेपाली महिला फुटबलको स्वरूप फेरिएको छ । डेब्युको १५ वर्षपछि पनि उनलाई अहिलेको २३ सदस्यीय टिममा खासै चुनौती छैनभन्दा हुन्छ । त्यसैले तय छ, उनले अबको सय अन्तर्राष्ट्रिय खेल खेल्दै इतिहासको साक्षी बन्ने छिन् । उनी थप्छिन्, ‘धेरैभन्दा धेरै नयाँ खेलाडी अगाडि आइरहेका छन् । यो हाम्रा लागि खुसी र प्रेरणा दुवै हो । म आफैं सय खेलको एक भाग हुन पाउने सम्भावनाप्रति उत्साही छु ।’
सन् २०१० को डिसेम्बर १८ मा उनले बंगलादेशको कक्स बजारमा साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्ध डेब्यु गरेकी थिइन् । लाओसविरुद्ध खेल्ने अवसर पाए त्यो उनको नेपालका लागि ५४ औं खेल हुनेछ । उत्तिकै उल्लेखनीय तथ्य के छ भने अहिलेको टिममा त्यस्ता ६ खेलाडी छन्, जसले रेनुकाले जस्तै नेपालका लागि ५० भन्दा बढी खेल खेलिसकेका छन् ।
रेनुका भन्छिन्, ‘अब त हामीसँग प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक छन् । हामीलाई धेरै सहयोग मिलेको छ । प्रशिक्षक प्याट्रिक डे वाइल्डले हाम्रो खेलमा सुधारका लागि निकै मिहिनेत गरिरहनुभएको छ ।’ नेपाली टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बा सबैभन्दा बढी ‘क्याप’ जित्ने खेलाडी हुनेछन् । उनले नेपालका लागि ५७ खेल खेलिसकेकी छन् ।
त्यसपछि आउँछ अमृता जैसी ५६ खेल, गीता राना ५५ खेल, अनिता बस्नेत ५५ खेल अनि सावित्रा भण्डारी ५४ खेल । मिडफिल्डर सरु लिम्बू पनि यस्तै उपलब्धि छुने क्रममा छन् । उनले अहिलेसम्म ४९ खेल खेलिसकेकी छन् । आफ्नो खेलजीवनमा धेरे उतारचढाव देखेकी सरु भन्छिन्, ‘मैले केही खराब समय बेहोरेको छु र यसलाई पछाडि फर्केर हेन चाहन्न । अब भने नेपाली महिला फुटबलसामु सुन्दर भविष्य छ ।’
उनी नेपालका लागि ५० खेल खेल्ने अवसर जुट्दै गरेकोमा उत्तिकै खुसी छिन् । यी पुराना खेलाडी मात्र होइनन्, नेपालका लागि भर्खर खेल्न थालेका जति छन् उनीहरू सबै पनि सय खेलका लागि उत्तिकै उत्साही छन् । डेब्युको कुरिरहेकी २० वर्षीया प्रतीक्षा चौधरी भन्छिन्, ‘राष्ट्रिय टिमको सदस्य भएकीमा पनि मलाई गर्व लाग्छ, दिदीहरूबाट मैले धेरै सिकेकी छु । मैले अवसर पाएँ भने उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नेछु ।’
नेपालका लागि तीन ‘क्याप’ जितेकी गोलरक्षक उषा नाथ मान्छिन्, नयाँ प्रशिक्षक आएयता टिम अझ बढी राम्रो प्रदर्शनका लागि उत्प्रेरित छन् । नेपालले लाओसको सामना गरेपछि श्रीलंका र उज्वेकिस्तानविरुद्ध खेल्नेछ । नेपालले यो समूह जित्ने सक्ने हो भने टिमका लागि अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपको ढोका खोलिनेछ । नेपाली महिला राष्ट्रिय टोलीसामु रहेको यो अर्को ऐतिहासिक अवसर बन्नेछ ।
