१०० अन्तर्राष्ट्रिय खेलको संघारमा नेपाली महिला टोली

एएफसी वुमेन्स एसिया कपको छनोटमा आइतबार खेलिने लाओसविरुद्धको खेल नेपालका लागि ऐतिहासिक कोसेढुंगा

असार १४, २०८२

नायक पौडेल

Nepali women's team in 100 international matches

तास्केन्द, उज्वेकिस्तान — ‘नेपालमा फुटबल खेल्ने मैदान पनि छ र ?’ पहिलो पुस्ताका महिला राष्ट्रिय फुटबल खेलाडीले विदेशमा सामना गर्नुपर्ने प्रश्न यस्तै हुने गर्थ्यो । चार दशक जति अगाडि नेपाली महिला राष्ट्रिय टोलीले हङकङको यात्रा गरेको थियो, पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न । त्यो थियो, सन् १९८६ को एएफसी महिला च्याम्पियनसिप । हङकङमा आम खेलप्रेमीबीच कौतूहल थियो, साँच्चै के हिमाल–पहाडको देशमा फुटबल खेल्ने मैदान पनि छ र ? 

रमा सिंहको कप्तानी र खेम गुरुङको प्रशिक्षण नेतृत्वमा नेपालले त्यो प्रतियोगिता खेलेको थियो । अचेल यही प्रतियोगिता सन् २०१६ यता एएफसी वुमेन्स एसिया कप भएको छ । त्यतिबेला प्रतियोगिताको १६ औं संस्करण आयोजना गरिएको थियो । नेपालका लागि यो पहिलो यात्रा आफैंमा सुखद रहेन, किनभने तीन खेलमा टिमले एकै गोल गर्न सकेन । उल्टै १२ गोल खाएको थियो । नेपालका प्रतिद्वन्द्वी थियो हङकङ, थाइल्यान्ड र इन्डोनेसिया । 

सन् १९८९ मा नेपालले फेरि एकपल्ट त्यही पुरानो प्रतियोगिता खेल्यो । स्थान हङकङ नै थियो । त्यसमा नेपालको प्रदर्शन अझ खराब रह्यो । नेपालले तीन खेल खेलेकामा तीनैमा नराम्रो हार बेहोर्‍यो । फेरि एकपल्ट कुनै गोल गर्न सकेन अनि २५ गोल सामना गर्‍यो ।

त्यसमा जापानविरुद्धको एकै खेलको १४ गोल पनि छ । त्यसपछि नेपालले सन् १९९१, १९९३, १९९५ र १९९७ यो प्रतियोगिता खेलेन । सन् १९९९ मा नेपालले फेरि एकपल्ट यो प्रतियोगिता खेल्यो । यो प्रतियोगिता फिलिपिन्समा भएको थियो । त्यहाँ चार खेल खेलेकामा सबैमा पराजित रह्यो, ३० गोल खायो । तर, पेमा डोल्मा लामा उज्वेकिस्तानविरुद्ध एक गोल गर्न सफल रहिन् । दिन थियो, नोभेम्बर १६ । यो ऐतिहासिक अवसर थियो । त्यससँगै नेपाली महिला अन्तर्राष्ट्रिय फुटबलमा एक युग सकिन्छ । 

र, त्यसपछिको १० वर्षसम्म नेपालले कुनै महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नै खेलेन । सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा महिला फुटबल पनि समावेश गरिएपछि नेपालको अन्तर्राष्ट्रिय सहभागिता फेरि ब्युँतिएको थियो । त्यसयता दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल दुई ठुला शक्तिका रूपमा अगाडि आए । अनि नेपाल आफैंले महिला फुटबलमा लगातार कडा चुनौती पेस गरिरहेको छ ।

त्यही वर्ष सन् २०१० यता नेपालले ८९ खेल खेलेको छ । सन् १९८६ देखि १९९९ सम्म भने १० खेलमात्र खेलिएको थियो । यी दुई अवधिको खेल संख्या जोड्ने हो भने ९९ पुग्छ । अब नेपालले आइतबार एएफसी वुमेन्स एसिया कपको छनोटमा लाओसको सामना गर्दै छ । खेल उज्वेकिस्तानको तास्केन्दमा हुनेछ । यो हुनेछ, महिला राष्ट्रिय फुटबलको ऐतिहासिक कोसेढुंगाको सय खेल । 

सुरुआती समयमा नेपाली महिला फुटबलले आफ्नो अस्तित्वकै लागि संघर्ष गरेको थियो । अहिले नेपाली खेलकुदमा बलियो उपस्थिति जनाइरहेको महिला फुटबलका लागि यो सय खेल प्रेरणास्रोत बनेको छ । महिला खेलाडीहरू चाहन्छन्, अन्तर्राष्ट्रिय फुटबलमा नयाँ अध्याय लेख्ने । सन् २०१० तिरै नेपाली टिममा डेब्यु गरेकी रेनुका नगरकोटे अहिलेको टोलीकी पनि उत्तिकै महत्त्वपूर्ण खेलाडी हुन् । 

उनी भन्छिन्, ‘पछिल्लो समय नेपाली महिला फुटबलको स्वरूप फेरिएको छ । डेब्युको १५ वर्षपछि पनि उनलाई अहिलेको २३ सदस्यीय टिममा खासै चुनौती छैनभन्दा हुन्छ । त्यसैले तय छ, उनले अबको सय अन्तर्राष्ट्रिय खेल खेल्दै इतिहासको साक्षी बन्ने छिन् । उनी थप्छिन्, ‘धेरैभन्दा धेरै नयाँ खेलाडी अगाडि आइरहेका छन् । यो हाम्रा लागि खुसी र प्रेरणा दुवै हो । म आफैं सय खेलको एक भाग हुन पाउने सम्भावनाप्रति उत्साही छु ।’ 

सन् २०१० को डिसेम्बर १८ मा उनले बंगलादेशको कक्स बजारमा साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्ध डेब्यु गरेकी थिइन् । लाओसविरुद्ध खेल्ने अवसर पाए त्यो उनको नेपालका लागि ५४ औं खेल हुनेछ । उत्तिकै उल्लेखनीय तथ्य के छ भने अहिलेको टिममा त्यस्ता ६ खेलाडी छन्, जसले रेनुकाले जस्तै नेपालका लागि ५० भन्दा बढी खेल खेलिसकेका छन् । 

रेनुका भन्छिन्, ‘अब त हामीसँग प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक छन् । हामीलाई धेरै सहयोग मिलेको छ । प्रशिक्षक प्याट्रिक डे वाइल्डले हाम्रो खेलमा सुधारका लागि निकै मिहिनेत गरिरहनुभएको छ ।’ नेपाली टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बा सबैभन्दा बढी ‘क्याप’ जित्ने खेलाडी हुनेछन् । उनले नेपालका लागि ५७ खेल खेलिसकेकी छन् ।

त्यसपछि आउँछ अमृता जैसी ५६ खेल, गीता राना ५५ खेल, अनिता बस्नेत ५५ खेल अनि सावित्रा भण्डारी ५४ खेल । मिडफिल्डर सरु लिम्बू पनि यस्तै उपलब्धि छुने क्रममा छन् । उनले अहिलेसम्म ४९ खेल खेलिसकेकी छन् । आफ्नो खेलजीवनमा धेरे उतारचढाव देखेकी सरु भन्छिन्, ‘मैले केही खराब समय बेहोरेको छु र यसलाई पछाडि फर्केर हेन चाहन्न । अब भने नेपाली महिला फुटबलसामु सुन्दर भविष्य छ ।’

उनी नेपालका लागि ५० खेल खेल्ने अवसर जुट्दै गरेकोमा उत्तिकै खुसी छिन् । यी पुराना खेलाडी मात्र होइनन्, नेपालका लागि भर्खर खेल्न थालेका जति छन् उनीहरू सबै पनि सय खेलका लागि उत्तिकै उत्साही छन् । डेब्युको कुरिरहेकी २० वर्षीया प्रतीक्षा चौधरी भन्छिन्, ‘राष्ट्रिय टिमको सदस्य भएकीमा पनि मलाई गर्व लाग्छ, दिदीहरूबाट मैले धेरै सिकेकी छु । मैले अवसर पाएँ भने उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नेछु ।’ 

नेपालका लागि तीन ‘क्याप’ जितेकी गोलरक्षक उषा नाथ मान्छिन्, नयाँ प्रशिक्षक आएयता टिम अझ बढी राम्रो प्रदर्शनका लागि उत्प्रेरित छन् । नेपालले लाओसको सामना गरेपछि श्रीलंका र उज्वेकिस्तानविरुद्ध खेल्नेछ । नेपालले यो समूह जित्ने सक्ने हो भने टिमका लागि अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपको ढोका खोलिनेछ । नेपाली महिला राष्ट्रिय टोलीसामु रहेको यो अर्को ऐतिहासिक अवसर बन्नेछ ।

नायक

Link copied successfully