एएफसी महिला एसिया कप छनोटका लागि तास्केन्द पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आइतबार लाओसविरुद्ध खेल्ने
तास्केन्द, उज्वेकिस्तान — नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको राजधानी तास्केन्दमा बुधबार आइपुगेको थियो । यो भनेको एएफसी महिला एसिया कप छनोट सुरु हुन ठ्याक्कै चार दिन अगाडि हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र उनका सहयोगीले पहिलो दिनदेखि एउटै काममा बढी जोड दिएका छन् कि खेलाडीलाई सकेसम्म यहाँको मौसम अनुकूल बनाउने । त्यसो त काठमाडौं र तास्केन्दको मौसममा खासै धेरै फरक छैन ।
भलै, यी दुई सहर केही नभए पनि एक अर्कोबाट २ हजार किमि टाढा छ । समयको अन्तर भने ४५ मिनेट मात्रै हो । तास्केन्दको तापक्रम बिहीबार साँझ ३० डिग्री सेल्यिससको हाराहारीमा थियो । ठीक यही बेला काठमाडौंको तापक्रम थियो २८ डिग्री । प्रशिक्षक वाइल्डले कान्तिपुरसँग भनेका छन्, ‘मौसममा खासै धेरै फरक हैन, तर हाम्रा खेलाडीलाई गर्मीमा खेल्ने बानी भने छैन ।’
नेपालले आइतबार आफ्नो पहिलो खेल लाओसविरुद्ध खेल्नेछ । त्यसपछि पालो श्रीलंकाविरुद्ध हुनेछ । यो परेको हुनेछ बुधबार । अनि शनिबारको खेल आयोजक उज्वेकिस्तानविरुद्ध छ । सबै खेल मिल्ली स्टेडियममा हुनेछ । समूह ‘एफ’ का चारै टिमले एकअर्कोविरुद्ध एक–एक पटक खेल्नेछ । खेल हुने दिन दुई प्रतिस्पर्धा चल्नेछ, एक बेलुका ५ बजे अर्को ८ बजे ।
छनोटमा नेपालको सबैभन्दा मुख्य प्रतिद्वन्द्वी उज्वेकिस्तानले आफ्ना सबै खेल ८ बजे खेल्नेछ । नेपालको भागमा भने अबेर हुने एक खेलमात्र परेको छ । त्यो उज्वेकिस्तानविरुद्ध नै छ । तय छ, यति बेलाको मौसम चिसो हुनेछ । प्रशिक्षक वाइल्ड भन्छन्, ‘हामीले सुरुका दुई खेल खेल्ने भनेको चाँडै हो । त्यो भनेको बढी गर्मीको वातावरणमा । त्यसैले हाम्रो अहिलेको एकमात्र नीति भनेकै खेलाडीलाई मौसम अनुकूल बनाउनेमा केन्द्रित हो ।’
नेपाली टोलीकी चिकित्सक हुन्, एलिशा राई । उनी भन्छिन्, ‘काठमाडौंका तुलनामा तास्केन्दको आर्द्रता बढी छ । यसले खेलाडीलाई स्वासप्रस्वासमा समस्या हुनसक्छ ।’ उनलाई डर छ, यसले खेलाडीमा ‘डिहाइड्रेसन’ को समस्या हुन सक्नेछ । ‘त्यसैले हाम्रा खेलाडीले सक्दो बढी पानी पिइरहेका छन्,’ उनले सुनाइन् ।
उनी थप्छिन्, ‘अहिले खेलाडीले आफूलाई अभ्यस्त राख्न सुरुआती दुई खेल हुने समयमै अभ्यास गरिरहेका छन् । यसले खेलाडीमा आफू अनुकूल बनाउने क्षमता बढाउने छ । त्यसैले हामी सबै अहिले जिम र टिम रणनीतिक बैठकमै जोड दिइरहेका छौं ।’
