आक्रोशलाई शक्तिमा बदल्ने चुनौती

वैशाख २२, २०८२

एपीएफ

The challenge of turning anger into power

लन्डन — आर्सनलले युरोपेली च्याम्पियन्स लिगको दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्न अगाडि शनिबार ठूलो धक्का बेहोरेको छ र यो रह्यो, इंग्लिस प्रिमियर लिगमा बर्नमाउथको हातबाट घरमै २–१ को हार ।

प्रशिक्षक मिखेल आर्टेटा मान्छन्, अब यो हारसँगै आत्मसात् गरेको क्रोध र रिसलाई आर्सनलका खेलाडीले पीएसजीविरुद्ध शक्तिमा परिणत गर्नुपर्नेछ । आर्सनलले क्लबका लागि सयौं खेल खेलिरहेका डेक्लेन राइसको गोलले अग्रता त लियो तर त्यसलाई कायम राख्न सकेन ।

डिन हुइजसेन र इभानिल्सनले दोस्रो हाफमा गोल गरेपछि बर्नमाउथ आर्सनलमाथि पहिलो जित निकाल्न सफल रह्यो । आर्सनल यसअघि च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा घरमै १–० ले पराजित भएको थियो । अब दोस्रो लेगको खेल बुधबार हुँदै छ र त्यसमा आर्सनलको प्रदर्शनमा ठूलो सुधार आवश्यक हुनेछ । ‘हामीले जित्नै पर्ने थियो तर त्यस्तो भएन । हामीले दुवै खेल सेट–पिसमा खाएका थियौं र यस्तो हुन्छ भने टिम समस्यामै पर्छ,’ आर्टेटा मान्छन् ।

उनी थप्छन्, ‘हामीले जसरी खेल्यौं, आजको खेलको प्रदर्शन त्यसको छेउछाउ पनि रहेन । हामीले आज गति लिनुपर्ने थियो र त्यसको सकारात्मक प्रभाव हुने थियो । तर हामीले साँच्चै सकेनौं । यो खेलले हामीलाई निराशासँग सँगै आक्रोश र रिस दिएको छ । हामीले त्यसैलाई अब शक्तिमा बदल्नुपर्नेछ ।’ अहिले प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनललाई शीर्ष पाँचमा रहेर अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट निश्चित गर्नका लागि ६ अंक चाहिएको छ ।

आर्टेटाले यो साता आर्सनलका लागि निकै पीडादायी भएको पनि स्विकारे । पछिल्लो सप्ताहन्त लिभरपुलले उपाधि जितेको खुसियाली हेर्न गाह्रै भएको उनी मान्छन् । पछिल्लो दुई सिजन आर्सनल दोस्रो स्थानमा रहेको थियो, दुवै अवसरको विजेता म्यानचेस्टर सिटीपछि । यसपल्ट आर्सनलले केही जित्न सक्ने भनेको त्यही च्याम्पियन्स लिग मात्र बाँकी रहेको छ । सन् २०२० मा आर्सनलले एफए कप जितेको थियो र त्यसयता आर्टेटा आफ्नो नेतृत्वमा दोस्रो उपाधिकै प्रतीक्षामा रहेको छ ।

आर्सनल अन्तिम पटक सन् २००६ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । यो यस्तो प्रतियोगिता रहेको छ, जसलाई आर्सनलले अहिलेसम्म एकै पटक पनि जित्न सकेको छैन । आर्सनल पीएसजीको सामना गर्न अगाडि कति धेरै गम्भीर थियो भने बर्नमाउथविरुद्धको लगभग महत्त्वही खेलमा पनि आफ्नो पूरा शक्ति लगाएको थियो, सबै पहिलो रोजाइका खेलाडी उतारेर । टिमको लक्ष्य त्यही विजयी लय समात्नु थियो तर सकेन ।

यो सिजन आर्सनलले त्यस्ता ९ खेलमा जित निकाल्न असफल रहेको छ, जसमा यही टिम अगाडि रहेको थियो । बर्नमाउथविरुद्धकै खेलको विश्लेषण गर्दै आर्टेटा थप्छन्, ‘हाम्रो रक्षापंक्ति निकै कमजोर सावित भएको छ ।’ जितले बर्नमाउथको अर्को सिजन युरोपमा खेल्ने सपना भने जीवन्त रह्यो, भलै यसको सम्भावना कमजोर नै रहेको छ । अक्टोबरमा पनि बर्नमाउथले भिटालिटी स्टेडियममा भएको खेलमा आर्सनललाई पराजित गरेको थियो । 

एपीएफ

Link copied successfully