च्याम्पियन ट्रफी : भारत–न्युजिल्यान्डबीच उपाधि भिडन्त

एक दिवसीय फर्म्याट: दुबई स्टेडियममा भारत अपराजित

फाल्गुन २५, २०८१

काठमाडौं

Champion Trophy: Title clash between India and New Zealand

काठमाडौँ — आईसीसी एक दिवसीय च्याम्पियन्स ट्रफीको आज फाइनल खेलमा उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दैछन् । 

पाकिस्तानले आयोजना गरेको ट्रफीको फाइनल खेल आज नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा दुबईको इन्टरनेशनल स्टेडियममा सुरु हुनेछ । भारत पाकिस्तानमा जान नमानेपछि भारतसँगका सबै खेल दुबईमा राखिएको थियो । 

यी दुवै टिम फेरि एकपट आमनेसामने भएका छन् । पछिल्लो म्याच भारतले ४४ रनले जित निकालेको छ । 

दुबईमा एक दिवसीय प्रतियोगिताको इतिहास हेर्दा भारत अहिलेसम्म अपराजित छ । यहाँ खेलेका १० खेलमध्ये ९ मा जित र एक टाइ भएको थियो । स्लो पिच भएका कारण यहाँ स्पिनर नै गेम चेन्जर हुनसक्छन् । 

हालसम्म भारत र न्युजिल्यान्डबीच जम्मा ११९ वटा एक दिवसीय खेल खेलिएको छ । जसमा भारत ६१ पटक र न्युजिल्यान्ड ५० पटक विजयी भएका छन् । सात खेल भने परिणामविहीन रहे भने एक खेल टाई हुन पुगेको थियो ।

पछिल्लो ६ खेलमा भारतले न्युजिल्यान्डविरुद्ध लगातार जित निकालिरहेको छ । पछिल्लो समय दुवै टिम च्याम्पियन्स ट्रफीमा भिडेका थिए । समूहचरणको उक्त खेलमा भारत ४४ रनले विजयी बन्यो । 

भारतका लागि रन स्कोरर कोहली
भारतका स्टार ब्याटर विराट कोहली जारी च्याम्पियन्स ट्रफीमा भारतका लागि सबैभन्दा धेरै रन बनाउने ब्याटर रहेका छन् । चार खेलमा उनले २१७ रन बनाएका छन् । पाकिस्तानविरुद्ध उनले शतकसमेत प्रहार गरेका थिए । 

यस्तै बलिङमा तीव्र गतिका बलर मोहम्मद शमी शीर्षमा छन् । उनले चार खेलमा ८ विकेट लिएका छन् । 

हेनरी टप विकेट टेकर

यस प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने न्युजिल्यान्डका ब्याटर रचिन रवीन्द्र छन् । उनले ३ खेलमा २२६ रन बनाएका छन् । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध र समूहचरणमा बंगलादेशविरुद्ध शतक प्रहार गरेका थिए । बलिङमा आफ्नो टिम र प्रतियोगिताभर नै सबैभन्दा धेरै विकेट न्युजिल्यान्डका म्याट हेनरी रहेका छन् । अहिलेसम्म खेलका चार खेलमा उनले १० विकेट लिएका छन् । 

काठमाडौं

Link copied successfully