एमपीएल तेस्रो संस्करण चैत ५ बाट

मंसिर १६, २०८१

अवधेशकुमार झा

राजविराज — मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता आगामी चैत ५ गतेदेखि हुने भएको छ । दोस्रो संस्करण आयोजना भएको ८ वर्षपछि तेस्रो संस्करण हुने लागेको हो ।

राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मधेश प्रिमियर लिग प्रालिले अध्यक्ष ईन्जिनियर संजीवनारायण यादवले आर्थिक समस्याको कारण लिगको तेस्रो संस्करण ल्याउन ढिलो भएको बताए ।  

‘सन् २०१५ र २०१६ मा पहिलो, दोस्रो संस्करण आयोजना भयो, त्यसमा आयोजकलाई अत्यधिक घाटा खेप्नुपर्‍यो,' उनले भने, 'पछि मधेश आन्दोलन, कोरोना महामारी लगायतका कारणले निरन्तरता दिन सकिएन ।’ उनका अनुसार तेस्रो संस्करणका लागि शनिबारबाट दर्ता सुरु गरिएको छ । 

तेस्रो संस्करणमा अक्सनबाट खेलाडीहरु छनोट गरिने उनले बताए । लिगमा १० वटा टिमको सहभागिता रहने र प्रत्येक टिममा झापादेखि कञ्चनपुरसम्मका मधेश क्षेत्रबाट ७ जना खेलाडी तथा नेपालभरिबाट ४ जना खेलाडी रहने छन् ‌। 

अध्यक्ष यादवले प्रतियोगिताको खेल राजविराजस्थित पविमाविमा हुने बताएका छन् ‌। उनले भने, 'वीरगन्ज र जनकपुरमा खेलाइने प्रयासमा पनि लागेको छौं, त्यो व्यवस्था भएन भने राजविराजमै सबै खेल हुन्छ।'

प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग समन्वय गरेर मधेश प्रिमियर लिगको नाममा राखिएको ५० लाख बजेट ल्याउने प्रयास भइरहेको अध्यक्ष यादवले बताए । उक्त बजेट नपाए पनि प्रतियोगिता नरोकिने उनको भनाइ छ ।

अवधेशकुमार झा

Link copied successfully