कोमन बार्सिलोना प्रशिक्षक घोषित

भाद्र ३, २०७७

बार्सिलोना — बार्सिलोनाले बुधबार आफ्नो नयाँ प्रशिक्षकका रूपमा रोनाल्ड कोमन घोषणा गरेको छ । यसअघिका प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोमनलाई नियुक्त गरिएको हो । 

बार्सिलोनामा जिम्मेवारी सम्हाल्न ५७ वर्षीय कोमनले नेदरल्यान्डको प्रशिक्षक पद भने छाडेका छन् । डच फुटबल संघसँग उनको दुई वर्षको अनुबन्ध बाँकी थियो । कोमनले बार्सिलोनासँग भने दुई वर्षको अनुबन्ध गरेको छ । 

सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाका खेलाडी रहेको कोमनले त्यसबीचमा चार लिग उपाधि र एक युरोपियन कप जितेका थिए । यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो । 

सन् २००७–०८ यता बार्सिलोनाले कुनै उपाधि नजितेको यो पहिलो पल्ट हो । युरोपेली च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले हालै मात्र बायर्न म्युनिकसँग ८–२ को लज्जास्पद हार बेहोरेको थियो ।

Link copied successfully