संगीत
काठमाडौं — ‘माया त दुईतर्फी नै थियो हाम्रो, खै के भयो...’ भन्दै गायक हिमाल सागर म्युजिक भिडियोसहित दर्शकश्रोतामाझ आएका छन् । हिमालको आठौं सोलो एल्बममा रहेको उक्त गीत उनैले लेखेका र कम्पोज गरेका हुन् । संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।
नीतिन चन्दले निर्देशक गरेको भिडियोमा हिमाल र अञ्जु चौलागाईंले खेलेका छन् । म्युजिक भिडियो विकल्प दाहालले खिचेका हुन् । ‘यो रोमान्टिक नम्बरले मेरा श्रोताहरूलाई आफ्नै जीवनको कुनै मोडको सम्झना दिलाउनेछ,’ करिब डेढ दशकदेखि संगीतमा लागिपरेका हिमालले भने ।
झापाको बनियानीमा जन्मेहुर्केका हिमालका ‘रिलेसन,’ ‘फर यु,’ ‘त्यो दिन,’ ‘कहानी,’ ‘टेल मी,’ ‘फुली,’ ‘अक्टोबर २४’ जस्ता एल्बम आइसकेका छन् । ‘न मैले लेखेँ न उनले लेखिन्...,’ ‘मेरो माया मारेपछि तिमी त अचेल दामी भइछेउ...,’ ‘मेरो मनमा आगो लाउने को...,’ ‘तिम्रो चोलीको तुनामा...,’ ‘आज किन तिमी केमा चुक्यौ...’ जस्ता गीत लोकप्रिय छन् ।
उनले ढुकढुकी पप अवार्डमा बेस्ट सङ अफ द इयर, कालिका एफएम म्युजिक अवार्डमा पपतर्फ बेस्ट भोकल पर्फमेन्स तथा बेस्ट म्युजिक कम्पोजरको अवार्ड पाइसकेका छन् ।
