काठमाडौं — गत वर्ष फागुनमा अर्जुन सेवाले चलाएको माइक्रो बसले किच्दा पैदलयात्री चिकित्सकद्वय सन्दीप सुवेदी र सोनी आनन्दको घटनास्थलमै मृत्यु भयो । बा१य ४३ नम्बरको पर्यटक बोक्ने हरियो प्लेटको माइक्रोको अचानक ब्रेक फेल हुँदा महाराजगन्जस्थित कान्ति बाल अस्पतालको ओरालोमा सडक छेउमा हिँडिरहेको उनीहरूलाई किचेको थियो ।
गतवर्ष नै तीनकुनेबाट बबरमहलतर्फ गइरहेको ना५ख २६१८ ट्रिपरले नँया बानेश्वर चोकको सडक छेउमा हिँडिरहेकी ७३ वर्षीय लक्ष्मी रेग्मीलाई ठक्कर दिँदा उनको मृत्यु भयो ।
उपत्यका ट्राफिक महाशाखाले आव ०६८/६९ देखि ०७३/७४ चैत्र मसान्तसम्मको सवारी दुर्घटनाको तथ्याङकलाई केल्याउँदा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४१ प्रतिशत पैदल यात्रु भएको देखिएको छ । यो अवधिमा ७ सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । तीमध्ये २ सय ९६ जना पैदलयात्री छन् । आव ०६९/७० मा १ सय ४८ मृतकमध्ये ६३ जना पैदल यात्रु छन् भन् ०७०/७१ मा १ सय ४३ जना मध्ये ५३ जनालाई पैदल हिंडिराखेको बेला गाडीले ठक्कर दिएर मृत्यु भएको तथ्याङकमा उल्लेख छ । ०७१/७२ मा १ सय ३३ जनाको मृत्यु भएको छ जसमध्ये ५७ जना पैदल यात्रु छन् ०७२/७३ मा १ सय ६६ जनाको मृत्यु भएको छ, त्यसमध्ये ५७ पैदल यात्रीको मृत्यु गाडीले ठक्कर दिएर भएको हो । त्यसैगरी ०७३/७४ चैत्र मसान्तसम्म १ सय ३० जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा ५८ पैदल यात्री छन् ।
महाशाखाका डिआइजी मिङमार लामाका अनुसार सडक शिक्षाको कमी, कमजोर सडक संरचना, पैदल यात्रुमा जनचेतनाको अभाव र सवारी चालकको लापरबाहीले गर्दा पैदलयात्रीको मृत्यु हुने गरेको छ । ‘फुटपाथमा पसल र सवारी साधनको पार्किङले पैदलयात्रीलाई मुख्य सडकमा हिँड्न बाध्य गराउँछ,’ उनले भने, ‘परिणाम दुर्घटना निम्तिन्छ, अनि मृत्यु हुन्छ ।’ साथै, जेब्रा क्रसिङमा चालक तथा पैदलयात्रीले लापरबाही गर्नु पनि मृत्यु कारण हुन सक्ने उनको भनाइ छ । पछिल्लोपटक सडकमा व्यवस्थित ट्राफिक लाइट नहुँदा दुर्घटना बढेको उनले बताए । भएका संरचना पनि पैदल यात्रुले प्रयोग नगर्ने, सडकपेटीमा सावधानीपूर्वक नहिँड्ने कारणले पनि सडक दुर्घटनामा मृतक संख्या बढ्ने गरेको छ ।
उनका अनुसार जेठ पहिलो सातादेखि फुटपाथमा नहिँडी मूल सडकबाट हिंड्ने पैदल यात्रीलाई ट्राफिक प्रहरीले कारबाही/जरिवाना गर्ने तयारी गरेको छ । साथै, ट्राफिक बत्ती जोड्नेबारे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भइरहेको उनले जानकारी दिए । जापान सरकारको सहयोगमा १५ वर्षअघि उपत्यका एक दर्जनभन्दा बढी स्थानमा निर्माण गरिएका ट्राफिक लाइट बिग्रिएका छन् ।
