भारतका विभिन्न ठाउँमा मजदुरी गर्नेहरू गड्डाचौकी नाका भएर फर्किइरहेका छन् । दसैं मानेर गहुँ छरेपछि उनीहरू फेरि परदेशतिर लाग्छन् ।
कञ्चनपुर — अछामको रामारोशन गाउँपालिका-५ का बलहादुर साउँद बिहीबार गड्डाचौकी नाकामा निकै हतारमा देखिए । भारत उत्तराखण्डको अल्मोडाबाट आएका दसैं मनाउन घर फर्किरहेका हुन् ।
बिहानको अछाम जाने बस छुटिरहेकाले उनी हतारमा थिए । गड्डाचौकी नाकाबाट महेन्द्रनगर पुगेर बस भेट्नका लाागि उनी साथीभाइहरुलाई एकजुट गरिरहेका थिए । ‘दसैं मान्न घर फर्किरहेका छौं, दुईचार महिना मजदुरी गरेर दसैं खर्च जुटाएर घर फर्किएका हौं,’ साउँदले भने, ‘गाउँमा दसैंको चहलपहल छ, घरबाट पनि चाँडो आउन खबर गरिरहेका छन् ।’
उनी चार महिनाअघि भारत उत्तराखण्डको बागेश्वरमा ज्याला मजदुरीका लागि गएका थिए । उनीसँगै गएका रामारोशनका अन्य २१ जना पनि घर फर्किएका छन् ।
साउँद अल्मोडातिर जान थालेको पाँच-छ वर्ष भयो । त्यसअघि उनी दिल्ली, मुम्बई लगायत विभिन्न ठाउँमा पुगिसकेका छन् । केही वर्षयता नियमित रुपमा अल्मोडा जान थालेका हुन् । उनका अनुसार सडक निर्माण, घर निर्माणलगायत विभिन्न विकास निर्माणका काममा ज्यालादारी पाइन्छ । त्यसकै लागि उनी नियमित रुपमा जाने गरेका हुन् ।
असारमा रोपाइँ सकिएपछि गाउँका साथीभाइसँगै बागेश्वर पस्ने उनको वार्षिक तालिका नै बनिसकेको छ । दसैंमा घर फर्किने र फेरि गहुँ छरेर अल्मोडातिर लाग्ने उनीहरु त्यसपछि चैतमा गहुँ भित्र्याउन र नयाँ वर्ष विशु पर्वका लागि घर फर्किन्छन् । ‘यस्तै हो हजुर, सानो तिनजो घर खर्च जुटाउन नगई सुखै छैन,’ साउँदले भने, ‘दुईचार महिना काम गर्यो घर फर्कियो, घरमा खेतीपातीको काम गर्यो फेरि मजदुरीमा गयो ।’
नाकामा भिड
केही दिनयता नाकामा दसैंका लागि घर फर्किने नेपालीको भिडभाड बढेको छ । भारतका विभिन्न ठाउँबाट नेपालीहरु घर फर्किरहेका छन् । पिँठ्युमा भारी बोक्दै कतिपय नाकामा पैदलै हिँडेर आउँछन् त कतिपय गाडीमार्फत ।
‘घर परिवारसँगै दसैं मनाउन आएका हौं,’ बागेश्वरबाट घर फर्किन लागेका सुर्खेतका दिवस फौंजाले भने, ‘यो त हाम्रो परम्पराजस्तै हो, दसैंमा सधैं घर फर्किन्छौं ।’ उनी पनि बागेश्वरमा विभिन्न किसिमका निमाण कार्यमा ज्याला मजदुरी गर्छन् । उनका भाइ चित्रबहादुर सहितको परिवार बागेश्वरमै काम गर्छ । अहिले दसैं मनाउन सबै सँगै फर्किएका हुन् ।
नवरात्र सुरु भएपछि नाकामा घर फर्किनेको चाप अझै बढेको छ । केही दिनयता भारतबाट गड्डाचौकी नाका भएर दैनिक एक हजार हाराहारी नेपाली कामदार फर्किरहेका छन् । असार/साउनमा रोपाइँ सकेर रोजगारीका लागि उत्तराखण्ड र हिमाञ्चलतिर प्रवेश गर्दा पनि यस्तै भिडभाड देखिन्थ्यो । अहिले फर्किनेमा पनि तिनै बढी छन् ।
नाकामा घर फर्किनेहरुका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । तर यात्रुहरु भने नेपाल र भारत दुवैतर्फका यातायात व्यवसायीबाट ठगिने गरेका छन् । बाढी भाडा लिने, सानोतिनो सामानको पनि भाडा लिने तथा बीच बाटोमा छाडने लगायतका समस्या हुने गरेको उनीहरु बताउँछन् ।
गड्डाचौकीदेखि महेन्द्रनगरसम्मको भाडा ५० रुपैयाँ भए पनि अटो व्यवसायीहरुले सय/दुई सय र चार/पाँच सयसम्म लिने गरेको पाइन्छ । सुरक्षाकर्मीकै अगाडी खुलेआम यात्रुहरु दोब्बर भाडा तिर्न बाध्य भएका छन् ।
