दार्चुला — बैतडीमा बन्दुक देखाएर स्थानीयहरुलाई तर्साउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारादत्त जोशी र ४३ वर्षीय महेशदत्त जोशीलाई प्रकाउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति ८ बजेको समयमा मादक पदार्थ सेवन गरी बन्दुक देखाएर स्थानीयहरुलाई त्रसित पारेको आरोप लागेको छ ।
नागार्जुन प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति नै दुवै जनालाई एकनाथ भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए ।
आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर दुवै जनामाथि हातहतियार तथा खरखजाना कसुरमा अनुसन्धान सुरु गरिएको छ । उनीहरुसँग बन्दुकको इजाजत समेत नरहेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
