अछाम — लगातारको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । अछामको चौरपाटी गाउँपालिका –६ को सेरीपाखा गाउँको माथि पहिरो खस्दा ९ परिवार विस्थापित भएका छन् ।
लगातारको वर्षाले सेरीपाखा गाउँको माथिबाट पहिरो खसेपछि गाउको सामुदायिक स्वास्थ्य इकाइमा व्यवस्थापन गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउदले बताए ।
‘मानविय क्षेति नहोस् भनेर जोखिममा परेका ९ परिवारलाई सामुदायिक स्वास्थ्य इकाइमा सारेका छौं । नेपाल प्रहरी, शसत्र प्रहरीले उहाहरुको घरभित्रको सामान बाहिर निकालि राख्नु भएको छ । गाइवस्तुलाई अन्त सार्न सकिएको छैन,’ उनले भने ,‘ गाउँपालिकाबाट त्रिपाल र खाद्यन्न उपलब्ध गराएका छौं । गाउकोमाथि ठूलो ढुंगा छ । ढुंगा माथि २ र तल ७ गरि ९ घर उच्च जोखिममा छन् ।’
९ घरका ४८ जनालाई नेपाल प्रहरी र शसत्र प्रहरीको टोलीले स्थान्तरण गरेको अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए । ‘तत्काल मानवीय क्षेतिबाट जोगाउनका लागि हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौं । निरन्तर वर्षा भइरहेको छ । मौसम सफा भएपछि मात्रै दिर्घकालिन समाधान बारे निकास आउँछ’ उनले भने, ‘सुरक्षा समितिको बैठक पनि मानवीय क्षेति हुन नदिनतर्फ केन्द्रीत भएको छ ।’
लगातारको वर्षाले जिल्लामा मानवीय क्षेती नभएपनि त्रास भने बढेको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उनका अनुसार मंगलसेन नगरपालिका– ८ सुतुडामा सडकमा पहिरो खस्दा वस्ती जोखि भएपछि अन्त सारिएको छ । कमलबजार नगरपालिका –६ मा एक घर पहिरोको उच्च जोखिममा परेको उनले बताए । उनका अनुसार कमलबजारमा रहेको शिवशक्ती आधारभूत विद्यालयमा आइतबार दिउँसो बाढी पस्दा भवन जोखिममा परेको छ भने पढाइ प्रभावित भएको छ । मंगलसेन नगरपालिकाको वडा नम्बर १३ , १४ र चौरपाटी गाउँपालिकाको २ मा घर भत्किएको उनले बताए ।
‘अहिलेको जिल्लाको ठूलो समस्या भनेको चौरपाटी ६ का ९ घर विस्थापित हुनु हो । अन्त पनि घरहरु जोखिममा छन् । तत्काल मानवीय क्षेती हुन नदिनेबारे हामी लागि रहेका छौं,' प्रमुख जिल्ला अधिकारी लम्सालले भने ।
साफे मार्तडी सडक खण्ड पटकपटक अवरुद्ध हुने गरे पनि तत्काल भने संचालनमा आएको उनले बताए । उनका अनुसार जिल्लाका ग्रामिण सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।
प्रकाशित : असार २३, २०८१ २०:३२