२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

चार दिनसम्म उठेन बालकको शव 

अर्जुन शाह

धनगढी — उपचारका क्रममा चार दिनअघि मृत्यु भएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राटको शव शुक्रबारसम्म पनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको शव गृहबाट उठाइएको छैन । 

गोदावरी–५ गेटास्थित डिलासैनी क्लिनिकमा मंगलबार उपचारका क्रममा बालक ऐरको मृत्यु भएको थियो । उनलाई ज्वरो आएपछि क्लिनिकमा तीन दिनदेखि निरन्तर उपचार भइरहेको र त्यस दिन क्लिनिकका सञ्चालक दिनेश धामीका भाइ नविन धामीले इन्जेक्सन लगाएका थिए । इन्जेक्सन लगाएलगत्तै बालक बेहोस भएका थिए । बेहोस अवस्थामै उनलाई तत्काल धनगढीस्थित मायामेट्रो अस्पताल ल्याइए पनि अस्पतालका चिकित्सकले बालकको मृत्यु भइसकेको बताएका थिए । बालकको मृत्यु इन्जेक्सनकै कारण वा अन्य केही कारणले भएको बारे खुल्न सकेको छैन ।

बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसँगै क्लिनिक सञ्चालक पक्राउ गरिसकेको छ । मृतकका परिवारले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए ।

प्रकाशित : मंसिर १, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?