कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

मेनुका ढुंगाना

अछाम — मंगलसेन नगपालिका ३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा उनका श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका छन् । उर्मिलाका माइती पक्षले बुधबार श्रीमान्‌को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी सन्तोष पाठकले बताए । 

श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘माइती पक्षले उनका श्रीमान् शेरबहादुर भण्डारीको नाममा किटानी जाहेरी दिएका छन् । उनका श्रीमान्‌ले मादक पदार्थ सेवन गरेको पनि देखिन्छ । अहिले हामी अनुसन्धानकै क्रममा छौं ।’ पोस्टमार्टम रिर्पोट आएपछि थप अनुसन्धान गर्न सहज हुने उनले बताए ।

मृतक उर्मिलाका भदा पुष्पकुमार विष्टले फूपु उर्मिलाको हत्या भएको दाबी गरे । यसअघि पनि पटकपटक मदिरा सेवन गरेर कुटपिट गर्ने र यातना दिने गरेको उनले बताए ।

‘यसअघि पनि धेरै पटक चरम यातना दिने गरेका थिए । पटकपटक हामीले अब त्यो घरमा नबस्नुस् माइतीमै बस्नुस्भन्दा पनि फूपुले मान्नु भएन,’ उनले भने,‘श्रीमानले जति यातना दिए पनि उहाँले एकदमै माया गर्नु हुन्थ्यो, अहिले त्यसैको बदलामा मृत्यु पाउनु भयो ।’

दोषीलाई उम्कन नदिनका लागि अनुसन्धान गर्ने निकाय र अन्य सरोकारवाला निकायलाई अनुरोध गरिरहेको उनले बताए । हत्या आरोपमा पक्राउ परेका शेरबहादुरले हालै नेपाल प्रहरीको जागिरबाट अवकाश पाएका थिए ।

प्रकाशित : कार्तिक ३०, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?