१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

शल्यक्रिया गर्दा बिरामीको मृत्यु, पैसा लिएर चुप लाग्न अस्पतालले दबाब दिएको दाबी

अर्जुन शाह

धनगढी — कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भएपछि आइतबार राति मृत्यु भएको छ । शल्यक्रिया गर्ने चिकित्सकले सुरुमा शल्यक्रिया सफल रहेको भनेपनि पछि अत्यधिक रक्तश्राव भएको जानकारी दिँदै मिर्गौला नै झिके पनि बिरामीको मृत्यु भएको परिवारले बताएका छन् ।

शल्यक्रिया गर्दा बिरामीको मृत्यु, पैसा लिएर चुप लाग्न अस्पतालले दबाब दिएको दाबी

चौधरीका भतिजा राजकुमार चौधरीले अस्पतालका अध्यक्ष महेश जोशीले बिरामीको मृत्यु भएपछि बोलाएर ‘बिरामीको मृत्युु भइसक्यो, कति पैसा चाहिन्छ लिनुस्, हल्ला नगरिदिनु होला, लैजानुस्,’ भनेको दाबी समेत गरे । यसबारे बुझ्दा अस्पतालका अध्यक्ष जोशीले बिरामीको मृत्यु भएको पुष्टि गर्दै आफन्तलाई जानकारी पनि गराइसकेको मात्रै प्रतिक्रिया दिए ।

धनगढीस्थित स्वस्तिक मल्टिस्पेसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलाको पत्थरी झिक्न शल्यक्रिया गरिएको थियो । बिरामीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे शल्यक्रिया सुरु गरिएको थियो ।

‘अप्रेसन सकिएपछि डाक्टरले सुरुमा अप्रेसन राम्रो भो भने । झिकेको पत्थरी पनि देखाए । हामी खुसी भयौं,’ उनले भने, ‘करिब एक घन्टापछि भेट्न गयौं । बुबाले पेट दुख्यो भन्नु भो, हामीले डाक्टरलाई भन्यौं, डाक्टरले सुई लगाए । तर निको भएन । पेट फुल्न थाल्यो । त्यसपछि हामी आत्तियौं ।’

राजकुमारका अनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अप्ठेरो भयो । ‘त्यसपछि फेरि डाक्टरलाई जानकारी गरायौं । अनि डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थाले । त्यसपछि बाध्यतावश हामीले किड्नी झिकेर निको हुने भए बरु किड्नी झिक्दिनुस्, हामी ज्यान रोज्छौं भन्यौं,’ चौधरीले भने, ‘राति २ बजे किड्नी पनि निकाले । ल ज्यान दिएँ भने ।’

तर फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरुले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले । बिरामीलाई आईसीयूमै राखिएको थियो । ‘हामी भेट्न गयौं । उहाँको त श्वास मात्रै बाँकी थियो,’ चौधरीले भने, ‘दिउँसो २ बजे त डाक्टरले अब बचाउन सकिँदैन भन्न थाले ।’ चौधरीका अनुसार त्यसैक्रममा आइतबार राति अस्पतालका अध्यक्ष महेश जोशीले उनीहरूलाई पैसाको प्रलोभन समेत देखाएका हुन् ।

घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका मृतक चौधरीको स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएपछि मात्रै शल्यक्रिया गर्ने कुरा भएको थियो । मृतक चौधरीका भतिजाका अनुसार अस्पतालले एक लाखमा पत्थरीको शल्यक्रिया गर्ने भन्ने कुरा भएको थियो ।

चिकित्सकको लापरबाहीका कारण आफ्नो बिरामीको मृत्यु भएको दाबी गर्दै चौधरी परिवारले मृतकको शव बुझ्न मानेको छैन । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित : भाद्र ११, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?