धनगढीको ‘एयरक्राफ्ट म्युजियम’ महेन्द्रनगरमा

डेढ करोड लगानीको म्युजियममा हेलिकोप्टरसँगै सिद्धबाबाको मूर्ति र स्विमिङ पुल
भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना भएको छ । डेढ करोडको लगानीमा उक्त म्युजियम स्थापना गरिएको हो । महेन्द्रनगर बजारसँगै जाडिएको भासीमा क्याप्टेन बेद उप्रेतीले म्युजियम स्थापना गरेका हुन् । नौ वर्षअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगन्ज सारिएको थियो । त्यही म्युजियमलाई महेन्द्रनगरमा स्थापना गरिएको हो ।

यस क्षेत्रको पर्यटकीय विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आकर्षित गर्न म्युजियम स्थापना गरिएको हो । ‘नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसलाई स्थापना गर्न खोजिएको हो,’ शनिबार म्युजियमको औपचारिक शुभारम्भ गर्दै क्याप्टेन उप्रेतीले भने, ‘हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि पनि यसले सहयोग पुर्‍याउनेछ ।’ कस्मिक एअरको पुरानो फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट बनाइएको हो ।

यसमा एकै पटक सय जनाले अवलोकन गर्न सक्छन् । अवलोकनकर्ताले विमानको ककपिट र उडानका विषयमा पनि जानकारी लिन सक्ने उप्रेतीले बताए । एयरक्राफ्टभित्र सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बिरसँगै म्युजियमबारे १० मिनेटको वृत्तचित्र पनि राखिएको क्याप्टेन उप्रेतीले बताए । उनका अनुसार म्युजियमभित्र अवलोकन गर्न आउनेका लागि रेस्टुरेन्टसमेत सञ्चालन गरिएको छ । क्याप्टेन बेद उप्रेती ट्रस्टले महेन्द्रनगरमै सञ्चालन गरेको महेन्द्रनगर म्युजियमसँगै एयरक्राफ्ट म्युजियम पनि सञ्चालनमा ल्याइएको हो । महेन्द्रनगर म्युजियममा हेलिकोप्टरसँगै सिद्धबाबाको मूर्ति र स्विमिङ पुलसमेत राखिएको छ । यसका साथै उल्टो म्युजियम पनि सञ्चालन गरिएको छ ।

महेन्द्रनगर म्युजियम डेढ वर्षअघि सुरु गरिएको हो । उल्टो म्युजियम भने यसै वर्षदेखि सुरु भएको हो । यहाँ स्थापना भएको म्युजियमले भारतीय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्याप्टेन उप्रेतीले बताए । ‘भारतको उत्तराखण्ड र उत्तर प्रदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ,’ उनले भने, ‘म्युजियम मात्रै नभएर यहाँका अन्य पर्यटकीय स्थलको विकासमा समेत यसले सहयोग पुग्नेछ ।’ धनगढीमा झन्डै १० वर्षअघि म्युजियम स्थापना हुँदा निकै आकर्षण थियो । अवलोकन गर्नेको भीडले उप्रेतीलाई महेन्द्रनगरमा हेली म्युजियम सञ्चालनका लागि हौस्यायो । महेन्द्रनगरमा आफ्नै जमिनको स्थायित्व भएकाले म्युजियम अब अन्यत्र नसारिने बताउँदै उनले दुई साताभित्रै भारतबाट दुईवटा ऊँटसमेत भित्र्याउन लागेको जानकारी दिए ।

प्रकाशित : चैत्र ६, २०७९ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्

रूख काट्ने निर्णय भयो, आदेश आएन

कान्तिपुर संवाददाता

कञ्चनपुर — महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडक खण्डको ट्र्याक खोल्न २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर हालसम्म सडकमा पर्ने रूख कटानीको आदेश नहुँदा ट्र्याक खुल्न सकेको छैन ।

ट्र्याक खोल्ने २ वर्षको समयावधि यसै आर्थिक वर्षमा सकिँदै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि डडेलधुराको सीमासम्म ११ किलोमिटरमा १५ सय ३२ रूख र ४ सय १९ पोल साइजका रूख पर्छन् । मन्त्रिपरिषद्ले फागुन १५ मा रूख र पोल साइजका गरी १ हजार ९ सय ५१ रूख कटानका लागि निर्णय गरेको छ । तर रूख कटानबापत वन विकास कोषमा रकम जम्मा नहुँदा कटानी आदेश प्राप्त हुन सकेको छैन ।

कञ्चनपुरमा मात्रै होइन डडेलधुरामा पनि २७ किलोमिटर सडक खण्डमा पर्ने रूख कटानका लागि मन्त्रिपरिषद्बाटै निर्णय भए पनि कटान आदेश भएको छैन । डडेलधुरामा १० हजार ४ सय ७६ रूख काटनुपर्ने भए पनि २५ सय मात्रै काटिएको छ । ‘सरकारले निर्णय त गर्‍यो तर वन विकास कोषमा रकम जम्मा नहुँदा कटान आदेश प्राप्त भएको छैन,’ महाकाली करिडोरका आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले भने, ‘कोषमा रकम जम्मा गर्नका लागि पत्राचार भएको छ ।’

महाकाली किनारका चार जिल्ला जोड्ने ४ सय २५ किलोमिटर सडक खण्डमध्ये २ सय १५ किलोमिटरमा मात्रै ट्र्याक खोलिएको छ । ‘रूख नभएको र कटान भएको ठाउँमा ट्र्याक खोलिएको छ,’ आयोजना प्रमुख जोशीले भने, ‘रूख भएको ठाउँमा ठेक्का अवधी सकिदा पनि कटान आदेश प्राप्त भएको छैन ।’

बैतडी र दार्चुलामा हालै कटान आदेश प्राप्त भएर रूख काट्ने काम सुरु भएको छ । जोशीका अनुसार बैतडीमा ४ हजार ५ सय ९६ र दार्चुलामा पनि २ हजार ४३ रूखको कटानी आदेश प्राप्त भएको छ । महाकाली करिडोरमा पर्ने रूख कटानबापत वन विकास कोषमा ५७ करोड रकम जम्मा गर्नुपर्ने छ । त्यसनिम्ति हालसम्म ३७ करोड मात्रै जम्मा भएको जोशीले बताए । बाँकी रकम जम्मा भएपछि मात्रै कटान आदेश प्राप्त हुने उनले बताए । ‘यसै वर्ष ट्र्याक खोल्ने काम सुरु गर्ने योजना थियो, तर कटान आदेश नआउँदा समस्या भयो,’ जोशीले भने, ‘कञ्चनपुर र डडेलधुरामा ठेक्कासमेत भइसकेको छ, तर रूखकै कारण काम अगाडि बढ्न सकेको छैन ।’

कञ्चनपुरदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न झन्डै डेढ दशकअघि सुरु भएको उक्त आयोजनाको काम ज्यादै सुस्त गतिमा भइरहेको छ । हालसम्म ट्र्याक खोल्ने कामसमेत सकिएको छैन । ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३ सय ३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ । तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

आयोजनाले ट्र्याक खुलेका केही ठाउँमा कालोपत्रका लागि पनि ठेक्का सुरु गरेको छ । डडेलधुरा र दार्चुलामा गरी ४ प्याकेजमा ३८ किलोमिटर कालोपत्रको ठेक्का भएको जोशीले बताए । उनका अनुसार डडेलधुराको परशुराम नगरपालिकाअन्तर्गत कुणादेखि सादनीसम्म ६ किलोमिटर तथा दार्चुलाको बेतदेखि उकुसम्म १२ किलोमिटर र खलंगादेखि उत्तरतिर १०/१० किलोमिटरका दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ । चार वटै प्याकेजको काम तीन वर्षभित्र सक्ने गरी असारमा ठेक्का सम्झौता भएको हो । तर कतिपय ठाउँमा रूख कटान नगरी ट्र्याक खोलिएका कारण तत्काल कालोपत्रको काम अगाडि बढाउन नसकिने देखिएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×