२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

खेती सकेर फेरि भारततिर

कैयौं नेपाली भारतबाट घर फर्कंदा ट्रेनमा, बसमा र भन्सार नाकासम्ममा समेत लुटिने गरेको भनाइ
मोहन बुडाऐर

धनगढी — डडेलधुरा परशुराम नगरपालिका–६ पानपातीका दलबहादुर धामी खेतीपातीको काम सकेर एक वर्षका लागि कर्मथलो मुम्बई फर्केका छन् । उनी हरेक वर्ष जेठको अन्तिमतिर आउँछन् । धान खेती लगाएर पुनः फर्कने गर्छन् ।

खेती सकेर फेरि भारततिर

मुम्बईमा काम गर्न लागेको उनलाई करिब १० वर्ष पुग्न थालेको छ । मुख्य धानीबालीका बेला घर फर्केर खेतीपातीमा पनि सहयोग पुगाएकै छन् । जसले उनले घरकै उत्पादनबाट खाद्यान्न अभाव हुन पनि दिएका छैनन् । छोराछोरीको पढाइ खर्च धान्न उनले भारतमा काम गर्नुपरिरहेको बताए । मुम्बईको गार्मेन्ट उद्योगमा काम गर्ने उनी वर्षमा ४० देखि ५० हजार भारु कमाउँछन् । उनको कमाइको लगभग पूरै रकम छोराछोरीको पढाइ खर्चमा जान्छ । उनका दुई छोरा कञ्चनपुर बहुमुखी क्याम्पसमा पढ्छन् । एक छोरी स्थानीय हाई स्कुलमा पढ्छिन् ।

कोराना महामारीको असरले उनको रोजगार क्षेत्रसमेत प्रभावित भएको बताए । ‘पहिलो कोरोना कालका ६ महिना उद्योग बन्द हुँदा बिदा लिएर घर बस्नुपर्‍यो’ उनले भने, ‘दोस्रो लहरको कोरोना कालमा पनि त्यतिकै महिना उद्योग बन्द भयो । बल्ल लयमा फर्किरहेको छ ।’ उनको उद्योगमा करिव एक सय नेपालीले काम गरिरहेका छन् । जसमध्ये उनकै गाँउका नौं जना छन् ।

नेपालीको मुख्य समस्या कमाएको पैसा घर पठाउनु रहेको उनको दस वर्षको अनुभव छ । ‘दुःख गरेर कमाएको पैसा जतनसँग घर पुगाउन मुस्किल हुन्छ’ उनले भने, ‘दिल्लीबाट घर फर्कदा गजरौला भन्ने ठाउँमा आफै दुई पटक लुटिए ।’ उनले कैयौं नेपाली भारतबाट घर फर्कदा ट्रेनमा, बसमा र अन्तिम भन्सार नाकासम्ममा समेत लुटिने गरेको बताए । भन्सारमा भारतीय सुरक्षाकर्मी र भन्सारकर्मीसँगै नेपाली सुरक्षाकर्मी र भन्सारकर्मी दुवैबाट समेत दुःख पाउने गरेको उनले गुनासो गरे ।

पछिल्लो समयमा अधिकांश नेपालीले भारतको बैंक र आईएमईमार्फत पैसा पठाउन सुरु गरेकोले ठूलो रकम लुटिन भने कम भएको दलबहादुरसँगै भारत जान लागेका हर्क धामीले बताए । हर्क धामीलाई पनि भारतको मुम्बई सहरमा काम गर्न थालेको १० बढी पुग्न थालेको छ । उनले १६ वर्षकै उमेरमा भारतमा काम गर्न घरबाट हिँडेको बताए । स्थानीय चुनावलाई मध्यनजर गरेर घर फर्केको बताउने हर्कले पनि खेतीपातीको काम सकेर पुनः काम गर्ने ठाउँ फर्कन लागेको बताए । ‘चुनावमा आफ्नै घरको मान्छे वडामा चुनाव लडेकाले घर आएको थिएँ,’ उनले भने, जित्न पनि वडा अध्यक्षमा जितेको छ । राम्रो काम गरिस् भनेर फर्केको छु ।’

डोटी नानाकेदारका सुशील आउजी पहिलोपल्ट भारत जान लागेको अवस्थामा गौरीफन्टा नाकामा भेटिए । उनले कैलाली बहुमुखी क्याम्पसबाट बीए गरेका छन । नेपालमै रोजगारीका लागि भौंतारिएका उनी अन्ततः गरिबीको कारण भारत पस्न बाध्य भएको बताए । ‘स्थानीय तहको निर्वाचनम पनि सहयोग गरेका मान्छेबाट रोजगारीका लागि भनेको थिएँ,’ सुशीलले भने, ‘हालसालै कुनै नोकरी दिन नसक्ने भनेपछि खाली घरमा के बस्ने भन्दै आफ्नै बुबा भएको सहरमा कामका लागि जाँदै छु ।’ उनका बुबा भारतको बैंग्लोरमा काम गर्दै आएका छन् । उनी आफ्नै काका सुर्ज आउजीसँग जाँदै छन् ।

उनका काका सुर्ज आउजी एमाले राजनीतिमा केही समय पहिला सक्रिय थिए । ‘गाउँघरमा नेताका झोला बोकेर बालबच्चा हुर्काउन, शिक्षादीक्षा दिन सकिने स्थिति भएन,’ उनले भने, ‘कामका लागि बैंग्लोरमा बसेको पाँच वर्ष पुग्न थालेको छ ।’ उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको एउटा अन्तर्वार्तामा उनले भारतमा चौकीदारी गरेको सुनेको बताए ।

‘मुख्यमन्त्रीको त्यो पहिलो अन्तर्वार्ता सुन्दा खुसी लागेको थियो,’ सुशीलले भने, ‘भारतमा काम गर्न जानेको पीडा बुझ्ने व्यक्ति कुनै ठूलो पदमा, नीति नियम बनाउने ठाउँमा पुग्यो भनेर । तर उनले पनि सोचेको कुरा गर्न सकेनन् ।’ उनले मुख्यमन्त्री भट्टबाट भारत जाने बाटो रोक्न नसके पनि आउँदा जाँदा नेपालीले सीमानाका र यात्रामा भोग्नुपर्ने पीडा अन्त्यका लागि पहल गर्नेछन् भन्ने आशा बोकेको बताए । उनलाई अहिले लाग्छ कामका लागि भारत जाने नेपालीको बाध्यता कसैले रोक्न सक्दैन । उनी दुई लालाबालासहित सपरिवार भारत पस्दै थिए । मंगलबार कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकाबाट ४ सय ६७ जना भारत पसे । भन्सार नाकामा ड्युटीमा रहेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक रामसिंह धामीले दिनहुँ पाँच बढीको संख्यामा भारतका विभिन्न सहरमा नेपाली काम गर्न जाने गरेको बताए । उनका अनुसार भारत पस्नेहरूमा लालाबालासहितको परिवार उल्लेखनीय छ । भारत पस्ने लर्कोको १० देखि १६ वर्षका बालक, घरमा कोही नभएका असहाय महिला पनि कामका लागि आफन्तसँगै भारत गइरहेका छन् ।

सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट यहाँको नाका भएर भारतको बैंग्लोर, मुम्बई, दिल्ली, गुजरात राज्यलगायतका भारतका ठूला सहर पस्नेहरू बढी छन् । सई धामीले साउनको १ गतेदेखि १७ गतेसम्म भारत जानेको ८ हजार ५ सय बढी पुगेको जानकारी दिए । खेतीपातीको काम सकेर उनीहरू भारतमा काम गर्न गएको उनको बुझाइ छ । जसमध्ये यसबेला भारत पस्नेहरूमा कोही तिहार र कोही नयाँ वर्षमा फर्किने छन् । उनले भारत जानेहरूको संख्या मात्रै नेपाल प्रहरीले राख्ने गरेको छ । आउनेहरूलाई भने नाकामा रहेको हेल्थ डेस्कमा जाँच गरेर मात्रै नेपाल पठाउने गरेको बताए । घर फर्कनेको संख्या अहिले डेढ–दुई सयको संख्यामा मात्रै रहेको बताए ।

प्रकाशित : श्रावण १८, २०७९ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?