कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

असार ९, २०७८

अर्जुन शाह

धनगढी — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । असंवैधानिक बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो ।

सभामुख अर्जुनबहादुर थापाले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले शुक्रबारसम्मका लागि बैठक स्थागित गरेका हुन् । सरकारद्वारा प्रस्तुत बजेटमा विनियोजित योजनाहरुमा कांग्रेस सांसदहरुको आपत्ति छ । 

आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षी दलमात्रै हैन सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले पनि पूर्वाधार विकासका योजनाहरुमा विचौलियाको चलखेल भएको आरोप लगाइरहेका छन् । 

आगामी आर्थिक वर्षको कूल बजेट ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको बजेटमा भौतिक पूर्वाधार विकासतर्फ ११ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार (५८ दशमलव २ प्रतिशत) र चालुतर्फ १० अर्ब ६६ करोड ९ लाख ३ हजार (३५ दशमलव १ चालु) विनियोजित छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully