१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मकै बेचेर चामल !

(डोटी) — गणेशकाँडा मगर समुदायको बाक्लो बस्ती भएको ठाउँ । केआईसिंह गाउँपालिका १ मा पर्ने गणेशकाँडा उच्च लेकाली भेक हो । सिँचाइको व्यवस्था नभएकाले यहाँ धान उत्पादन हुँदैन । मकैका लागि भने उर्वर मानिन्छ ।

गणेशकाँडामा रहेको रामेश्वर आधारभूत विद्यालयका शिक्षक भरत मगरका अनुसार एउटा परिवारले वार्षिक १० क्विन्टलभन्दा बढी मकै उत्पादन गर्छन् । तर भात खान बानी परेका स्थानीय सस्तोमा मकै बेचेर महँगोमा चामल किन्छन् । ‘प्रतिकिलो २०/२२ रुपैयाँमा मकै बिक्री हुन्छ,’ उनले भने, ‘५० रुपैयाँ किलोमा चामल किन्छौं । धेरैले मकै बेचेर चामल किनेर खान्छन् ।’


कोदो, फापर, आलु उत्पादन हुने भए पनि स्थानीयले लगाउँदैनन् । चामलले दिनेभन्दा बढी पोषिलो ती कृषिजन्य वस्तुमा पाइने भए पनि स्थानीयले भातै मन पराउने भएकाले चामल किनेर खाने गरेको किस्ने मगर बताउँछन् । ‘चामल प्रतिकिलो बजारबाट ल्याउँदा ५० भन्दा तल पाइन्न,’ उनले भने, ‘कहिलेकाँही मकै कोदो खाने गरे पनि धेरैले चामल किनेरै खाने गरेका छौं ।’


विगतमा अधिकांशले मकै, कोदो, फापर, जौं पकाएर जीवन गुजारा गरेको ६३ वर्षीया लीलादेवी मगर सम्झिन्छन् । ‘लेकमा उहिल्यैदेखि मकै, कोदो धेरै फल्ने हो,’ उनले भनिन्, ‘तर धान हुँदै नहुने । कहिलेकाँही चाडपर्वका बेला मात्र भात खान पाइन्थ्यो । नत्र कोदो मकै नै हो ।’ चाडपर्वका बेला पनि ठकुरी बाहुनहरूका खेतमा फल्ने धान किसानी मजदुरी गरि काम गरिदिएपछि मात्र चामल पाइने अवस्था रहेको उनी बताउँछिन् ।


२०४० पछि जन्मेका युवा पिँढीहरू मकै, कोदोलाई खाना नै मान्दैनन् । स्वाद नरुचाउने भन्दा पनि सामाजिक रुपमा अपहेलना महसुस गर्ने भएकाले धेरैले भात खाने गरेको स्थानीय शिक्षक ईश्वर ओझा बताउँछन् । डोटीमा गणेशकाँडाको मकै अत्यन्त स्वादिलो र पोषिलो मानिने गरिन्छ । मंसिरसम्म यहाँ हरियो मकै पोलेर खान पाइन्छ । घरका आँगन अगाडी पहेंला मकैहरू झुन्ड्याइएका भेटिन्छ । आर्थिक तथा सामाजिक रुपले पछाडी परेका मगर समुदायको संस्कृति र परम्परा जोगाउन केआईसिंह गाउँपालिकाले योजना बनाइरहेको वडाध्यक्ष कृष्ण बमले बताए । ‘उहाँहरूको खानपान र रहनसहन अझै पनि परम्परागत छ । खानपानका ब्यवहार सुधारेर पर्यटन क्षेत्र बनाउने योजनामा छौं,’ उनले भने, ‘चामल होइन मकै, कोदो र ढिँडो नै पाउने गाउँका रुपमा विकसित गर्दैछौं ।’


फाइबर, आइरन, फस्फोरस जस्ता प्रोटिनको मात्रा धेरै हुनुका साथै मकै पाचनका लागि राम्रो हुने भएकाले लेकाली क्षेत्रमा स्वास्थ्यका लागि चामल भन्दा मकै उपयुक्त हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी बताउँछन् । उनले भने, ‘चामल खाएर बिग्रने त होइन तर बजारको चामलभन्दा स्थानीय अन्न खानु राम्रो हो ।’


प्रकाशित : मंसिर ९, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?