जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध : प्रहरीद्वारा २८ कार्टुन काचो स्याउ बरामद

हरेक स्थानीय तहले प्रहरी चौकीमा काँचो स्याउ निर्यात भएमा बरामद गर्नु, चेकजाँचमा कडाइ गर्नु भनेर प्रहरीलाई पत्र पठाएका छन्। त्यही अनुसार प्रहरीले पनि काँचो स्याउको कारोबारमा कडाइ गरेको छ ।

श्रावण २७, २०८२

डीबी बुढा

Ban on picking raw apples in Jumla: Police seized 28 cartons of raw apples

What you should know

जुम्ला — जुम्लाको पातारासी गाउँपालिका-६ उर्थुचौतारामा प्रहरीले जिल्लाबाहिर निर्यात हुन लागेको काचो स्याउ बरामद गरेको छ। २८ कार्टुनमा प्याक गरिएको काँचो स्याउ बरामद गरेर पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।

प्रहरीले आइतबार राति काँचो स्याउ बरामद गरेर सोमबार पालिकालाई बुझाएको हो। उर्थु प्रहरी चौकीले लुकिछिपी संकलन गरेर निर्यात गर्न लागेको अवस्थामा प्रहरीले स्याउ बरामद गरेको हो। त्यो स्याउ पातारासी-४ भोटगाउँका मक्कबहादुर रोकायाको बगैंचा देखि टिपिएको थियो । ब्यापारी हरिसप्रसाद देवकोटाले स्याउ खरिद गरेका थिए।

असारमा पाक्ने स्याउ भन्दै निर्यात हुन लागेको स्याउ प्रहरीले जाँच गर्दा काँचो भेटिएको थियो । प्रहरीले काँचो स्याउ बरामद गरेर पालिकालाई बुझाउने गरेको छ। हरेक स्थानीय तहले प्रहरी चौकीमा काँचो स्याउ निर्यात भएमा बरामद गर्नु, चेकजाँचमा कडाइ गर्नु भनेर प्रहरीलाई पत्र पठाएका छन्। त्यही अनुसार प्रहरीले पनि काँचो स्याउ रोक्न कडाइ गरेको छ । पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन शाहीले तीन क्विन्टल स्याउ प्रहरीले पालिकामा बुझाएको बताए ।

'लुकिछिपी स्याउ टिपेर जिल्लाबाहिर लैजाने अवस्थामा स्याउ बरामद भएको रहेछ,' प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘स्याउ काँचो देखेपनि प्रहरीले पालिकामा बुझाएको हो ।’ प्रहरीका अनुसार गोल्डेन र रेड जातको स्याउ बरामद गरिएको थियो । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले नै भदौ १५ गते सम्म स्याउ टिप्न नपाइने निर्णय गरेको छ ।

बरामद गरेको स्याउ कानुनी प्रक्रिया पुर्‍याएर राखिने उनको प्रतिक्रिया छ । किसान र ब्यापारीले स्याउ टिपिरहेको देखिएको छ । तर स्याउको पहिचान खस्कने भन्दै स्थानीय सरकारले भदौ १५ गते भन्दा अगावै स्याउ नटिप्न सुचना जारी गरेका छन्। 

जुम्लाका एक नगरपालिका र सात गाउँपालिका सबैले काँचो स्याउ नटिप्न सुचना जारी गरेका छन् । तर सुर्खेत, नेपालगन्ज लगायतका सहरमा जुम्लाको काँचो स्याउ पुगिसकेको छ । किसानहरु राम्रो मुल्य नपाइने भन्दै स्याउ लिन खोजिरहेका छन् । राज्य स्याउको पहिचान गुम्ने भन्दै रोकिरहेको छ ।

अत्यधिक वर्षा भइरहेकोले सडक लामो समय रोकिन सक्ने भन्दै तिज अगावै स्याउ मुख्यसहर सम्म पुर्‍याउनुपर्ने ब्यापारीको भनाइ छ । अहिले हरेक पालिकामा रहेका र जुम्ला कालिकोट सिमानामा रहेको प्रहरीचौकीमा कडा चेकजाँच गर्न भनिएको छ । 

हाल जुम्लाको ४ हजार २५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भईरहेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले प्रहरीले बरामद गरेको स्याउ काँचो भएको जनाएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीले किसान र ब्यापारीको मिलोमत्तोमा असार पाक्ने स्याउको नाममा काचो स्याउ लैजान लागेको पुष्टि भएको बताए । 

प्रहरीले बरामद गरेको स्याउको अनुगमन गर्न कार्यालय प्रमुख अधिकारी नेतृत्वको टोली पातारासी नै पुगेको थियो । '‘डिप्याक्टो’ मिटर मार्फत् स्याउमा गुलकोजको मात्रा जाँच गरियो,' प्रमुख अधिकारीले भने, ‘स्याउ काँचो नै भेटियो ।’ 

स्याउमा न्युनतम १० प्रतिशत गुलियोपना भरिएपछि बजारमा लैजान मिल्छ । तर बरामद गरिएको स्याउको गुलियोपना ९ प्रतिशत मात्रै भेटियो,' प्रमुख अधिकारीले भने, ‘बजारमा पठाउन उपयुक्त नदेखिएपछि एकहप्ता सम्म कोठामै राख्न भनिएको छ । पुन : जाँच गरेर मात्रै बजारमा पठाउने सहमती बनेको छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully