जुम्ला — जुम्लाको लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण लेकाली क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । बेसी क्षेत्रमा भने वर्षा भइरहेको छ ।
बिहीबार बिहानैदेखि बादल लागेका कारण अत्यधिक चिसो बढेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । उनीहरू घरबाहिर निस्कन नसकेर घरभित्रै आगो बालेर बसिरहेका छन् ।
लेकाली क्षेत्रमा गाईबस्तुलाई दानापानी दिएर गोठमै राख्नुपरेको छ । जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा, गुठिचौर, तिला र पातारासी गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताए । चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
वर्षा र हिमपात जुम्लामा यस वर्ष पहिलोपटक परेको हो । यसअघि पटक–पटक बादल लाग्ने गरे पनि हिउँ पर्न सकेको थिएन । चिसोमात्रै बढेको थियो । स्थानीय मानबहादुर बुढाले सामान्य हिमपात र वर्षाले कृषि क्षेत्रमा आशा पलाएको बताए ।
‘खडेरीले बालीनाली सोत्तर भइसकेको थियो । अब सुक्न बाँकी रहेको बाली सप्रिन्छ कि भन्ने आशा पलाएको छ,’ उनले भने । किसानले हिउँदेबालीका रूपमा जौ र गहुँ छर्ने चलन छ । पहिले मंसिरमा हिउँ पर्दा खेतीबारी यो बेलासम्म हरियाली भइसक्थ्यो । तर यो वर्ष पहिलो वर्षा र हिउँ परिरहेको छ ।
यो समय स्याउका बगैंचा व्यवस्थापन गर्ने भएकाले वर्षा र हिउँले निकै राहत मिल्ने किसानहरूले बताएका छन् । स्याउ किसान रतन रावतले भर्खर काँटछाँट गरिएका स्याउका बिरुवामा पालुवा पलाउँछ कि भन्ने भरोसा जागेको बताए ।
हरेक स्थानीय तहले स्याउको व्यवस्थापनका लागि गाउँगाउँमा कृषि प्राविधिकहरू पठाइरहेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँ र वर्षा भएर चिसो बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
