जुम्ला — हिमा गाउँपालिका–१ का जनप्रतिनिधि बालविवाह रोक्न एकजुट भएका छन् । उनीहरूले उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने निर्णय गरेका हुन् । बालविवाह भए/देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्धका गतिविधिमा जनप्रतिनिधि नै जुट्ने निर्णय भएको वडाध्यक्ष रतन शाहीले बताए ।
‘बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ, यसको अन्त्यका लागि जनप्रतिनिधि नै अग्रसर हुनुपर्ने भएकोले विभिन्न विकल्पको खोजी गरिरहेका छौं,’ उनले भने, ‘अहिले विभिन्न टोलहरूमा जनप्रतिनिधिकै संलग्नतामा बालविवाहविरुद्धका सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं ।’ उनले उमेर पुगेर विवाह गर्ने जोडीलाई वडाले स्थानीय कोसेली दिने निर्णयसमेत गरेको बताए ।
वडा कार्यालयका अनुसार उमेर पुगेर विवाह गर्ने जोडीलाई वडाले राडीपाखी र स्थानीय अन्नसहितको कोसेली दिन थालेको छ । चालु आर्थिक वर्षभित्र ३ वटा बालविवाह रोकिएको वडा कार्यालयले जनाएको छ । दयारगाउँ, आचार्यलिही र मोफ्लागाउँमा बालविवाह रोकिएको छ । अहिले विवाह हुन लागेको जानकारी पाउनेवित्तिकै जनप्रतिनिधिहरूले विवाह हुने स्थलमा गएर केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ–आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।
जनप्रतिनिधिहरूले घरदैलो कार्यक्रम गरी बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको वडाध्यक्ष शाहीले बताए । ‘गाउँ समाजमा विवाह गर्यो भने जन्ती जाने र भोजमा अनिवार्य सहभागी हुने चलन हुन्छ, जनप्रतिनिधिले भोलिको राजनीति हेरेर पनि विवाहमा सहभागी हुने गरेका छन्,’ उनले भने, ‘अब उमेर पुगेकाको विवाहमा मात्र हामीहरू जाने व्यवस्था गरेका छौं ।’
बालविवाह रोक्न वडाले ३ मिनेटको जनचेतनामूलक गीत पनि निकालेको छ । त्यो गीत हरेक शुक्रबार विद्यालयको लाइनमै सुनाइन्छ । बालविवाह रोक्न अभिभावकहरूसँग पनि नियमित छलफल भइरहेको उनले बताए । ‘बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,’ उनले भने, ‘त्यसैले अभिभावक, बालबालिका र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न पहल थालेका हौं ।’ बालविवाह रोक्न हिमचुली बहुउद्देश्यीय सरकारीलाई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनको जिम्मा दिइएको उनले बताए ।
